Friday, June 3, 2016

गहिरो खाल्डो


तँपाई मध्यरातमा ब्यूँझिनुहुन्छ,
र महसुस गर्नु हुन्छः त्यो एक्लोपना...
कोई त होला!
अँ...त्यै एउटा त छे, जे भएपनि
र फोन थिच्नुहुन्छ....उठ्दैन!
र तर्कना गर्न थाल्नु हुन्छः अनेकौँ
शंका गर्न थाल्नु हुन्छ...
ऊ अरुसँग सुतेको, हाँसेको, टाँस्सेको ईत्यादि।
र आफुलाई त्यो खाल्डोमा खसाउनुहुन्छ।
तर जसो तसो चित्त बुझाई निन्द्र पारि भोली पल्ट उठ्नुहुन्छ...
र नयाँ जन्म भनी, केई गर्छु भनि तात्तिनुहुन्छ..र बाहिर निस्किनुहुन्छ ..
काठमाण्डौँ शहरको पहिलो मान्छे देख्ने बित्तिकै,
तँपाईका सबै राप सेलाएर जान्छनः
त्यै बासी मानसिकता, त्यै खोक्रा चाहना
त्यै कमजोर हेराई, त्यै भाँच्या हिँडाई
त्यै दुर्गन्ध, त्यै बकवास, त्यै मै-हुँ-वाद
त्यै उपबुज्रुकता, त्यै अज्ञानता, त्यै सान,स्वाङ, आत्मामा रहेका भ्वाङ
यो शहरले तँपाईका सारा ज्वाला निभाईदिन्छ,
यहाँका मान्छेले तँपाईका सारा सपनालाई उडाईदिन्छन्...
र तँपाईलाई सपना देख्न सक्ने मानवभन्दा,
दिसा जम्मा गर्ने पशु भई फुर्ती लाउन मा मजा छ भन्छन्।
र तँपाइ फेरी त्यै खाल्डोमा खस्नुहुन्छ।
खाल्डोमा खस्दा-खस्दा कायल भईसक्नु भएको तँपाई,
एकदिन त्यसरी नै मध्यरातमा ब्यूँझिनुहुन्छ…
र यसो विचार गर्नु हुन्छः
साला! म त खाल्डोमै हुर्केको मान्छे...
र हाँस्नु हुन्छ एकैछिन...मजाले....
जुन खाल्डोको त्रास राखि कर्म गर्छन् वरपरका जन्तु सबै...
म त त्यै खाल्डोमा हुर्केको मान्छे..
त्यै पनि हाँस्न सकेको मान्छे....
र झनै जोडसँग हाँस्नु हुन्छ...
सबै कुरा माथी हाँस्नु हुन्छ...
र खाल्डोलाई स्विकार्नु हुन्छ...
र भन्नु हुन्छः
“लौ त...तिमरु हवाई मार्ग बनाओ...म सुरुङ बनाउँछु”
र सुसेल्दै सुरुङ खन्न थाल्नु हुन्छ...
तँपाईलाई था’छः
जसले सुसेल्न सक्यो...उसले असली मानत्व हासिल गर्यो

No comments:

Post a Comment