Thursday, January 21, 2016

यसपल्ट ऐना बिनै


तँपाई टुटेफुटेका, आधारहीन धारणा,
टेलेभिजन, पत्रिकाबाट पाईने भावना बिना, कार्तिकेको रहर बिना
काठमाडौँ शहर घुम्न निस्कनुहोस्;
एक-अर्काको जीवन धारणा, लेखा-जोखा बिना,
काठमाडौँ शहरतिर निस्कनुहोस्ः
तँपाईलाई यो शहरले एक्लोपना र सुखोपनाको भूमरीमा फसाउँछ।
अझ, जाडो महिना हुनु पर्छ,
धुलो तँपाईको नशा-नशा, रगत-रगतमा पस्छ, बग्छ,
जसलाई पखाल्न तँपाईसँग पानी हुँदैन,
जसलाई पगाल्न तँपाईसँग आगो हुँदैन,
जसलाई सेकाउन तँपाईसँग आईस् हुँदैन।
तँपाई एकपल्ट निस्की नियाल्नुहोस्,
यसपल्ट ऐनालाई घरमै छाडेर महसुस मात्र गर्नुहोस्,
यहाँ चुरोट तान्ने साथी भेटाउन पनि मुश्किल छ,
धुवाँ त हरतर्फ उडिरहेको हुन्छ नै,
तर सब एक्लै-एक्लै बसि तानिरहेका हुन्छन्,
ति अमूल्य डाडाँ चढाईका डोरहरु।
के-को कमी थियो र यो टुक्रामा?
यति रुखो, सुखो हुनु पर्ने त थिएन!
मैतिदेवीको गल्लीमा एउटा पागल चिचाईरहेको सुन्नुहुन्छः
"काठमाडौँ बाझों भो, नेपाल एक्लो भो,
सबै बाजा भए, बजाउने सबै हुँदा-हुँदै पनि यहाँ आफ्नै धुनको कमी भो।
यहाँ सबथोक छ, केवल आत्मामा जादु छैन,
ईश्वर फिर्ता ल्याऊ यहाँ, यसपालि ढुङ्गाको हैन!
मौका देऊ तिनलाई तिनको भित्री चाहना हेरेर,
डिग्री, धन र चिनजानको आधार छाडेर।
अनि हेर, यो ठाउँ कस्तो हुनेछ,
पाँच वर्ष मै यो ठाउँमा तारा झर्नेछ, हा..हा....तारा झर्नेछ"
तँपाई काठमाडौँ शहर त्यसरी निस्की नियाल्नुहोस्,
आशा मरिसकेको, केवल पर्खाई रहेको पाउनु हुन्छ,
जता-ततै पर्खाई, जता-ततै कुराई, जता-ततै कुरा मात्रै।
मूर्तीमा गर्व भयो, अब सब मूर्ती भयो।
निस्की हेर्नुस यहाँ,
यसपल्ट प्रतिद्धन्धीको नजर बिनै,
हरेकको आँखामा आँसुले आकार बनाएको पाउनु हुन्छः
"के यै नै हो त जीवन भनेको?"
आफ्नै आँखा छामी हेर्नुस,
त्यहाँ पनि त्यही नै पाउनु हुन्छः
के यति नै हो त मैले जानेको? 



No comments:

Post a Comment