Thursday, June 23, 2016

डोरी


असार महिनामा पानी नपर्दाको क्षण,
न्यानो बिहानी घाम, दुई परदेशी चिया पिउदैः
काठमाडौं, यी सडकहरुका के अन्जाम!
इतिहासले के बताउँछ यो अलकापुरी को?
कुनै डोरी भेटाउनै सकिँदैन खै
यहाँ देखि त्यहाँ जोडिने पो!
तर,
इन्धन जति त उतैबाट आएका हुन्
कहाँ गएछन् त डोरी जति?
डाँडा छिनाइएर सडक बनेछन् त है,
के पाइयोस् त डोरी जोडिने।
ए सडक पो!
अब थाहा हुन्छ इतिहासले के बताउँछ,
ल हेर्नू त त्यो चर्तीकला...हो त्यो!
सडक हुँदै आएकाले इन्धनको टैंकीमा पसेछन्,
मुसा, झिंगा, फटयांग्रा के-के-के-के
त्यै पिएकाले यिनी यस्ता कस्ता-कस्ता हे-हे-हे-हे!
भनेपछि यिनी मिसावट हुन्?
हुन्, थिए, हुनेछन्
जथाभावी संक्रमणका मिश्रण, नतिजा।
डोरी देखाउनु भन्दा पहिले नै चुँडाइदिएछन्,
कहाँ बाट सुँघ्नु त त्यसरी,
सडकले लैजान्छ अब कता-कता
सुर्काउनी मा अल्झाउँछ...व्यथै व्यथा।
भनेपछि पहिले वास्ना आँउथ्यो रे यो शहर?
हेर्नू गन्ध को जिम्मा गनाउने ले लिनु पर्छ!
त्यो सब आफ्नो चाहनामा निर्भर गर्छ
पशु गनाउछन् तर तिनको गन्धले घिन जन्माँउदैन।
कसरी सान्दर्भिक कुरा भयो त यो खै?
खै...खै..यो कुरा कसैलाई भन्नू मन थियो, जोड्दि हाले यैँ!
तर ठिकै छ नि अब...
सडक बने, मल बने, महल भत्के, मल बगिनैरहे
मान्छे बास्ना आइरहेका छन्, चिल्लाचिप्ला पांग्रा भित्र्याउदै छन्
एक दिन फररर यहाँ हरिया पात उड्नेछन्
त्यसपछि त केको डोरी-सोरी...
सब तर्साउने भूत मात्र न हुनेछन् !
ए बाबू...
खुकुरीलाई बुझ्दै नबुझेकोको अगाडि
धारिलो खुकुरी राख्दे के होला विचार गरि हेर त अहिल्यै!
खुकुरीको कुरा कहाँबाट आयो फेरि?
हो ...त्यै खुकुरी कहाँबाट आयो यहाँ? यही
के यहाँ गहिरा तालहरु छैनन्?
छन् नि तर के गर्नु,
एकअर्कालाई बाटोमा जमेको हिलो छ्याप्न मै रमाउछन् यहाँका यिनीहरु।

दुईमध्येको एउटा परदेशी डाँडातिर हेर्दै टोलाँउदै:
ओहो! यो ठाउँ त स्वर्ग हुनु पर्ने,
बलिया मान्छे , भित्रबाट बाहिरबाट
गहिरा मान्छे, मनबाट दिमागबाट
हँसिला मान्छे, खुसीला मान्छे, फुर्तिला मान्छे, बलिया,गहिरा मान्छे।
छन् त यहाँ त्यस्ता। छैनन् र?
हा...हा
डोरीबाट इन्धन आएको भए हुनेथिए होला
संक्रमण अब फैलिसक्यो,
अब बेग्लै, नयाँ अचम्मको केही गर्नु पर्ला
काँचुली मात्रै हैन, सारा शरीरनै फेर्नु पर्ला।
त्यति नगरेसम्म:
यहाँ अहँ...धुन बज्दैन
धुन नबजेसम्म, धुन सुनाइदिदैँन
धुन सुनाइनदिए सम्म, सुनिदैन
न सुन्नेसम्म, महसुस गरिदैन,
महसुस नगरेसम्म...त्यो बल्दैन
त्यो नबलेसम्म, स्वर्ग बन्दैन
स्वर्ग नबनेसम्म, गन्ध हट्दैन
गन्ध नहटे सम्म हामी जस्तालाई आउन कसैले छेक्दैन
हामी जस्ता आइरहेसम्म, अब...
डोरी कहिले भेटिदैन...सत्य!
यस्तो विधि सम्भव होला त?
खै...अब हामीलाई के!
हामी त,
ला! यसो भएछ है, त्यसो भएछ नि...
भन्ने मात्र न हो।
यहींकालाई बुझ्नु छैन...
डोरी खोज्नु छैन...
हामीलाई के!
डुब्नु भन्दा बग्नु सजिलो छ...
र यहाँका को लागि व्यवहारिक पनि।।

No comments:

Post a Comment