Sunday, June 5, 2016

प्रेमको बौद्धिकता


सुन न...
भन्दै एकरात आवाज सुनाई दियो
लामो सास फेर्दै त्यो आवाजले भन्योः
मलाई यहाँ बाट लिएर जौ न...छिटो..
यहाँ मेरो मन छैन..
यहाँ विषालु सर्प र डस्ने किरा बाहेक केही छैनन्।
मलाई सास फेर्न पनि अप्ठेरो भईसक्यो..
छिटो...केही गर न...
नत्र म तिमीलाई नै छाडि मर्न बाध्य हुने छु।
मैले केही भन्न सुरु गरेको मात्रै थिएँ;
अचानक मेरो आवाज पातलो हुँदै गयो,
म बोलि त रहेको थिएँ...
तर आफ्नो आवाज केही सुनाईदिईरहेको थिएन।
विस्तारै, त्यो आवाज चारै तिर गुञ्जियो,
“ मलाई थाहा छ, तिमीले के भन्ने छौ भनेर,
तिमी बलियो हुनु भन्छौ,
तिमी विषलाई अमृतमा बदल्न खोज्छौ
तिमी घाउ बाटै आनन्द प्राप्त गर्न चाहन्छौ
हरेक दुस्टताको छिटालाई हाँसोको सागरमा खसाई,
त्यसको तुच्छ अस्तित्वलाई सागरको महिमतामा विलिन पार्दिन खोज्छौ..
तर आज तिमीलाई म केही भन्छुः
आफ्नो आत्मालाई रुवाएर गरेको कर्म के कर्म!
पराईलाई हँसाउने चक्करमा,
तिमीले मलाई हँसाउन छाडिसक्यौ..
बलियो देखिने चक्करमा आफैँ कमजोर भईसक्यौ।
कि मलाई तिमी संसारमा त्याग्न देऊ,
कि मलाई मेरो तिमी फिर्ता देऊ..
मलाई हेलचेक्र्याईँ नगर..
मेरो मन दुख्छ,
र मलाई थाहा छ...
मेरो दुख्दा तिम्रो पनि दुख्छ।
विष कहिले अमृत बन्न सक्दैन,
उल्टै तिमी भित्र बरु विष को असर फैलिँदै छ
म भन्दा पहिले म तिमीलाई मर्न दिन्न,
म तिम्रो बिछोड सहन सक्दिन..
ल त...
आज रात भरमा मलाई पहिले झैँ,
च्याप्प अंगालोमा हालेर कतै पर लिएर जौ,
या त भोली बिहान आखाँ खोल्दा,
मेरो लाश हेर्न तयार हौ”

No comments:

Post a Comment