पुस महिनाको मधुरो साँझको
घाममा १३ वर्षको ओन्ता टाउको निहुर्याउँदै, खुट्टाले अगाडीका ढुङ्गाहरुलाई हान्दै
एक्लै हिँडिरहेछ। आफ्नो अनुहार नाक सम्म कालो गलवन्दीले ढाकेको छ। उसले लगाईरहेको
नीलो स्कुलको ड्रेस मैलो देखिन्छ; कालो जुता ढुङ्गा हनाई र धुलोले गर्दा सेतै भएको
छ। विस्तारै आनन्दसित हिँडिरहँदा बाटोको छेउँ साईकल चलाईरहेका ८-९ वर्षिय
केटाहरुलाई हेर्न अडिन्छ; केटाहरु साईकल चलाई पर पुग्छन्, आखाँले भ्याए सम्म
उनीहरुलाई हेरिरहेपछि ऊ फेरी आफ्नो गतिमा हिँड्न थाल्छ।
मुख्य बाटोबाट दश-बार्ह
पाईला भित्र रहेको उसको घर अगाडी गई ढोका मुनी रहेको म्याटबाट साँचो निकाली भित्र
पस्छ। त्यसपछि सरासर यताउति नहेरी भान्छा कोठा भित्र पसी सबै बट्टाहरु हल्लाउँछ,
सबै घर्राहरु खोल्छ। उसले खोजेको केही नभेटे पछि चिनीको बट्टाबाट दुई चम्चा चिनी
मुखमा हामी भान्छा कोठाबाट निस्किन्छ। त्यसपछि
दाहिने तर्फको कुनामा रहेको आफ्नो कोठा भित्र पसी सरासर सबै पर्दाहरु लाउँछ र ढोकाको
चुकुल लगाई बती जति सबै बालिदिन्छ। कोठाको दाहिने कुनामा गई आफ्नो ब्यागबाट एउटा
सि.डी प्लेयर निकाली आफ्नो अगाडीको सानो होचो टेबुलमा त्यो प्लेयरलाई राख्छ र
टेबुल मुनीबाट स-साना दुईटा स्पिकर निकाली त्यस प्लेयरमा जोड्छ। जोडिसकेपछि, आफ्नो
दाहिने पट्टी रहेको खाटको डस्ना मुनीबाट ‘ पर्सियन क्लासिकल’ लेखिएको सि.डी
निकाल्छ र प्लेयरमा हाली ठुलो आवाजमा घन्काई खाटमा गई आँखा चिम्म गरेर पल्टिन्छ।
केही बेर पछि ढोकाको
ढकढकाहटले उसलाई ब्यूँझाउँछ, “ओई ओन्ता...के गर्दै छस्?”
आमाको कडा आवाज
सुनेपछि जुरुक्क उठेर ढोकाको चुकुल खोल्छ।
“के हो हँ तेरो
चालामाला? कति चोटी भनिसकेँ, घर भित्र पसेपछि बाहिरको ढोकाको चुकुल ला’
भनेर...१३-१४ वर्षको पो भईसकिस त अब! अलिकति पनि के गर्नु पर्छ मैले भन्ने था’
भा’को छैन?”
आमाको गाली
सुनुन्जेल ओन्ता केही नबोली चुपो लागेर ढोका अगाडी उभिरन्छ।
“केई खान थाल्याछस्
कि क्या हो हिजो आज...खोई यता आँखामा हेर् त!”
ओन्ता टाउको
निहुर्याएर नै बसिरहन्छ, उसकी आमाको अनुहारले रिस झनै बढेको संकेत दिन्छ।
“कस्तो भो एक्जाम
आज?”
“राम्रो भो’”, ओन्ता
सानो आवाजमा भन्छ।
“गरिस् तैँले
राम्रो! पछि रिजल्टले देखाईदिहाल्छ नि!”, यति भनेर आमा कोठाको ढोका ढ्याम्म ठटाएर जान्छिन्।
ओन्ता भने केही बेर टोलाउँदै बस्छ र अकस्मात आफ्नो कोठामा भए जतिका सबै खाटका,
टेबलका घर्राहरु खोल्न थाल्छ र भएका जति सबै बिस्कुटका, चकलेटका खोलहरु टकटकाउँछ। केही
पनि नपाएपछि अलि-अलि बाँकी भएका धुलोहरु मुख भित्र हाल्छ र पहिले जसरी नै आखाँ
चिम्म गरेर खाटमा पल्टिन्छ।
फेरी आमाको आवाजले
उसलाई ब्यूँझाउँछ, “ ओई ओन्ता खाना खान आईज छिटो!” आवाज सुन्ना साथ ऊ जुरुक्क उठेर
भान्छा कोठामा पस्छ। “अझै लुगा फेरेको छैनस्?तैँले पक्कै गाँजा-साँजा केही खाएर
आ’को हुनु पर्छ..त्यसरी नि सुत्छ कोई? अनुहार हेर् त आफ्नो ऐनामा!”
आमाको कुरा वास्तै
नगरी, ग्यास नेर राखिएको कराईको बिर्को उठाएर त्यहाँ भएको तारेको आलु टप्प टिप्छ,
मुखमा हाल्छ र भन्छ, “बिहान भात खाएर गए देखि केई पनि खा’को छैन”।
आमा एकैछिन उसलाई
ट्वाल्ल परेर हेर्छिन र भन्छिन, “ मूर्ख...भन्नु पर्देन त! आउनु बितिके त्यसरी
सुत्ने हो त? ऊ त्याँ बिस्कुटहरु थियो त..हेर्नु पर्दैन!”
ओन्ता केही नबोली
अझै आलु निकाली खाईरन्छ। “कस्तो गरिस् जाँच?”, आमाले सोध्दा ऊ फेरी कराईबाट आलु
निकाल्छ दुई टुक्रा मुखमा हाल्छ र केही बेरपछि भन्छ, “ आलु मिठो भएछ”।
खाट छेउँको टेबलमा
भएको अलार्म घडीले उसलाई बिहान झल्याँस्स ब्यूँझाउँछ, ऊ जुरुक्क उठ्छ; स्कुलको
ड्रेस अझै उसको शरीरमा छ। हत्तनपत्त सि.डी प्लेयर खोलेर डस्ना मुनी बाट “Wagner: Del Ring” लेखेको सि.डी निकाल्छ र
प्लेयरमा हाली आवाज ठुलो पारी त्यसैमा झुम्न थाल्छ।
“ओई..छिटो गर..भात
भयो”, ले उसलाई फेरी झसंग पार्छ र जर्याकजुरुक खाटबाट उठी दाँत माझ्न थाल्छ। भात
खाई निस्किने बेला उसकी आमा भन्छिन, “ मैले बिस्कुट राख्द्या छु..घर आए पछि आज चैँ
चुकुल लाएर बस्न नबिर्सी”।
मोजार्टको २३औँ
सिम्फोनी गुनगुनाउँदै स्कुल तर्फ हिँडीरहेको बेला, एउटा गल्ली नेर बाट “ओई ओन्ता”
भन्ने आवाजले उसको ध्यान तान्छ। दाहिने तर्फको सानो गल्लीबाट उसको साथी रुल कुद्दै
आउँछ, दुई जना हात मिलाउँछन्।
“ओई था’ पाईस्”, रुल
सोध्छ।
“के?”
“हिजो तँ जाँच सकाएर
भागीहालिस्! कत्रो बवाल भयो, जे भए पनि भोलीको जाँचमा हाम्रो टपर, मोनिटर फेल हुने
भई”
ओन्ता रुलको कुरालाई
त्यति वास्ता नगरी केही पनि नबोली चुपचाप हिँडीरन्छ।
“हिजो तेस्को डेस्क
मुनीबाट त्यसको नोट कपी कुन चैँ’ नीले उडाईदे’छ”।
ओन्ता एकैछिन जोरले
हाँस्छ।
“तैँले त उडाको हैन
नि? तँ चाँडो निस्क्या थिस्”।
ओन्ता अझै
हाँसिरहन्छ।
“सबैले शंका त गरेको
थे तँलाई, तर ओन्ता मूलाले के चोर्ला र भनेर पत्याएनन्”।
ओन्ता चुपो लागेर
हिँडिरन्छ, उनीहरु स्कुल नजिकै पुग्छन्।
“आज अब पैलो क्लास
हुँदैन होला! चोर पता लाउने भनेका छन्”, रुल भन्छ।
“ म भागेको त केही
हल्लाखल्ला भा’ छैन नि है? फेरी क्लासमा गएर चुरोट पनि तानेर हिँड्या थेँ”, ओन्ता
अलि आँतिदै भन्छ।
“साला फस्छस्
एकदिन...हिजो त कसैलाई वास्ता भएन...कपीकै हल्लाखल्ला भईरा’थ्यो”।
“साला..घरमा मार्छन्
यार चुरोट खा’को...त्यै पनि क्लासमा....क्लास नबसेको था’ पाए भने”, ओन्ता अलि आँतिदै
भन्छ।
“न खा न त..साला
क्लासमा..”, रुल झोकिँदै भन्छ।
“बाटो तिर खाए भने
फेरी कसैले देखिहाल्छ..के गर्ने..घरमा खान मिल्दैन”।
उनीहरु स्कुल
पुग्छन्।
क्लासमा हो-हल्ला छ।
ओन्ता पछाडीतिर बोर्डतिर टोलाउँदै केही नबोली रुल सँगै बसेको छ, रुल अर्को वेन्चका
साथीहरुसँग कपी चोरको बारेमा कुरा गर्नमै व्यस्त छ। स्कुलकी प्रिनसिपल, क्लास टिचर
र मोनिटर मेरी क्लास भित्र पस्छन्। सबैजना उनीहरुलाई अभिवादन गर्न उठ्छन्, ओन्ता
अलि ढिलो उठ्छ। प्रिन्सिपल अलि कडा र ठुलो आवाजमा भन्छे, “ हिजो मेरीको कपी चोरी
भएको सबैलाई था’ भयो होला!” सबै चुपो लागेर बस्छन्, मेरी जोरसँग रुन थाल्छे। क्लास
टिचर अकस्मात चिचाउँछन्, “ ओन्ता! उठ्”
क्लासका सबै
ओन्तातिर हेर्छन्; ओन्ता झंसग हुन्छ, मेरी पनि राता-राता आँखा ओन्तालाई तर्छे।
“हिजो एक्जाम पछि वेर
वर यु?”
ओन्ता केही बोल्दैन;
टोलाउँदै बसिरन्छ।
“स्ट्याण्ड अप गड
ड्यामिट यु डिसिप्लिन लेस ब्वाई”, प्रिन्सिपल घाँटीको नशा देखिने गरी
चिच्याउँछे; ओन्ता उठ्छ।
“वेर वर यु? हिजो
क्लास किन नबसेको जाँच सकिएपछि?”, प्रिन्सिपल अलि शान्त हुँदै ओन्तालाई सोध्छे।
“यसको ममीले अस्ति
फोन गर्नु भा’ थ्यो; रुनु भो। घरमा पनि केही नपढी टोलाउँदै बस्छ रे!”, क्लास टिचर
यति भन्दै जोसिँदै ओन्तातिर आउँछन्।
“आफु पनि पढ्दैनस्, अर्काको
रिस गर्छस!”, भन्दै रातो मुख लाउँदै क्लास टिचरले ओन्तालाई जोर सँग दाहिने गालामा
एक थपड र देव्रे गालामा अर्को एक थपड हान्छन्। ओन्ता केही नबोली सिधै बोर्डतिर
हेर्दै टोलाउँदै उभिरन्छ; उसको अनुहारमा केही भाव देखिन्न। क्लास टिचरले ओन्ताको
सिधा भई अडेको टाउकोलाई आफुतर्फ फर्काई फेरी एक झापड जोरले पड्काउँछन् र चिचाउन
थाल्छन, “ बोल् भन्या! किन चोरिस मेरीको कपी? काँ राखिस्?”
ओन्ता अझै केही
बोल्दैन, उसको अनुहारमा अझै केही भाव देखिन्न।
“बोल्..नभए फेरी
खान्छस्...तेरो ममीलाई बोलाएर..ममीकै अगाडी मार्दिन्छु तँ साला कुकुरलाई...बोल्”,
भन्दै क्लास टिचर ओन्तालाई कलर समातेर घिसार्दै क्लासको अगाडी ल्याउँछन्। अगाडी
पुगेपछि अरुले राम्रो सँग नसुन्ने गरी सानो आवाजमा ओन्ता भन्छ, “ मैले चोरेको हैन!”
“चोर्दैनस् तैँले!
तैँले चोर्या हो; नभए काँ गाथिस् हिजो जाँच पछि?”, क्लास टिचर फेरि झोकिँदै
सोध्छन्।
सब क्लास ओन्तालाई
हेरिरहेका हुन्छन्, क्लास टिचर प्रिन्सिपल तर्फ हेर्दै भन्छन्, “ म्याम..यसको
ब्याग चेक गरौँ!”
प्रिन्सिपलले
झ्वाट्ट जवाफ दिन्छे, “ काँ चोरेर ऐले सम्म ब्यागमा राख्छ त! घरमा लुकाईसक्यो होला
नि...यसको ममीलाई फोन गरेर हेर्नु भन्नु पर्ला”, यति भनेर ओन्ता तिर हेर्दै भन्छे
, “ ओन्ता! गो ब्याक टु योर सिट”।
ओन्ता विस्तारै
आफ्नो सिटतिर जान्छ र उभिन्छ।
“सर..तर अरु कसैले
पनि त लिएको हुन सक्छ नि!”, प्रिन्सिपल शान्त स्वरमा क्लास टिचरलाई भन्छिन। क्लास
टिचर केही बोल्दैनन्।
“ठीक छ..कसले चोर्या
हो..वि विल फाईन्ड आउट सुन..जऊ मेरी आफ्नो ठाउँमा गएर बस...भोलीको लागि
प्रकृतिको नोट लगेर फोटोकपी गर”, प्रिन्सिपल भन्छिन।
“म्याम मैले नोटै
ल्याछैन आज”, प्रिन्सिपलको बोली सकिन नपाउँदै एक शासमै पहिलो वेन्चबाट प्रकृति
उत्साहित हुँदै चिच्याउँछे।
“ठिक छ...जसले
ल्याको छ..मेरीलाई देऊ...अनि मेरी नोट लिएर मेरो अफिसमा आऊ”, यति भनेर प्रिन्सिपल
र क्लास टिचर क्लासबाट निस्किन्छन्; मेरी आफ्नो सिटमा गएर बस्छे।
“आफु पनि
नपढ्ने..अर्काको कपी चोर्ने मरिजाओस्..लाईफमा कैले पास नहोस्..कैले पढ्न
नसकोस्..पापी”, मेरी रुन्चे आवाजमा पछाडी ओन्तातिर हेर्दै भन्छे। यतिकैमा म्याथ
टिचर आईपुग्छन् र सामान्य तरिकाले क्लास अगाडी बढ्छ।
टिफिन ब्रेकमा ओन्ता
क्लासका प्राय सबै केटाहरुसँग स्कुलको पिङ नेर उभिरहेको छ। “साला..आफ्नो छोरालाई
फर्स्ट पार्न क्लास टिचरले नै कपी चोरेको पनि त हुन सक्छ”, उत्साहित हुँदै
ओन्तासँगै उभिरहेको विलम भन्छ।
“तै त..अनि ओन्तालाई
दोष लगाएर पिट्यो सालाले...”, अर्को साथी नाङ आफ्नो तर्क प्रस्तुत गर्छ।
“तै त..यो चाँडै
हिँड्यो..यसलाई फसाउन पनि सजिलो भो”, किट भन्ने साथी अलि आवेशमा आएर बोल्छ।
ओन्ता केही नबोली
चुपो लागेर उभिरहन्छ। बाँकीका सबै केटाहरु कुनै युद्धमा जान लाग्दा खेरी योजना
बनाउन लागेका सैनिकहरु झैँ देखिरहेका छन्।
“के..साला...त्यो
साला..प्रकृतिले पनि त चोर्या हुन सक्छ नि..केटीहरु कस्ता हुन्छन्..त्यै पनि त्यो
छुच्ची राँडी भालु साला..के-के न ठान्छे आफुलाई! अगिन देखेनौ..कपी ल्याछैन भनेर
कति खुसी हुँदै भनेकी...साला त्यै भालुको काम हो..म स्योर छु”, रुल दार्हा
किट्दै भन्छ। सबै चुपो लागेर उभिरहन्छन्।
“यसको प्यारेन्टस
बलाउने रे..भन्दै थे रे...किसीले सुनेको रे”, पिङमा अढेस लगाईरहेको तिपी भन्छ।
सबै ओन्तालाई
हेरिरहन्छन्, केही बेर आकाशतिर हेर्दै टोलाएपछि ओन्ता भन्छ, “धन्न चुरोट खा’को
थापाएनन्...क्या डर लाग्या थ्यो सुरुमा त्यो सर जंगिदै आउँदा...अझै क्लास
नबसेको..जाँचमा केई नलेखेको..अस्तिको जाँचमा पनि जिरै आउँछ...घरमा त वाक्क पार्छन्
यार भन्दे भने”।
“साला केटा हो..त्यो
मेरीको भोली दिदीको बिहे छ रे! पढ्न भ्याउँदिन भनेर..आफ्नै कपी लुकाको पनि त हुन
सक्छे नि..”, तुक हस्याङ-फस्याङ गर्दै केटाहरुतिर आउँदै भन्छ।
“हो र? साला त्यसैको
काम हो त्यसो भए..साला केटीहरु...रोएको नाटक गर्द्यो..पुगिहाल्यो नि! हो..हो केटा
हो..त्यसैले हो...त्यसैको काम हो...कि त प्रकृतिको काम हो..”, रुल जोँसिदै भन्छ।
“हो...मेरीकै काम हो...पढ्या
छैन..फेल भईन्छ...बरु..रि-एक्जाम दिन पाईहालिन्छ नि भनेर ओन्तालाई फसाई होला”,
लिपोस् कुनै महत्वपुर्ण कुरा पता लगाए झैँ अनुहार पारी आफ्नो तर्क प्रस्तुत गर्छ।
“ममीलाई फोन गरेर
भन्देर ममीले चाँडै फर्केर कोठा चेक गर्य भने त वर्बादी हुन्छ यार! के-के छ..के-के
छ..कोठामा..बाँच्न दिदैँनन् यार त्यसपछि”, यति भन्दै ओन्ता एकैछिन हाँस्छ, उसको
अनुहारमा खुसी देखिन्छ; यतिकैमा स्कुलको घण्टी बज्छ, सबै केटाहरु क्लासतिर जान
हिँड्छन्।
नेपाली क्लास
भईरहेको छ। प्रर्रम गुरु, “नैतिक दृष्टान्त” सबैलाई रटाउँदै छन्; बेला-बेलामा
बुझाउँदै पनि छनः
सत्य बोल्नु पर्छ;
मिहेनत गरेर पढाई गर्नु पर्छ..विद्दा हासिल गर्नु पर्छ हामी सबैले...आफ्नो मनमा भएको
पाप..चोरी..फट्याँई सबै हामीले आजै देखि त्याग्नु पर्छ...
“ह्याँ त आफ्नै
क्लासको साथीको कपी चोर्ने पनि छन् सर्...”, अगाडीबाट प्रकृति गुरुको कुरा सकिन
नपाउँदै बोल्छे।
“के! ओन्ताले चोर्या
हो र! तेल्लाई के मतलव कपीको..बरु तैँले चोरिस् होला नि..डाह लागेर साथीको...चोर त
होस् नि तँ डाडी..”, ओन्तासँगै बसिरहेको रुल उत्साहित हुँदै उठेर सबैले सुन्ने गरी
चिच्याउँदै प्रकृतितिर हेर्दै भन्छ।
“चुप लाग! तैँले
चोर्या होला नि बरु”, एक चोटी झ्वाट्ट पछाडी रुलतिर हेरेर प्रकृति भन्छे र रुन
थाल्छे।
“के मैले चोरेर आची पुस्ने
आफ्नो? मेरो आफ्नै नोट छ..हेर् ह्याँ”, ब्यागबाट कपी निकालेर रुलले त्यो कपी
प्रकृतितिर फालिदिन्छ।
प्रकृतिले पनि आफ्नो
ब्यागबाट त्यसरी नै कपी निकालेर उभिदैँ रुललाई देखाउँछे, “मेरो पनि आफ्नै छ..हेर्”।
“देखिस्..डाडी..तेरो
कपी रै’छ त अगिन छैन भन्या हैन म्यामलाई”, रुल खुसी हुँदै चिच्याउँछ।
सोझा प्रर्रम गुरुबा
सानो आवाजमा , “ए हल्ला नगर”, भनिरहन्छन; अगाडी सुई केटीको रुवा-बासी सुरु हुन्छ।
“मेरी प्रमिस मैले
चोरेको हैन”, प्रकृति भन्छे; दुवै फेरी रुन थाल्छन्।
प्रर्रम गुरु सानो
आवाजमा कराईरहन्छन, हल्ला चलिरहन्छ।
“ओ..मेरी तिम्रो
कपी..विलेनले चोर्या पनि त हुन सक्छ नि”, विलम् पछाडीबाट चिच्याउँछ।
पहिलो बेञ्चको दायाँ
कुनामा सबेको विलेन पछाडी विलम् तिर हेर्दै चिच्याउँछ, “किन चोर्नु नि मैले? मेरो
आफ्नो नोट छ..नि..” ।
“तेरो बऊले तँलाई
फर्स्ट पार्नको लागि गरेको पनि त हुन सक्छ नि..आफैँ कैले हुन सकिनस्..मेरीलाई
जित्न सकिनस्”, विलम् फेरी उत्साहित हुँदै चिच्याउँछ।
“त्यसो त..मेरी
आफैँले लुकाको पनि त हुन सक्छ नि..त्यसको दिदीको ब्या हैन भोली?”, विलेन पनि
जोस्मा आउँदै भन्छ।
“अँ तै काम बाँकी छ
मेरो!”, भन्दै मेरी झनै मजाले रुँदै क्लास बाहिर तिर निस्किन्छे तर ढोका बाटै
फर्किहाल्छे। क्लास एकैछिन शान्त हुन्छ, त्यहीबेला गुरुबा भन्छन्, “सिद्यो
तिमरुको?..कि अझै बाँकी छ?” यति भनि सिद्दाएर गुरुबाले पढाउन सुरु मात्र के गरेका
हुन्छन्, बाहिरबाट प्रिन्सिपल र क्लास टिचर भित्र पस्छन्; सबै जना उठेर उनीहरुलाई गुड
आफ्टरनुन भन्दै उठ्छन् । एउटा च्यातचुत भएको कपी देखाउँदै प्रिन्सिपलल
भन्छिन, “ सो...क्लास..कसले हो...मेरीको कपीको छ-सात पाना च्यातेर झ्याल
बाहिर फाल्देको रहेछ...ह्वु ह्याज डन दिस..?”
“ल..कसले गरेको
हो..आफैँ भन्..नत्र हामी सि.सि क्यामराले हेर्छौँ..”, ओन्तातिर हेरेर क्लास टिचर
भन्छन्।
“हेर..यसरी एक
अर्काको रिस गरेर..साथीले राम्रो गर्छ भनेर उसको कपी च्यात्नु त राम्रो बानी हैन
नि!, हामीले त साथी-भाई सँगै पढेपछि त एक अर्काको मदत पो गर्नु पर्छ...एक अर्कालाई
माया र सहयोग पो गर्नु पर्छ त”, सानो स्वरमा प्रर्रम गुरुबा भन्छन्। “ म्याम..यो
सबै हाम्रो समाजमा, स्कुलमा भएको कम्पिटिसन् सिस्टमले गर्दा भएको
हो....हाम्ले यो स्कुलमा र्याङकिङ...फर्स्ट/सेकण्ड भन्ने नै हटाउनु पर्छ म्याम”,
गुरुबा प्रिन्सिपललाई सम्झाउँछन्।
“ल...व्हु ह्याज
डन दिस..आज क्लास सकिएपछि मेरो अफिसमा आऊ..म केही भन्दिन..प्रमिस..आई विल
हेल्प यु....” यति भनेर प्रिन्सिपलले त्यो च्यातिएको कपी मेरीलाई दिन्छिन्; मेरी
कपी देखेर झनै जोरले रुन्छे।
“सि.सि क्यामराबाट
हेरे पछि चैँ.. सिधै रेस्टिकेट”, भन्दै क्लास टिचर प्रिन्सिपलसँगै क्लासबाट
निक्लिन्छन्।
“बस..तिमरु..हेर...एक
अर्कालाई उछिनेर..जितेर..फर्स्ट भएर केही हुँदैन..खाली रिस मात्र, ईर्ष्या मात्र
बढ्छ...हामीले त आफु राम्रो हुने कोसिस पो गर्नु पर्छ....ल...बस”,गुरुबा भन्छन्,
सबै आ-आफ्नो सिटमा बस्छन्।
ओन्ता
टोलाईरहेछ...विस्तारै सिटमा बस्छ..गुरु पढाउन थाल्छन्, सबैजना एक-अर्का सँग कुरा
गर्न सुरु गर्छन्। एक्लै टोलाउँदै ओन्ता विस्तारै आफ्नो ब्यागको चेन खोल्छ..सँगैको
रुल साईडमा अर्कै सँग कपीको बारेमा नयाँ तर्क दिदैँ गफ गर्नमा व्यस्त छ...कसैले ऊ तर्फ
हेरिरहेक छैनन्; बोर्डतिर हेर्दै विस्तारै ब्याग भित्रबाट कच्याक-कुचुक परेको
कागजको डल्लो निकाल्छ...अनि अझै बोर्डतिर हेर्दै त्यो डल्लो खोल्छ। त्यो कागजमा
तीन-चार सर्को मात्र तानिएको चुरोटको ठुटो र खरानी देखिन्छ।
No comments:
Post a Comment