Friday, June 24, 2016

एक्लोपना


नदीलाई वरदान
जलाशयलाई अभिशाप।
सर्वोच्चको गरिमा
ऐनाको शोक गाना।
बाघको सार,
अहिरोलाई जीउको भान।
हावा चले बल्ल स्थितीने बलवान।

जब चरा जति निदाउछन्
निशा निर्मित बर्बराउछन्
बलेको अन्तिम दियो झ्वाट्ट निभ्छ
एउटा यात्रुको पाउ चिप्लिन्छ।
गई ठोकिन्छ एउटा खाँबोमा
पलमा जमेको शिर ।
त्यै बखत बिजुली चम्कन्छ
मुसलधारे पानी पर्छ...
यात्रु पाउ चाल्न खोज्छ
भाउन्नले जमीनमा पछार्छ।
घस्रन खोज्छ,
खाँबो ऊ माथी ढल्छ
उसको यात्रामा एक अर्को लबटा।
जीउ सुन्नियो, टाउको घुम्यो, सायद करङ भाँचियो!
तर स्वर बाँकी छ...
सर्वप्रथम ऊ मदत माग्न चिच्याँउछ,
लामखुट्टेको भुनभुन निम्त्याँउछ
घाउमा नून...
यात्रामा एक अर्को बिघ्न!
त्यसपछि वरपरका आवासका झ्यालहरुमा बत्तीको उज्यालो देखाइ पर्छन्
ऊ उत्तेजित हुन्छ
झ्यालहरुबाट सबै पालैपालो च्याँउछन्,
जति छिटो पर्दा खोलेथे, त्यति नै छिटो लगाँउछन्
कुनै पनि ढोकाको च्यार्र सुनाइ दिदैन।
त्यसपछि ऊ कराउँछ:
पापीहरु, निर्दयीहरु, स्वार्थीहरु!
तब लामखुट्टे पनि उडेर कतै जान्छ।
त्यहि बेला,
केही हात पर एउटा जादुयी कुप्पी देख्छ,
बालक छँदा अरबी गाथाका चित्रमा देखे झैँ।
त्यहाँ दीपक छ,
हो...यो त्यही ह...
संसारमा जादु छ...
धेरै हात पर त छैन त्यो,
तर ऊ हात त के नङ पनि सर्न सक्दैन।
पुनः एकपल्ट चिच्याँउछ:
ए निर्दयी, लोभी हो,
मलाई तिमीहरुले उपचार गर्नु पर्दैन,
बस् लात हानेर भए पनि त्यहाँ सम्म पुर्याइद्या' ओ...
फेरि लामखुट्टे उडेर आउँछ।
सडकको ओरालो भागमा ऊ तेर्सिएको हुनाले,
बगेर आएको पानीले उल्टै बगाउन थाल्छ
ऊ एकैछिन मजाले हाँस्छ:
म एक्लो भएँ,
न साथ छ, न हात छ, न मात छ, न काँध छ!
तब एउटा उर्जाले उसको शरीर भरिन्छ,
चिच्याउन थाल्छ:
म नदी झैँ कलकल बगौँ
बाघ सरी लम्कि पेट भरुँ
सर्वोच्च भई जीवन बिताउँ
सर्वोच्चसँग हात मिलाउँ।
भए छु म धेरै नै आहार
तिमीहरुका धाराका आधार
तिमीहरुका बजार बीच उभ्भेका ऐनाका सिकार।
यति भने पछि जुरुक्क उठ्छ र कुद्छ:
भएँ म आज बलवान्
यो एक्लोपना मेरो निम्ति वरदान
तिमीहरुका अल्झाउने डोरीबाट अब मुक्त, पक्का
अब एउटा साहसको वक्ता।
उठाउँछु यो जादुयी अरबी भाँडो
म माग्छु, मेरो एउटै छ चाहना
एक्लो नै भई बाँच्न पाँउ
नचाहियोस् कोही
जीवन मेरो अब तिमीहरु प्रतिको घृणा॥
पुग्छ त्यो अरबी कुप्पी सम्म,
उठाँउछ हातमा र रगड्न उत्साहित हुन्छ।
ठ्याक्क त्यहि क्षणमा,
वरपरका सब बत्ती बल्छन, पर्दा खुल्छन्
झिलमिलले उसलाई बेहुली झैँ सजाउछन्
ऊ छक्क परिरहन्छ,
सबतिर हल्लाखल्ला, ताली सुनाई दिन्छ
लौ!
आफूलाई एउटा मञ्चमा, हजारौं दर्शक माझ
घेरिएर तारिफ बटुलिरहेको पो पाउँछ!

No comments:

Post a Comment