Friday, June 17, 2016

जादुले जादुगरबाट जादु छिन्यो


एउटा प्राणको जन्म भयो,
फर्फरायो, कल्कलायो, नृत्य देखायो
कारण दिलायो, रंग भर्दियो, सुगन्ध छर्दियो
जादु छायो, नशा छायो, रौनक छायो
एउटा बञ्जरले आफ्नो वर्षात पायो।
वर्षात झरी बन्न पायो, अन्न दाता बन्न पायो।।
एउटा आकांक्षाको जन्म भयो,
छटपटायो, मुर्मुरायो, सपना देखायो
कारण दिलायो, हात भर्दियो, फरुवा थमाइदियो
आशा छायो, निशा हरायो, रौनक छायो
एउटा पाषाणले आफ्नो प्रतिमा पायो।
उही अस्त्रधारी बन्न पायो, यक्ष बन्न पायो।।
त प्राणले औजार समायो,
अधिक खनजोतको तृष्णा जन्मायो
आफ्नै पाउमा चोट उमार्यो
चिसो बताससँगै राप गुमायो।
एउटा कविको जन्म भयो
बतास सबैतिरबाट हटाइ'दि गयो।
नयाँ किरणले नयन तिखार्यो,
नयाँ सुगन्धले स्वाद जन्मायो।

एउटा तृष्णाको जन्म भयो,
उकुसमुकुसायो, उक्सायो, तर्सायो
निभायो-बलायो-निभायो-बलायो
भ्रम फैलायो, बेरंगले भर्दियो, झुठो रंग छर्दियो
पट्टी छायो, नशा छायो, सबैमा सरीगयो
एउटा देवताले आफ्नो दानव पायो।
दानवले आँ गर्यो, पुनः बतास आयो।।
त सबथोक उडाइलग्यो, सब प्राण कठयाङ्रियो
पाउ अल्झियो, घाउ बल्झियो
परिसीमा खुम्चियो, वर्षायुक्त बञ्जर खुम्चियो।

एउटा यानको जन्म भयो,
उड्यो, उडायो, नृत्य देखायो
धुन बिगार्यो, बादल बगायो, गगन ढाकियो, नयन छोपियो
चोट छोपियो, छटपटाइयो, रुखोपना छायो।
त पातले सुल्झायो,
टिपियो, चुँडाइयो, दलियो, दलाइयो
बञ्जर वृद्धाइयो, वर्षा छेकियो।
चिसो बताससँगै राप गुमाइयो।।
एउटा कविको जन्म भयो,
बतास सबैतिरबाट हटाइ'दि गयो।

No comments:

Post a Comment