Wednesday, January 13, 2016

सातौँ अवसर


मृत्यु तँपाईको ढोकै अगाडी आई उभिँदा तँपाई के गर्नु हुन्छ? मानौँ तँपाई आफ्नो कोठामा बसिरहनु भएको छ, हृस्टपुष्ट हुनुहुन्छ, निरोगी हुनुहुन्छ; तर मृत्युलाई आफु पल्टिरहेको खाटबाट हेरिरहनु भएको छ; ऊ आउँदै छ, तँपाईको कोठाको ढोका खोल्न भनेर ह्याण्डलमा हात राखिसकेको छ। यस्तो मा तँपाई के गर्नु हुन्छ?
यो यस्तै एउटा मान्छेको कथा हो जसलाई आफ्नो मृत्युको तारिख, घण्टा, मिनेट, सेकण्ड सबै थाहा थियो। के गर्यो सो मान्छेले? आउनुस् थाहा पाऔँ उसले आफैले लेखेको यो सानो लेख पढीः

त्यो रात, त्यो सपनाले मेरो जीवनमा जे-जस्तो मोड ल्याईदिएको छ, त्यसको बारे म शब्दले कसरी बयान गरौँ? त्यै पनि मसँग भ’को एक मात्र साधन यो लेखाई हो। आत्म-सन्तुष्टी को साथ-साथै कसैलाई रमाईलो लागिहाल्छ कि भनेर मैले यो सब लेख्न मन गरेको हुँ। म एक सामान्य मान्छे ४५ वर्षको। काठमाडौँ बस्छु र स्कुलमा म्याथ पढाउने काम गर्छु। म र मेरी श्रीमती सुनिताबाट हाम्रा २ वटा छोरी भएका छन्। मेरो आम्दानी राम्रै छ; हामीलाई पुगेकै छ।
गएको शुक्रबारको कुरा होः स्कुलमा पढाउने काम सिद्दाई म सिधै आफ्नो घर फर्केँ, दिनभर एक किसिमको नौलो उदासी महशुस गरिरहेको थिएँ जुन त्यस दिन भन्दा पहिले कैले गरेको थिईन। कसैसँग खासै केही बोल्न मन लागेन, कैले रात पर्ला र निदाँउला भनी रातको बाटो हेरिरहेँ। छोरीहरु गफ गर्न खोज्दै थिए, एक शब्द बोल्न, सुन्न मन लागिरहेको थिएन। झर्किनु भन्दा परु मतलवै गर्दिन भनेर एउटा किताब खोली केही जरुरी कुराको पढाईमा एकदमै व्यस्त भए जस्तो गरिरहेँ। श्रीमतीसँग पनि केही खासै बोलिन, भात खाएँ र हत्तनपत्त आफ्नो कोठामा गई खाटमा पल्टिहालेँ; सोच खासै केही आएका थिएनन्, सँधै जस्तो केवल त्यही आफ्ना जीन्दगीका गनगनहरु। निन्द्राको समीपै पुग्न लाग्दा एक किसिमको आनन्दले मनलाई ढाक्योः दिउँसोको उदासीनताको ठिक विपरीत। विचार शुन्य भए, म तल्लिन भएँ, निदाएँ।
२ बजेतिर झल्याँस्स ब्युँझिए, श्रीमती अर्कै कोठामा सुतिछन्, म एक्लै थिएँ; मोबाईलमा समय हेरेँ। आफ्नो सपनालाई बुझ्ने प्रयास गरेः
म र म जस्तै अर्को म हामी दुई कुनै ठुलो डाँडा चढ्दै थियौँ। मेरा आफ्ना भावनाहरु मैले आफैँ महशुस गर्दै थिएँ, अर्को म’ को भावनाप्रति भने म पुरै अन्जान थिएँ; ऊ मलाई केही भन्दै थियोः “बुझिस् रमेश.....भोलीको शनिवारको अर्को शनिवार, ठ्याक्कै दिउँसोको दुई बजे र अठचालिस मिनेट ५ सेकण्डमा तैँले आफ्नो देह त्याग गर्छस्।“ मैले केही जवाफ दिईन, सपनाको म’को मनमा एक किसिमको चिसो पस्यो। अर्को म भन्दै गयो, “तैँले पत्याउँदैनस् था’ छ...अहिले ब्युँझेपछि एकैछिन टोलाउँछस् र सबै बिर्सिन्छस...तर म तँलाई एउटा प्रमाण दिन्छुः भोली ठ्याक्कै दिउँसोको एक बजे र अठचालिस मिनेट ४ सेकण्डमा काठमाडौँमा पानी पर्न सुरु हुन्छ....जसको एक घण्टा एक मिनेट पछि, एउटा सानो भूकम्प जान्छ....तैँले र तेरो कान्छी छोरीले बाहेक तेरो नजिकका अरु कसैले त्यो भूकम्प महशुस गरेका हुँदैनन्.......”
त्यति भनी सपनाको दुइटै म हाँस्न थाल्यौ र कतै उढ्यौ...म भने झल्यास्स ब्युँझेर त्यसरी सपनाको विश्लेषण गरेँ, एकैछिन् हाँसे र सुत्ने प्रयास गरेँ..तर सकिन....यता-उती, छटपटीले बिहान ५ बजाई’दि हाल्यो।
बिदाको दिन भएकोले मासु ल्याई सबै परिवार सँगै बसी खाना खाई छततिर उक्ल्यौँ, बादल हलुका-फुल्का लागेको थियो; गर्मी पनि थियो तर सबै सँगै कतै खुला ठाउँमा बसि गफ गर्ने भन्ने हाम्रो निर्णयले हामीलाई त्यसरी त्यहाँ बसायो। हामी चार जना केही ठट्टा गर्दै बसिरहेका थियौँ...मेरो दिमागमा भने हिजो रातीको सपनाले डेरा जमाएर बसेको थियो....ठ्याक्कै एक बजेर ४५ मिनेटमा आफ्नो हातको घडी हेरेँ...मनमा एक किसिमको अच्मको डर जस्तो पस्यो, केही कुराको आश गर्दै बस्दा आईपुग्ने डर भन्दा धेरै बलियो र जादुयी। मेरो आँखा र ध्यान केवल मेरो हातको घडीमा मात्रै थियो...सुई हिँड्दै गए.....एक्कासी ठुली छोरीले भनी, “ बाबा...पानी पर्छ जस्तो छ है अब....”, म झसंग भएँ, आकाशतिर हेर्ने आँट गर्न सकिन...घडी हेरेँ, सढचालिस मिनेट ४४ सेकण्ड भएको थियो; म केही बोलिन...केवल घडी हेर्दै टोलाईरहेँ। “हाहा....बाबा कति घडी हेरेर बस्या.”, सानी छोरीले मलाई गिज्याई, घडीको सुईले ठ्याक्कै एक बजेर अठचालिस मिनेट चार सेकण्ड देखाउँदा मनमा सितल पस्यो र बल्ल छोरी तिर हेरेर भने, “ पर्दैन..पानी बेला न को बेला तैट”।   
भय सब निस्किसकेपछि एकैछिन त्यहीँ आँखा चिम्म गरेर पल्टिएँ, रातीको सपना किन म मा आए छ त भनी बुझ्न खोज्दै थिएँ.....त्यतिकैमा जेठी छोरीले मेरो हात हल्लाएर मलाई ब्यूँझाईदि, म आँखा खोल्ने प्रयास गर्दै मात्र के थिएँ, “ हेर्नुस बाबा...पानी पर्दैन भनेको हैन...जौँ तल....”। जुरुक्क उठेर उतर तिर हेरेँ; भीमकाय वर्षात हामी तिर आउँदै थियो, पानीको छिटाले हान्न थालिसकेको थियो, हातको घडी हेरेँ, घडीले ठ्याक्कै एक बजेर चालिस मिनेट ४ सेकण्ड देखाईरहेको थियो। वरिपरीको केही सुनाई/देखाई दिन छाड्यो, रिंगटा लाग्यो, छोरीहरु खुसी हुँदै पानीमा नाच्दै थिए, श्रीमती उनीहरुलाई ‘बिरामी परिन्छ है!’ भन्दै गाली गर्दै थिई...मलाई जौँ तल भन्दै थिई सायद....   
छतबाट कोठातिर जाने भर्याङको छेउँ राखिएको भित्ते घडीमा ठ्याक्कै उनानपचास मिनेट चार सेकण्ड भईरहेको थियो, मोबाईलको घडी हेरेँ....मोबाईलको घडी ठ्याक्कै भित्ते घडी सँग मिलेको थियो। त्यसपछि त्यो पानी परिरहेको दृश्य मेरो आखाँ अगाडी घुमिरह्यो; त्यो एउटा पानी परेको दृश्यले मेरा साथीहरु....एउटा सामान्य जीवन बाँच्न रुचाउने सामान्य मान्छेको जीवनमा अर्कै बहार ल्याईदियोः विचित्रको बनाईदियो, डरलाग्दो बनाईदियो; म थर-थर काँपी सोफामा पल्टेँ बाहिर तिर हेर्दै टोलाउँदै। छोरीहरु हल्लाखल्ला गर्दै थिए “ पानी परेको बेलामा त तातो मिठो कुरा खान मजा आउँछ, के खानी त आज?” 
सपनामा भनिएको समयमा भूकम्प गएको महशुस पनि भयो....तर पानी काण्डले नै मलाई यस्तो असर पारिसकेको थियो कि, हल्लुन्जेल दुई सेकण्डको लागि जीउ सिरिंङ्ग मात्र गर्यो........त्यसमा खासै केही अचम्म लागेन........ छोरीहरु कुद्दै, हल्लाखल्ला गर्दै.....माथीबाट आए; कान्छी छोरी म कहाँ आएर मसँग सोध्न थाली, “बाबा.....भुईँचालो गा’ को है? हेर्नु न...दिदीले गा'को छैन रे!...ममीले पनि था' पाउनु भएन रे..... तर हल्लेको थ्यो है?”, म केही बोलिन....टाउको हल्लाएँ, मैले रुची नदेखाएपछि उनीहरु एक-अर्कासँग बहश गर्दै आफ्नो कोठातिर पसे। 
त्यसबेला देखिका सामान्य घटनाहरु मलाई तेति याद छैनन्। मलाई यति याद छ कि त्यो शनिबारका बाँकीका छेँडहरुमा म भित्र एक बेग्लै किसिमको भावनाले डेरा जमाईरह्यो जुनलाई सोचमा बदली बुझ्ने प्रयास मैले गर्न सकिन; म केवल टोलाई रहेँ....
भोली पल्ट आईतबार मलाई बिहानै स्कुल जानु पर्ने थियो, बिहान धेरै बेर सम्म जौँ/नजौँ भईरह्यो, अन्तमा गईन। त्यसबेला ममा जसरी हुन्छ मेरा बाँकीका दिनहरुलाई मुल्यवान बनाउनु पर्छ भन्ने विचार आए। छोरीहरु स्कुल गए, श्रीमती बाहिर कतै गई...म एक्लै घरमा बसिरहेँ।
के गरी बाँकीका सात दिनलाई मुल्यवान बनाउन सकिएला त? यसै प्रश्नमा अल्झिँदै थिए कि एकाएक मृत्युसँग लड्न पनि त सकिन्छ नि...भन्ने सोच आयो। तर कसरी? यो कुरा मैले कसैलाई भन्न मिल्दैन थियो...कसले पत्याउँथ्यो र! सायद अर्को शनिवार कहीँ नगई कोठामा बसेर? सायद अर्को शनिवार सम्म कहीँ नगई कोठामा मात्र बसेर? सायद भगवानको पुजा गरेर? सायद ध्यान गरेर? पछिल्लो उपाय ठिक लागि म दिनभर आँखा चिम्म गरी ओम् भन्दै बसिरहेँ। आफ्नो त्यो सपनामा फिर्ता जान खोजीरहेँ...तर सकिन....ध्यानले केही हदसम्म आनन्द पारिदियो, मन हलुका बनाईदियो। घडी हेर्दा ४ बजिसकेको देखेर झसंग भएँ....एक दिन त यतिकै खेर फाले छु मैले! 
तब फेरी कसरी बाँकीको समयलाई ‘मुल्यवान बनाउन सकिएला त’ भनेर विचार गर्न थालेँ। त्यसपछि एउटा विचार आयोः अब मैले बाँकीका दिनहरुमा सके सम्म छोरीहरुको लागि केही गर्नु पर्छ! उनीहरुको भविष्यको निम्ती केही पैसा जम्मा गर्नु पर्छ! तर यति कम समयमा कसरी? पैसा टन्न कसरी जम्मा गर्ने भनी सोची बसिरहेको बेलामा एउटा तर्क आयो, “ मैले त एक हप्तामा यिनीहरुलाई पैसा भन्दा धेरै मुल्यवान र जरुरी कुराहरु दिन सक्छु नि!” केही ग्यान दिन सक्छु, केही सिकाउन सक्छु, केही नैतिकता भरिदिन सक्छु, केही सत्य बुझाईदिन सक्छु जसले गर्दा उनीहरुको बाँकीको जीवनमा उनीहरुले कहिले पनि आफ्नो शार र चरित्र बेच्न नपरोस्.....कैले पनि शारीरिक तथा मानसिक वेश्या हुनु नपरोस्......केही माया दिन सक्छु; अरुले आफुलाई भित्र मन देखि गरेको माया भन्दा ठुलो कुरा के हुन सक्छ र कुनै पनि मानिस को लाई?
त्यस दिनका बाँकी समय मैले पुरै छोरीहरुसँग बिताएँ.... उनीहरुलाई केही भन्दा, सिकाउँदा आनन्द आयो....शनिवारको मृत्यु बिर्सेँ....अनि निष्कर्ष निकालेः यदि मैले मेरो शनिवारको मृत्युलाई आफ्नो दिमागबाट पुरै हटाएर अरु कुराहरुबाट आनन्द प्राप्त गर्न सकिरहेँ भने त्यो भन्दा मुल्यवान कुरा केही पनि हुँदैन मर्नु अगाडी.....
सोमबार स्कुलमा फोन गरेर आफुले स्कुल छाडेको जानकारी दिईदिएँ......अघिल्लो दिनको छोरीहरुसँगको समयले रमाईलो पारिदिरहे’थ्यो, त्यही लिएर दिउँसो घुम्न निस्केँ। हिँड्दै गर्दा विचारका फोहोरा छुट्न थालेः एउटा मनुष्य भई जन्मे पछि हाम्रो सबैभन्दा बलियो र सायद एक मात्र चाहना भनेको खुसी प्राप्ती रहेछ। आफुले आफुलाई के –कुराले खुसी बनाउँछ त्यो खोज्नु पर्ने रहेछ...सायद जीन्दगीमा त्यस्ता पलहरु आउँछन् जसले आफु भित्रको प्रावृतिक चाहनालाई ब्यँझाईदिन्छन्, आफुलाई जगाईदिन्छन्.....मेरो लागि सत्य नै सायद मेरो भित्री चाहना हो........सपना नै मेरो जीन्दगीको त्यो पल थियो......
यही विचारलाई दिमागमा घन्काउँदै पुस्तक पसलबाट उपनिशद किनेर लगेँ र दुई दिन केवल उपनिशद पढाई र परिवारसँगको रमाईमा बिताएँ....आहा ति छेँड!
विहीबारको बिहानीले मलाई फेरी त्रास र डर साथ स्वागत गर्यो। “ओहो...मेरो त जाने दिन आयो त...मैले त मेरो समय फेरी खेर फालेछु....न परिवारको निम्ती केही गरेँ, न समाजको लागि...”, यस्ता तर्कले मलाई अत्याउँन थाले। तर मेरो, यदि मैले मेरो शनिवारको मृत्युलाई आफ्नो दिमागबाट पुरै हटाएर अरु कुराहरुबाट आनन्द प्राप्त गर्न सकिरहेँ भने त्यो भन्दा मुल्यवान कुरा केही पनि हुँदैन मर्नु अगाडी..... भन्ने विचारले ममा फेरी स्फुर्ती फिर्ता ल्याईदियो र जुन छेँडमा म मृत्यु देखि या अरु कुनै कुरा सँग डराई बस्छु या त्यो डर हटाउन केही गर्छु, त्यो छेँड मैले जीवन खेर फालेको छेँड हो भन्दै जुरुक्क उठी हिँड्न भनेर बाहिर निस्केँ।      
मरेपछि त सबै यसैपनि सिद्दिहाल्यो, आभाष गर्न आफु बाँकी भईरहिँदैन, अरुको मर्म दुःख पनि आभाष गर्न आफु रहिँदैन.....फेरी अरुले आफ्नो हेरचाह आफैँ गर्नु पर्छ, सबै जाने हो एकदिन; किन एकअर्कालाई सहानुभुती देखाई बस्ने...परु सकिन्छ भने माया दिने...बस बाँच्न ज्वाला पैदा गरिदिन खोज्ने...जुन चाहीँ आफुमा पैदा गरेपछि मात्र अरुमा सार्न सम्भव छ!
आज शुक्रवार राती बसेर यो लेख्दै छु....मलाई जाने हतार भईरहेछ....आजको दिन पनि छोरीहरुसँग र श्रीमतीसँग उत्कृष्ट समय बिताएर बित्यो...निकै मजा आयो! मलाई बाँचिरहन मन छैन....मर्न देखिन् डर पनि छैन....मरे’ पछि त सबै यसै पनि सिद्दिहाल्यो, यदि जीवनलाई मुल्यवान बनाउनु छ भने हरेक छेँडमा खुसी हुनु पर्ने रहेछ....हरेक छेँड आफ्नो प्रवृति मै फिर्ता जानु पर्ने रहेछ...आफ्नो भित्री चाहनामा डुबी;  मृत्यु, असफलतालाई बिर्सी हरेक पल आफैँ भईरहनु पर्ने रहेछ। 

रमेश
७२/०५/१५
                   


      

No comments:

Post a Comment