Thursday, June 9, 2016

डक्टर श्रीकृष्ण


यो एउटा गाथा हो:
एउटा केटो थियो छिमेकमा,
सँधै टोलाईबस्थ्यो रे...
न कहिले हाँस्थ्यो रे, न खासै केही भन्थ्यो रे
बरु बेला-बेलामा भक्कानो छाडेर भने रुन्थ्यो रे।
एकदिन बारीमा गई तिखो काँडा लिई,
छातीमा घोपी चिच्यायो रे:
" एकदिन यो सारा दुखाईलाई रगतसँगै बगाएर फ्याँकिदिन्छु"
बा-आमाले उसको कुरा सुनि ,
मुख बिगार्दै भने रे,
"थुक्क साला! कमजोर कमजोर कमजोर कमजोर"
उसले भने शिर ठाडो राख्दै जवाफ दियो रे,
" कमजोर हैन...बिमार बिमार बिमार बिमार"

होस्टेल, ज्योतिष, पूजा, उदाहरण,
सबै विधि अप्नाएपनि,
उसको खाट कपडा सँधै भिजेकै नै पाउँथे रे।

एक पानी र चट्याङले संसार भिजेको रात,
कुन जन्मको पाप भोगिरा'छौँ भनि
टाउकोमा हात राखि बा-आमा गनगन गरिरहँदा,
अचानक ढोकामा ढकढक आवाज सुनाइ दियो रे...
को होस् तँ चोर डाँका!
भनी विस्तारै ढोकाबाट बा' ले सोध्दा,
उताबाट जवाफ आयो रे,
" मलाई एकैछिन बस्न दिनु न... धेरै गाह्राे परिसक्यो"
गाली गरि हुँदैन भन्दा पनि त्यो मान्छे जान नमाने पछि,
बा' चैँ ले पुलिसलाई खबर गर्छु भनी धम्की दिए रे
जसपछि,
"म जथाभावी मान्छे होइन...डक्टर हुँ... एउटा बिरामी छ"
भने पछि बल्ल फेरि पाप लाग्ला भनि डराएर,
ढोका खोल्न हात तेर्साए रे!

दिव्य ज्योति अनुहारमा झल्केको,
कालो लुगा लगाएको...
सो डक्टर... एउटा निदाएको सानो बच्चा सहित
धन्यवाद भन्दै भित्र पस्यो रे!
र बच्चालाई सोफामा सुताई,
अनेक औषधि आफ्नो ब्यागबाट निकाल्यो रे!
के को हल्लाखल्ला भनेर,
केटो पनि आफ्नो कोठाबाट बाहिर निस्कि टोलायो रे,
डक्टर र केटाको आँखा जुद्दा,
कहिले न-चम्केको झैँ उज्यालो बिजुली
र कानै थुन्नु पर्ने गरि चट्याङ सुनाइ दियो रे!
एउटा सुई बच्चालाई लगाइदिदैँ...
बिस्तारै डक्टरले बा-आमालाई सोध्यो रे,
"तपाईंको छोरालाई कता उपचार गर्दै हुनुन्छ खै?"
एकअर्काको अनुहारमा ट्वाल्ल परेर हेरि,
बा-आमाले एकैचोटि भने रे,
"उपचार? हाम्रो छोरा रोगी हो र? तपाईंले कुन आधारमा भन्नु भयो है!"
बच्वाको निधारमा हात राखि,
हाँस्दै डक्टरले अनि भन्यो रे,
" लौ...हामी सबै रोगी हैनौँ र?
मान्छे भनेकै रोग हैन र?
हाम्रा सारा भावना र सोच रोग हैनन् र?
यो संसारनै हाम्रो अस्पताल हैन र?
मान्छे भनेकै रोग ठम्याइ औषधि बनाउने प्राणी हैन र?"

लौ कवि बन्न नखोज्नु डक्टर...सिधा भाषामा कुरा गर्नु
भनी बा' ले हप्काए 'छि,
डक्टरले एउटा चुरोट बाल्दै सब कुरा अर्थाए यिः
जुन कुराले शरीरलाई अप्ठेरो पार्छ, त्यै कुरा नै रोग हो
छाती भित्र महसुस हुने त्यो भावना 'नि त शरीरकै न भाग हो
तपाईं पनि रोगी, म पनि रोगी, यो बालक पनि रोगी, तपाईंको छोरा पनि रोगी
योगी पनि रोगी, राजा पनि रोगी, मुर्ख पनि रोगी, मजदुर पनि रोगी
कसैको लागि योग, त कसैको लागि शक्ति
त कसैको लागि भोग, त कसैको लागि जाँडरक्सी
यि सब न हुन आ-आफ्नो लागि औषधि
गर्छन सबै सबथोक रोग हटाउन, स्वस्थ्य बनि हिँड्न सक्न।
तपाईं हामी पर्यौँ भाग्यमानी, ठम्यायौँ हाम्रो सरल रोग चलाउछौँ त्यै अनुसारको औषधि कदम
तपाईंको छोरा पर्यो विचरो..आफैँले बुझेन आफ्नो रोग जटिल।
उपचारको पहिलो कदम भनेकै रोग ठम्याइमा छ,
रोग ठम्याएपछि आधा दुखाइ त यसै कम भई नै हाल्छ।
तपाईंको छोराको रोग छ जटिल, म जाबोले के ठम्याउँ र!
ऊ आफैँले ठम्याउने छ, तर तपाईंले एउटा काम गर्दिनु पर्छ..

के गरौँ त डक्टर...म जे पनि गर्छु आज र यहीं
यदि त्यसले पार्ने छ मेरो छोरालाई पूरै निरोगी।

हाहा...निरोगी त मृत्यु पछि मात्र भइन्छ
ऐले त शरीर रहुन्जेललाई कामचलाउ औषधि मात्र बनाइन्छ
तपाईंको छोरालाई औषधि हैन, रोग पत्ता लगाउनु पर्या छ
त्यसको निम्ति तपाईंले उसलाई एउटा बाँसुरी किनेर ल्याइदिनु पर्छ
त्यसपछि आफ्नो मात्र हैन, साराको रोग उसले ठम्याउने छ,
र आफ्नो सुन्दर धुनले सारा रोगीलाई उसले हँसाउने छ,
त्यसपछि बाधामा अल्झने हैन आफ्नै राधा लठ्याउने छ,
दुखाइमा छटपटेर लङ्गडेर हिँड्ने सारालाई अनि उसले सुन्दर नृत्य नचाउने छ।
डक्टर यति भनी अचानक बच्चा सहित गायब भए रे,
ट्वाल्ल परेका बा-आमा,
सबै कुरा सुनिरहेको छोराको आँखामा आँसु र दैविक मुस्कन देखी धेरै बेर छोरालाई अंगालो हालि घ्वाँ-घ्वाँ रोए रे।

यसरी,
एउटा गाथा थियो यो भएको केटो छिमेकको बारेमा,
आफ्नो र अरुको रोग ठम्याइ,
अया भन्दै नबस...
दुख्यो भन्दैमा जथाभावी नगर...
दुखाइमा हैन रोगमा ध्यान देऊ भनी
सही उपचार गर्दै, सिकाउँदै..बाँचेको
आजको कृष्णको पहिचानको बारेमा।।

No comments:

Post a Comment