Friday, June 17, 2016

हिमाली काखको मौसम


चिसो बतास चल्छ...अत्याधिक।
हात जम्छ, खुट्टा चल्दैन...
ओठ सिलिन्छ,
आखाँ खुलाको खुलै रहन्छ।
बतास चलिरहन्छ,
भाग्न सकिदैन, छल्न सकिदैन
चिच्याउन सकिदैन
व्यक्त गर्न सकिदैन
अर्थाउन सकिदैन
रुन सकिँदैन...
सबै कुरा ठप्प
बस् बतास...बतास...चिसो बतास।
रगड्न भनेर हात जोड्न खोजिन्छ,
नजिक आउन मान्दैनन्
जसोतसो सँगै लगेर जोड्यो,
महसुस केही हुँदैन।
भाग्न भनेर खुट्टा उठाउन खोजिन्छ,
केही त उठिरा'छ, तर त्यो आफ्नै पाउ हैन...
जसोतसो पाइला चाल्न खोज्यो,
उल्टै घुँडा टेकाइन्छ।
चिच्याउन भनेर आँ गर्न खोज्यो,
मुखबाट रगत चुहिन्छ...
रगत चुहिन्छ, तर आँसु झर्दैन
ए... आँसु झरे पनि त हुन्थ्यो!
न्यानो कुरा केही त हुन्थ्यो!
तर अहँ...आँसु झर्दैन
उल्टै आँखा ठ्याप्प बन्द हुन्छ।
अन्त्यमा एउटा मुटु धड्किरहन्छ,
घडीको सुई झैँ चलिरहन्छ...
'बन्द भइहाल्छ नि कुनै दिन', भनेर आश्वासन दिन सक्ने
मस्तिष्क पनि चल्दैन
तर बतास चलिरहन्छ...सदैव...चलिनैरहन्छ।

No comments:

Post a Comment