“ल त ओन्ता,
राम्रोसँग बस्, हामी पर्सी आईहाल्छौँ”, एउटा सानो सुटकेस घरको मूल ढोकातिर लैँजादै
ओन्ताकी आमा भन्छिन्। भान्छा छिर्ने ठाउँको अगाडी उभिरहेको ओन्ता निकै नै खुसी
देखिन्छ। ओन्ताका बा पनि कपाल मिलाउँदै, सुसेल्दै आफ्नो कोठाबाट बाहिर निस्कन्छन्।
“अनि ममी...”, आमाको नजिक गएर ओन्ता भन्छ, “यसो...अब एक्लै बस्नु पर्ने छ..केई
परिहाल्यो भने...यसो पैसा छाडिदिनु न अलिकति...”। ओन्ताकी आमा ओन्ताको कुराको खिसी
गर्दै भन्छिन्, “ तँलाई कसले एक्लै छोड्छ? तँ जस्तो भर नभा’को सिलपटलाई”। बा-पनि
हाँस्छन्।
“के? को आउँछ त..त्यो
अंकल?”, ओन्ता प्रश्न गर्छ; ओन्ताका बा बाहिर निस्किन्छन्।
“अनि के त! एघार
बजेतिर आईपुग्नु हुन्छ होला!”
“पिट्नु हुन्छ त्यो
अंकलले”, ओन्ता मुख बिगार्दै भन्छ।
“तै भएर त व्हाँलाई
बोलाको नि, तँलाई ठिक पार्नु हुन्छ व्हाँले...छाडा भा’को छस्..दुई दिन अंकलसँग बसे
पछि ठाउँमा आउँछस...हामी फर्कँदा सम्म त छोरो नयाँ...”
“ओई सुनलता..छिटो गर
न..ढिला हुन्छ अहिले”, बा बाहिरबाट चिच्याउँछन्।
“ल...ल...आएँ....ल..त...बस्...खाना
अंकल आएपछि व्हाँले नै बनाउनुहुन्छ..भोक लागे बिस्कुट खा...”
“अंकलको चाहीँ केई
काम छैन कि क्या हो...ह्याँ अर्काको घर आएर बस्नलाई?”, ओन्ता सोध्छ।
“तखाना अंकल आएपछि
व्हाँले नै बनाउनुहुन्छ..भोक लागे बिस्कुट खा...”
“अंकलको चाहीँ केई
काम छैन कि क्या हो...ह्याँ अर्काको घर आएर बस्नलाई?”, ओन्ता सोध्छ।
“त्यो तेरो सरोकारको
कुरा हैन..ल...त पर्सी भेटौँला अब..”, भन्दै ओन्ताकी आमा घरबाट बाहिर निस्किन्छे।
ओन्ताको अनुहार अलिकति पनि चमक देखिदैँन; ऊ ढोकातर्फ हेर्दै टोलाउँदै उभिरहन्छ।
कोठाको खाटमा संगीत
सुन्दै पल्टिरहेको ओन्ता बाहिर ढोकाको ढकढकाहटले झल्याँस्स ब्यूँझिन्छ।
“ए ओन्ताजी ढोका
खोल्नुस्”, ओन्ता आवाज सुन्ने बितिकै आत्तेर जर्याकजुरुक उठी ढोका खोल्न जान्छ,
ढोका बाहिर मोटो जुङ्गा भएका, चस्मा लगाउने, कपाल आदि खुईलिएका अंकल गम्भीर अनुहार
लगाँउदै उभिरहेका छन्।
“के गर्दै
हुनुन्थ्यो ओन्ता जी? कति बेर भईसक्यो ढोका ठटाको..”, कडा भाषामा प्रश्न गर्दै
एउटा ब्याग बोकी अंकल घर प्रवेश गर्छन्। “म...अँ...एतिकै बसिरा’को थेँ”, आतिदैँ
ओन्ता भन्छ। अंकल ओन्ताका बा-आमाको कोठामा
आफ्नो ब्याग राख्छन् र बाहिर निस्किन्छन्।
“पढाई कस्तो चल्दै छ
त? जाँच बिगारियो रे..हैन? ओन्ताजीको ईन्जिन रिपेर गर्ने बेला भए जस्तो छ...कि
कसो?”
“अँ..एउटा
बिग्रीयो..”, ओन्ता जवाफ दिन्छ। अंकल भनेर भान्छा भित्र पसी एउटा कराईमा पानी
बसाल्छन्।
“आज चाउचाउ
खानी..बेलुकी भात खानी”, भन्दै अंकल बाथरुमतिर पस्छन्; ओन्ता भने निन्याउरो मुख
लगाई जहाँ को त्यहीँ उभिरहन्छ।
भान्छाको टेबलमा
चाउचाउको कचौराबाट अन्तिम सर्को स्वाँट्ट पारी मुख स्वेटरले पुस्दै ओन्तातिर
हेर्दै अंकल भन्छन्, “ भने पछि पढाई खतम छ?”, ओन्ता केही नबोली आफु अगाडीको खाली
कचौरा हेर्दै बसिरहन्छ।
“के-के खेलिन्छ
स्कुलमा...?”, अंकल प्रश्न गर्छन्।
अलिकति बेग्लै
प्रकारको प्रश्न भएको हुनाले अलिकति उत्साहित हुँदै ओन्ता भन्छ,
“अँ...खेलिन्छ..सबै...क्रिकेट खेलिन्छ...फुटबल खेलिन्छ...टिटी खेलिन्छ....”।
ओन्ताको कुरा सकिन
नपाउँदै अंकल थप्छन्, “ क्रिकेट खेल्ने ठाउँलाई के भनिन्छ ओन्ता जी?”
ओन्ता चारैतिर आखाँ
डुलाई एकैछिन सोचे झैँ गर्छ,केही बेर पछि हाँस्दै भन्छ, “अँ...था...थ्यो बिर्सेँ”।
“क्रिकेटको बल के-ले
बनेको हुन्छ?”, अंकल अर्को प्रश्न गर्छन्।
ओन्ता फेरी अगि झैँ
केहीबेर वरिपरी हेर्छ र अन्तमा टाउको कनाउँदै, हाँस्दै भन्छ, “थाहा छैन”।
“अनि ओन्ताजी..मलाई
टि.टी ब्याट कसरी समाईन्छ देखाईदिनु त....”।
ओन्ता फेरी अकमकिँदै
हातले केही आकारहरु बनाउँछ, अंकलको अनुहार हेरेर प्रस्ट हुन्छ..ओन्ताले कहिले
टि.टी ब्याट समातेको छैन।
“के हो ओन्ताजी..न
पढाई केई था छ...न खेलकुद केई था’ छ! था’ छ चैँ के तँलाई? खाली उभद्रो गर्यो,
बा-ममीलाई दुःख दियो...मेरो छोरा भईद्या भए तँलाई ठिक पार्थेँ म”, यसपाली रिसले
भरिएको आवाजमा अंकल भन्छन्। अंकल उठेर ब्यागबाट सुन्तला लिएर आउँछन्। सुन्तला
छोडाई खान थाल्छन्, ओन्ता सुन्तला अंकलले दिन्छन् कि भने जसो गरी हेरिरहन्छ। अंकल
सुन्तलाको बिँया मुखबाट निकाली भन्छन्, “ मान्छे..एउटा कुरामा राम्रो हुनु
पर्छ...तँ त कुनै पनि कुरामा राम्रो छैनस् त खोई? यस्तो तालले त केई पनि हुँदैन
बाबु भन्द्या छ.....मेरो छोरा..तेरो बलराम दाईलाई मैले यस्तरी हुर्काएँ कि २ क्लास
देखि त्यो कैले सेकण्ड भन्दा तल झरेन...ऐले अमेरिकन कम्पनीमा जब गर्छ, गजब फुटबल
खेल्छ; कलेज टिमबाट खेल्थ्यो, टि.भीमा पनि आ’को थ्यो तेसले खेलेको गेम...ह्याण्डसम
छ..केटीहरुले पनि मनपराँछन्, बिहे गर्नेको लाईन लागिसक्यो...तँलाई यस्तो तालले
कल्ले हेर्छ! के गर्ने विचार गर्या छस् पछि गएर?”
ओन्ता ट्वाल्ल परेर
सुन्तलालाई हेरिरहन्छ; अंकल सुन्तला मुखमा हाल्दै बोलिरहन्छनः
हेर बाबु...गरे
गार्हो केई छैन..बस पढ्नु पर्यो...मेहनत गर्नु पर्यो..नराम्रो साथी-भाईको संगत
छाड्नु पर्यो...म दिनको अठार घण्टा पढ्थेँ था’ छ? हेर...क्लासका सबलाई, परिवारका
सबलाई उछिन्ने उद्देश्य लिनु पर्छ, सबै भन्दा खत्रा हुन्छु भनेर हिँड्नु पर्छ, सबैले
डाह गरोस् न आफ्नो! तैँले त्यति गर्न सकिस् भने सबै तेरो नोकर! जो-जो ले तँलाई
हेप्या छन् नि आज भोली पैसा कमाएर ह्याँ छाती फुलाउँदै हिँड्न थाले पछि..तिनीहरुनै
तँलाई ढोग्न आउँछन्..पढिनस्..बदमासी गरि रहिस् भने त यस्तै हो..कसैले गन्दैनन्,
टेर्दैनन्, हेप्छन्।“ फेरी सुन्तलाको बियाँ मुखबाट निकाल्दै अंकल भनिरहन्छन्,
“केटी कोई मन पर्छ कि पर्दैन क्लासको?”
ओन्ता हाँस्दै भन्छ,
“अहँ गनाउँछन् तिनरु..झ्याऊ लाग्छ...हाँस्दै हाँस्दैनन् कैले पनि आफुलाई हाँसो
उठ्ने कुरामा”।
“तँ वास्ना आईरा’छस
खुब! मुर्ख! हाँस्नको लागि हो त केटीहरु? तैँले केई गर्दैनस् था’ पाईसकेँ मैले”,
यति भन्दै अंकल जुरुक्क टेबलबाट उठ्छन्, ओन्ता अंकलले खाएका सुन्तलाका बोक्राहरु
हेर्दै टोलाईरहन्छ।
आफ्नो कपाल मिलाउँदै
ओन्ताको कोठाबाट निस्कँदै अंकल भन्छन्, “ हेर् बाबु..भगवान..सगवान केई हुँदैन..जे
गर्नु छ..आफैँले गर्नु पर्छ..भगवान, बऊ-आमा, अंकल/शंकल कसैले तेरो लागि केई गर्ने
वाला छैनन्, पछि रुनु पर्ने तँ एक्लै ले हो..पछि अरुले चाहे पनि केई गर्न
मिल्दैन..तेरो घाउ तँलाई मात्र दुख्छ, तेरो समस्या तँसँग मात्रै हुन्छ”। यति भनेर
अंकल घरको मुख्य ढोका अगाडीबाट आफ्नो जुता निकालेर लगाँछन्; “म कपाल कटाउन
जान्छु..यता-उति बजार पनि डुलेर आउँछु..एक घण्टा जतिमा
फर्किन्छु...तेतिन्जेल..तैँले के गर्नु पर्यो भने, ‘समयको महत्व’ ईम्पोरटेन्स
अफ टाईम’ भनेर एसे लेख्नु पर्यो। म आउन्जेल सम्ममा नेपालीमा पनि,
ईन्गलिसमा पनि लेखेर राख्नु पर्यो बुझिस्!” यति भनेर घर बाहिर निस्कँदै गर्दा
रिसाहा अनुहार पारेर , “म आउँदा सम्म यो काम सिद्दाको रै’न छस् भने...तँलाई आज म
के गर्छु हेर्दै जा” भन्दै अंकल घरबाट निस्कन्छन्।
अंकल निस्केपछि
ओन्ता सरासर आफ्नो बा-आमाको कोठामा जान्छ र अंकलको ब्यागबाट दुई वटा सुन्तला
निकाल्छ। बाहिर ढोकाको चुकुल लगाईदिई आफ्नो कोठामा गई अरिबियन क्लासिकल सुन्दै
सुन्तला खादैँ पल्टिन्छ। आँखा चिम्म मात्र के गरेको हुन्छ, झल्याँस्स केई कुरा
सम्झी तर्सेर उठ्छ; आफ्नो ब्यागबाट एउटा कपी निकाल्छ र सम्भवत कलम खोज्न भनेर
ब्याग छामछुम पार्छ। त्यहाँ केई नभेटेपछि जुरुक्क उठेर बा-आमाको कोठाबाट एउटा कलम
लिएर आउँछ र कपीको अन्तिम पानाको शिरमा ठुलो अछेरले लेख्छ, “ importance of
time”
कलम टोक्दै केही
सोचिरहेको मात्र के हुन्छ घर बाहिरबाट आवाज आउँछ, “ ओन्ता..ओई ओन्ता”। उठी ढोका
खोल्छ, रुल मख्ख पर्दै बाहिरबाट ओन्तालाई हात हल्लाईरहेको हुन्छ। रुल ओन्तालाई तल
देखि माथी सम्म हेर्छ र हाँस्दै भन्छ, “ बौलाईस् कि क्या हो! विदाको बेला, अझ घरमा
बऊ-आमा कोई न भा’को बेला..पेन बोकेर...हाहा...होमर्क गर्न लाईस् कि क्या हो
साला...”। बाहिर वरिपरी हेर्दै रुललाई भित्र आउने संकेत दिदैँ रुल भित्र पसेपछि
ओन्ताले ढोका लगाईदिन्छ।
“साला..दुई दिन मोज
गरौँला भनेको..खतम भईहाल्यो नि...एक्लै बस्न पाईएला जीन्दगीमा पैलो पटक भनेको सब
खतम भो..त्यो साला अंकल आईदियो यार..”। रुल केही नबोली हाँसी वरिपरी हेर्दै सबै
कोठाहरु पालैपालो पस्दै निस्किन्छ। “केई पनि गर्न दिदैँन यार अंकलले...पोहोर आउँदा
त कुट्या थ्यो यार...डर लाग्दो छ..यार साला”, ओन्ता केही सहानुभुतीको आशा गर्दै
भन्छ।
“काँ हुनुहुन्छ त
ऐले”, रुल सोध्छ।
“कपाल काट्न गा’
छन्”, ओन्ता जवाफ दिन्छ।
“म गएँ त्यसो भए”,
रुल भन्छ।
“बस् न यार
एकैछिन्”, ओन्ता दिक्क मान्दै भन्छ।
“ऐले मलाई पनि
कुट्यो भने...म त फिल्म हेरौँला भनेर आ’को...साला गरीब काँ एउटा प्लेयर पनि
रैन’छ”।
“बस् न यार
एकैछिन्..अल्छी लाईरा’छ”
“के छ त अरु रमाईलो
गर्ने कुरा तेरो मा?”
“केई पनि छैन यार
खासै”, ओन्ता भन्छ।
“तेरो अंकलले केई
ल्याको होला नि रमईलो कुरा..ब्यागमा हेरौँ न”, रुल भन्छ।
“ह्या अर्काको ब्याग
के खोतली र’ने”
“टि.भी हेरौँ न
त..कि टि.भी पनि बिग्र्या छ”, रुल खिसी गर्दै भन्छ।
“के हर्ने यार
टि.भी! केई त रमाईलो कुरा दिदैँन...तै पनि हेर्ने भए हेरौँ न त”, ओन्ताले यति
भनेपछि दुवैजना ओन्ताका बा-आमाको कोठामा पस्छन् र टि.भी हेर्न थाल्छन्।
टि.भीमा कुनै हिन्दी
च्यानलमा छोटो लुगा लगाएकी हिरोईनलाई हिरोले किस गरिरहेको दृश्य हेर्दै रुल भन्छ,
“यार साला ओन्ता...मलाई पनि पछि यस्तै हिरोईनलाई गर्नु छ यार..पैसा भए’सि यस्तो त
जति भने त्यति आईहाल्छन्”। ओन्ता भन्छ, “अंकल पनि त्यई भन्दै थे अगिन”।
“तेरो अंकलले पनि
गरे होला है यस्तोलाई? तँ चैँ के गर्छस् पछि पैसा भए’सि?”, रुल उत्साहित हुँदै
सोध्छ।
“मसँग त कैले पैसा
हुँदैन यार! तै पनि यस्तो भन्दा कुनै अनकन्टार ठाउँमा गएर एक्लै बस्नु मन ला’छ
यार”, ओन्ता छाती फुलाउँदै भन्छ।
“साला..गरीबको सोचै
गरीब....अनकन्टार ठाउँमा बस्न पनि पैसा चाईँदैन साला!”, रुल भन्छ।
ओन्ता केही पनि
नबोली चुपो लागेर बस्छ; रुल च्यानल चेन्ज गरिरहन्छ, कुनै जनावरहरु देखाईरहेको
च्यानलमा आएर अडिन्छ। एकैछिन हेरेपछि ओन्ता प्रश्न गर्छ, “ ओई रुल तँलाई कुन जनावर
मन पर्छ? कुन जनावर हुन पाए जस्तो लाग्छ?” , रुल केई सोच्दै नसोची झ्वाट्ट जवाफ
दिन्छ, “मलाई..जर्मन सेपर्ड हुनु मन छ यार..कत्रो हुन्छ तिनरु! त्यै पनि
प्रकृतिसँग पनि त्यै कुकुर छ..त्यसैले पनि होला.....तर...हैन यार, म मान्छे नै ठिक
छु यार...तँलाई था’ छ..मान्छे पनि जनावर नै हो रे नि..बाँदरबाट बनेको..म मान्छेनै
ठिक छु, सब्भन्दा बलियो..साला जे पनि गर्न सकने...तँ चैँ के बन्थिस् चिप्लीकिरा?”
केही बेर टेलिभिजन
तिर हेर्दै टोलाएपछि ओन्ता भन्छ, “म त मान्छे हुन्न थेँ यार! मान्छे झुर
हुन्छ..जसको पनि चासो राख्ने साला..म त हुन पाए सार्क हुन्थेँ, सबै माछा खान पाउने..मान्छे
पनि तर्सिने..कि त पाईथन हुन्थेँ..कि त कनसुत्लो हुन्थेँ..साला..मान्छेलाई दुःख
दिदैँ हिँड्ने..सबको कानमा छिर्दिने..हाहा”।
“एउटा छान् न साला!
कति धेरै छान्या..तेरो पाईथनलाई त जुमा राखिहाल्छ मेरो मान्छेले...तेरो सार्कलाई
पनि एक्व्यारियममा राख्छन् रे बाहिरतिर....तेरो कन्सुत्लो त एक चोटी किल्चे पछि
गयो..साला झुर-झुर जनावर छान्छ साला गरीब!”, रुल आफ्नो प्रतिकृया दिन्छ।
ओन्ता फेरी केई बेर
टोलाएपछि भन्छ, “ साला जनावर हैन..अरु कुरा हुन पाए भूकम्प हुन्थेँ यार...पछि
पाईथन चैँ पाल्नु पर्ला”। ओन्ताले यति भनिसकेपछि रुलले फेरी च्यानल चेन्ज गर्छ र यसपल्ट
दुईटा हाती सम्भोग गरिरहेको च्यानलमा आई रोकिन्छ, एकैछिन दुवैजना टोलाउँछन् च्यानल
हेर्दै र रुल भन्छ, “तँ गर्न पाए...”, यतिकैमा बती झ्याप्प जान्छ। “साला गयो
बती...कुईया देश..बल्ल मजा आउन थाल्या थ्यो”, रुल दिक्क मान्दै भन्छ। ओन्ता एकैछिन
कतै टोलाईरहेको के हुन्छ अकस्मात झसंग भई आतिदैँ भन्छ, “
ल...साला...बिर्स्यो..अंकल आउने बेला भो’ साला...लेखिएन केई पनि..तँ मुर्खको
कुरामा लागेर...मार्छ यार मलाई...”
रुल पनि झ्वाट्ट
उठ्छ र आङ तान्दै, हाई गर्दै भन्छ, “ल..म गएँ...”, ओन्ता रुलको पाखुरा समाएर भन्छ,
“न जा न बस्...”। रुल भन्छ, “लेख न चुपो लागेर भ्याई हाल्छस् नि”। ओन्ता भन्छ, “
हैन लेख्न भ्याउँदैन अब..एउटा आईडिया छ...तैँले गर्नु पर्छ”। रुल अलि आतिदैँ
सोध्छ, “के?”
“हेर् अंकलले यसैपनि
दुई दिन बाँच्न दिने हैन...अंकलले तँलाई देख्या छैन..तँ ढोका बाहिर पिलर ‘नेर
लुकिरख..बुढा आउँछन्, म ढोका खोल्दिन्छु...भित्र पस्ने बितिकै तँ पछाडीबाट धकेल्दे..लडाईदे..बोराले
मुख छोप्दे...अनि भक्कु चुट..मलाई ‘नि कुटे झैँ गर्...ब्याग बोक अंकलको ह्याँबाट
निस्की..म चोर-चोर भन्दै कराउँछु..”, ओन्ता उत्साहित हुँदै भन्छ।
“अँ..अब त्यै काम
बाँकी छ...मलाई उल्टो गोद्यो भने नि...”, रुल भन्छ।
“ह्या कुट्दैनन्,
धेरै बलियो छैन अंकल.तेरो तेत्रो बोसो के काम? .के रोग पनि लागेको छ रे...मजा पनि
आउँछ के साला! ब्याग तैँले लगेपछि बुढा तेई खोज्न हिँडीहाल्छन्, ह्याँ बस्दा नि
बस्दैनन्...त्यसपछि दुई दिन मस्ती”, ओन्ता झनै उत्साहित हुँदै भन्छ।
“मलाई के फाईदा नि
यसबाट?”, रुल जिग्यासु हुँदै सोध्छ।
“ब्यागमा सुन्तला
छ...खा...अनि ह्याँ खाली भएपछि जो-जो केटी ल्याउनु छ ल्या..म केई भन्दिन..”, ओन्ता
शान्त भएर रुललाई फकाउँछ। रुलपनि सोच्दै, उत्साहित हुँदै सोध्छ, “साँचै हो??बियर
ल्याएर नि खाने हो?”
ओन्ता हाँस्दै हुन्छ
भनेर टाउको हल्लाउँछ।
“पैसा पनि लि’राख
ब्यागबाट”, ओन्ता अर्थ्याउँदै जान्छ। दुवैजनाले एकैछिन एकअर्काको मुख हेरा-हेर
गर्छन् र हात मिलाउँछन्। “तँ दाहिने तर्फ पिलर पछाडी लुक”, भन्दै ओन्ता भान्छाबाट
एउटा बोरा ल्याई रुलको हातमा थमाउँछ। रुल बोरा बोकेर बाहिर निस्कन्छ।
आमा-बा को कोठाको झ्यालबाट
बाहिर तर्फ नियालीरहेको ओन्ताले सडकपारी अंकललाई देख्ना साथ झ्यालको ठायाक्कै
बाहिर उभिरहेको रुललाई ईसारा गर्छ; रुल बोरा लिएर परबाट आउने मान्छेले नदेख्ने
पिलर पछाडी लुक्छ। अंकल ढोका अगाडी आई उभिन्छन् र ओन्तालाई बोलाउँछन्। ओन्ता अलि
आतिएको जस्तो देखिन्छ तर लामो सास फेर्दै गएर ढोका खोलिदिन्छ; अंकल ‘लेखिस् त’,
भन्दै दुई कदम भित्र मात्र के छिरेका हुन्छन्, रुल पछाडीबाट कुद्दै आउँछ र एउटा
मोटो लौरोले अंकलको टाउकोमा बेस्सरी बजाउँछ; अंकल ‘अया’ भन्दै कराउँछन्, आफ्नो
टाउको समाउँछन्; रुलले फेरी एक पल्ट जोरसँग लौरोले अंकलको टाउकोमा हिर्काउँछ जसपछि
अंकल हातले टाउको समाउँदै भुईँमा लड्छन्। अंकल ढल्ना साथ ढोकाको कुनामा लौरो
राखिदिई रुलले गएर अंकलको मुख बोराले छोपिदिन्छ र १०-१५ चोटी बेस्सरी मुखमा मुका
हान्छ; अंकल छटपटाईरहन्छन्, ओन्ता यो सब हेरिसकेपछि ‘चोर-चोर बचाऊ’ भन्दै कराउन
थाल्छ। ओन्ता कराएपछि रुल ओन्तातिर हेर्छ, ‘मलाई पनि पिटे जस्तो गर्’ भन्दै ओन्ता
रुललाई ईसारा गर्छ। रुल अंकललाई भुईँमै
छाडी हाँस्दै ओन्तालाई नकली पिट्न थाल्छ; ओन्ता अया-अया भन्दै कराईरहन्छ।
ओन्तालाई नकली
हानिसकेपछि, अंकलकहाँ गई फेरी चार-पाँच लात अंकलको मुखमा हानी, ‘म अब सबै कुरा
चोर्छु..हाहाहा’ भन्दै रुल बा-आमाको कोठामा पसी अंकलको ब्याग मात्र बाहिर लिएर
निस्कन्छ। अंकलको मुख अझै बोराले छोपिरहेको हुन्छ, उनी टाउको समाउँदै कराईरहेका
हुन्छन्; रुल फेरी ओन्ताको नजीक गई ओन्ताको हात मिलाई ओन्तालाई कुटे जस्तो गर्छ,
ओन्ता पनि ‘ मार्यो मोराले बचाऊ-बचाऊ अंकल’ भनी कराईरहन्छ; उसको आवाजमा ठट्टा
प्रस्ट सुनिन्छ।
दुई जना त्यसरी केही
बेर सम्म जिस्कीरहेका मौकामा अंकल पछाडीबाट उठेर आउँछन्, आफ्नो मुखबाट बोरा
निकाल्छन् र दुवैलाई मर्ने गरी एक-एक मुका मुखमा हान्छन्, एकै मुकाले दुवै-जना
भुँईमा बुर्लुक्कै ढल्छन्। “तँ..साला पाजीहरुलाई मैले जान्या छ”, भन्दै रिसले भकभक उम्लिएका अंकल केही बेर पहिले रुलले
राखेको मोटो लठ्ठी लिन तिर जान्छन। लठ्ठी बोकी आईरहेका बेला, आत्तिएको रुल जुरुक्क
उठ्छ र फटाफट कुद्दै भान्छाबाट कुर्सी लिएर आई ‘ I Am IRON MAN’ भन्दै
कुद्दै गएर त्यो कुर्सीले लठ्ठी बोकी आईरहेका अंकलको टाउको आँखा चिम्म गरी बेस्सरी
हानिदिन्छ; तेत्रो मोटो कुर्सी लागेपछि अंकल केही गर्न नसकी ठाउँको ठाउँ नै
ढल्छन्। “तैँले मलाई कुट्या हैन!”, भन्दै रुल चिच्याँउदै अंकलको छातीमा भुँईमा
लडेको लठ्ठीले १०-१५ पल्ट हान्छ; जसबाट अंकल एक ईन्च पनि हल्लिन छाड्छन्।
धेरै बेर सम्म
दुवैजना भुईँमा लडिरहेका अंकललाई हेरिरहन्छन; केही हलचल नदेखेपछि ओन्ताले अंकलको
मुटुमा हात राख्छ र भन्छ, “ओई..साला..मरे कि क्या हो अंकल”। रिसले फुलेको रुलको
अनुहारमा एक्कासी त्रास देखिन्छ। “काँ मर्नु! धेरै हानेकै छैन”, भन्दै रुलले फेरी
३-४ पल्ट लठ्ठीले अंकलको छातीमा हान्छ, अंकल डेग चल्दैनन्। एकैछिन फेरी अंकललाई
हेरिसकेपछि रुल लामो सास फेर्दै भन्छ, “ मरे जस्तो छ”। दुवै जना एक-अर्कालाई धेरै
बेर सम्म हेर्छन्, डरले थुक निल्छन्। “ के गर्ने साला! वर्वाद भईयो त”, आतिदैँ
ओन्ता भन्छ। “म त हिँडे अब...तैँ फस”, भन्दै रुल फटाफट घर बाहिर निस्कन्छ, ओन्ता
केही पनि नबोली रुल र अंकललाई हेरिरहन्छ। रुल निस्किएपछि अंकललाई हेर्दै
टोलाईरहन्छ, अनुहार केही भाव देखिँदैन।
२ मिनेट कति पछि रुल
फेरी केही बोल्दै भित्र पस्छ, “साला...जे भए पनि..जति मुर्ख भए पनि...जति गरीब भए
पनि..तँ साथी त साथी नै होस्, ठिकै छ..सँगै फसौँला”। रुलले त्यति भनेर पसिसके पछि
ओन्ताको अनुहारमा अलिकति भए पनि चमक फर्किन्छ। “ओई ओन्ता..के टोलाईरा’..आईरन छ तँ
गरीब सँग? छ भने निकाल..मैले टि.भीमा हेरेको छु..छातीमा टँसाईद्यो भने हार्ट-पल्स
फिर्ता आउँछ रे!”, आफ्नो ज्याकेट खोल्दै रुल भन्छ। ओन्ता हतनपत्त बा-आमाको कोठामा
पस्छ र केही बेर पछि भन्दै आउँछ, “साला..बती छैन”। रुल केही बेर टोलाउँछ र
उत्साहित हुँदै भन्छ, “ ओई..रोटी पकाउने तावा त होला नि...कि त्यो पनि छैन..साला
गरीब!”। “छ” भन्दै ओन्ता भान्छामा पस्छ र ग्यासमा तावा तताँउछ।
अंकलको सर्ट खोली
दुई केटा “भगवान” भन्दै तातेको तावा अंकलको छातीमा टँसाईदिन्छन्। एकछिन आखँ चिम्म
गरी लामो सास फेर्छन्, केही हलचल नदेखेपछि रुलले त्यो तावाले ब्वा.-ब्वाङ अंकलको
छातीमा हान्छ; केही पनि हुँदैन। “मरेछ यार साँचिकै”, रुल भन्छ। “के गर्ने त यार
अब? सके सम्म न्याचुरल देथ देखाईदिउम् न......के गर्न सकिएला?”, ओन्ता
प्रश्न गर्छ। “के गरी देखाउने न्याचुरल देथ ? मुख त्यस्तरी सुन्या’छ” रुल
झोकिँदै भन्छ। “अँ..त्यो तावा अनुहारमा हाल्दे न...सुन्नेको छोपिन्छ क...”,
ओन्ताको कुरा सकिन नपाउँदै रुलले त्यो तावा अंकलको मुखमा हालिदिन्छ; अनुहार डढ्न
थाल्छ। “ के गर्ने यार अब? सुन्नेको त हराएन त..अनुहार झनै कालो भो..यसरी न्याचुरल
देथ त देखिदैन जस्तो छ!” ओन्ता आतिन थाल्छ। केही बेर सम्म सोचे पछि रुल भन्छ,
“अब यसो गरौँ न त...आगो लगाईदिउम न त साला बुढालाई.....आनन्दै”। “काँ यार...आगो
लाईदिए भने फेरी सबै घर आगो लाउनु पर्छ...”, फेरी ओन्ताको कुरा सकिन नपाउँदै रुल
भन्छ, “ हुन त हो..गरीबको भा’को एउटै कोठा...त्यो पनि जान्छ फेरी”। “के गर्ने
सकिन्छ त यार अरु?” भन्ने ओन्ताको प्रश्नको जवाफ तुरुन्तै अर्को प्रश्नबाट रुलले
दिन्छ, “ माथी को बस्छन्?”, “छन् मान्छेहरु”, ओन्ता जवाफ दिन्छ। “माथी छतबाट
खसाईदिउम न त”, रुल भन्छ। “अँ....छतबाट खसाउन्जेल..फेरी अंकल कराएको आवाज आउनु
परेन मुर्ख?” ओन्ता जोसिँदै भन्छ। “के गर्ने त त्यसो भए?”, अब रुल आतिदैँ प्रश्न
गर्छ र आफैँ केही बेर पछि जवाफ दिन्छ, “भागौँ’। ओन्ता केही बेर टोलाउँछ र भन्छ,
“ईन्डिया छिरौँ, बुढाको पैसा लगौँ...कैले नफर्किउम....पक्डिदाँ पनि पक्डिदैनन्,
ठुलो छ’रे ईन्डिया त”। ओन्ताको उपाय सुनेपछि अलि खुसी हुँदै रुल भन्छ, “ठिकै छ नि
त....”।
ओन्ता अंकलको ब्याग
छामछुम गर्न तिर लागिरहेकै हुन्छ, तेतिकैमा रुल भन्छ, “ ओई ओन्ता! रिस्क
नलिउम....पछि मेहनत गरेर तेरो बा-आमालाई पैसा दिउँला...म पनि दिन्छु...मजदुरी
गरौँला, भाँडा माझौँला.....आगो लगाईदिउम...अनि हामी निस्क्युम”। रुलको कुरा
सुनेपछि ओन्ता केही बेर टोलाउँछ, त्यसपछि टाउको हल्लाउँदै भन्छ, “ लौ त ...ठिकै छ
त्यो पनि.....तर मेहनत गरेर बा’ लाई दिनु चैँ पर्छ है? धेरै गार्हो छ...अंकलले ‘नि
अगिन भन्या थे...’तैँले मेहनत गरिस भने पैसा कमाउछस्’ भनेर....साला अति मेहनत
गर्ने हो आज देखिन्”। यति भनेर भावुक हुँदै ओन्ता भान्छामा छिर्छ। “ओई रुल! तर
कसरी आगो लाईदिने?”, भान्छाबाट ओन्ता प्रश्न गर्छ। “कागज छ हैन? किन त्यो पनि
छैन?”, रुल सोध्छ। “छ”, भन्दै ओन्ता आफ्नो कोठाबाट पत्रिका मुठो बोकेर आउँछ। रुलले
एक-एक गर्दै पत्रिकाहरु अंकलको प्यान्ट -सर्टभित्र हालिदिन्छ र अन्तमा खुट्टा मोजा
भित्रको कागजमा सलाई सल्काईदिन्छ। “जौँ यार! अब हामी....यस्तै हो
जीन्दगी....जीन्दगीमा थुप्रै कष्ट सहन पर्छ भन्छन्”, ओन्ता भावुक हुँदै भन्छ; दुवै
जना एक-अर्कासँग हात मिलाउँछन्। हात मिलाएर दुवै जना मुख्य ढोका सम्म के पुगेका
हुन्छन्, अलि-अलि बलेको आगो झ्याप्प निभ्छ। पछाडी फर्की आगो निभेको देखे पछि फरी
एकैछिन अंकलतिर हेर्दै दुवै जना टोलाउँदै बस्छन्; ओन्ताको टोलाउने क्रम जारी
भईरहेको बेला रुल भने जंगीदै लठ्ठी समात्छ र फेरी अंकललाई ब्वाङ-ब्वाङ हान्न
थाल्छः मुखमा, छातीमा। “साला...केई गरे पनि हुँदैन यार...जौँ ईन्डिया भागौँ”,
भन्दै रुल ढोकातिर फर्किन्छ, उभिरहेको ओन्ता पनि “जौँ...साला...एउटा अत्याचारीलाई
मारेको त हो नि....भगवान नमान्ने मान्छेलाई.....भगवान छैन भन्थ्यो”, भन्दै ढोका
खोल्छ।
ढोका खोलेर दुई केटा
बाहिर निस्किन मात्र के लागेका हुन्छन्, गितार हातमा बोकेको एक मान्छे टुप्लुक्क
आईपुग्छ। रुलले सिधै सोध्छ, “के भो?”, मान्छे जवाफ दिन्छ, “ओन्ता..बाबु हैन?अंकल
काँ हुनुन्छ?”, रुलले फेरी केही नसोची सिधै जवाफ दिन्छ, “ मरे”। ओन्ता कुरा
मिलाउने कोसिस मात्रै के गर्न आँटेको हुन्छ, त्यो मान्छे सरासर भित्र पस्छ र भन्छ,
“ लौ! भर्खर सम्म ठिक हुनुन्थ्यो त....तर विचरा! भन्दै हुनुहुनुन्थ्यो....विरामी
छु.....जुनसुकै बेला पनि जे पनि हुन सक्छ भनेर.....त्त्त्त्त्तत्त्त.....”।
ओन्ताको गालामा हात राख्दै मान्छे भन्छ, “भगवान जस्तै हुनुन्थ्यो तँपाईको अंकल
बाबु....कसरी? अकस्मात! के भयो मुखमा? हस्पिटल लगौँ.....ठिक भईहाल्छ कि! कुनी के
रोग लाग्यो भन्दै हुनुन्थ्यो अगिन”। “अँ...हामीले बचाउन खोज्या हो....तातो तावा
छातीमा हालेर सास फिर्ता ल्याईदिन खोज्या त हो....उठ्नु भएन....तँपाई चैँ को?”,
रुल गम्भीर हुँदै भन्छ। रुलको कुरा सकिने बितिकै मान्छेले गितार देखाँउदै भन्छ,
“अगि आउनु भा’ थ्यो...मेरो पसलमा...भतिजको लागि गितार देखाउनु भन्दै...पैसा दिनु
भा’थ्यो...म अहिले लिएर जान सक्दिन......२ बजेतिर ल्याईदिनु घरैमा भन्नु
भा’थ्यो......’मेरो भतिज बेग्लै छ...अचम्मको छ....ऐले सबैले हेप्या छन्...हेर्नु न
यो गितार पाएपछि यस्तो हुन्छ त्यो! पछि आफैँले गाना बनाउन थाल्छ...मैले बुझिसकेको
छु’.....भन्दै जानु’भो.....तर यति चाँडै हेर.......विचरा.....”। मान्छेको कुरा
सुनिसकेपछि दुवै केटा एक-अर्काको अनुहार हेराहेर गर्छन, ट्वाल्ल पर्छन्...धेरै
बेरसम्म। “दाई लै जौँ न त हस्पिटल...बाँचिहाल्नु हुन्छ कि!”, रुक ट्वाल्ल पर्दै
भन्छ।
आर्यघाटमा अंकलको
चिता जलिरहेको छ। छेउँको पिढीमा ओन्ता, रुल र ओन्ताका बा-आमा अंकलकी श्रीमतीको
कुरा सुन्दै बसिरहेका छनः
व्हाँलाई भा’को चैँ
‘हार्पकथेटिज्’, दिमाग फ्रिज हुने र मुटु चल्नै छाड्ने। ‘हार्पकथेटिज्’
फेरी ३ चोटी हुँदा...तेस्रो पटकमा सिधै डेथ। दुई पल्ट भईसकेको
थियो...अकस्मात मुटु वन्द हुन्छ, केई रियाक्सन हुदैन; यात्रा गर्दा हुने चान्स
एकदमै ज्यादा हुन्छ। यो पल्ट पनि नजानु..नजानु भनेर हात जोड्दा, खुट्टा
ढोग्दा पनि, ‘मेरो भतिजोलाई मैले केई दिनु पर्छ...मैले सँधै नराम्रो मात्र
गरेको छु....यसपल्ट त्यसलाई म चकित पार्दिन्छु.....त्यसलाई मैले केई दिनु
पर्छ,त्यसैले मलाई केई हुँदैन’ भन्दै हिँड्नु भो......थ्याङ्कस् है
छोराहरु तिमर्ले कोसिस गरिदियौ, माया गर्यौ आफ्नो अंकलको।
यति भनेर अंकलकी
श्रीमती रुँदै ओन्तालाई अंगालो मार्छिन्। बा-आमा पनि ओन्ताको टाउकोमा हात राखेर
ओन्तालाई स्यावासी दिन्छन्। “धन्य छोरा आई एम प्राउड अफ यु अन्तिम पल सम्म
तैँले अंकललाई माया गरिस्”, ओन्ताका बा भन्छन्। “ सबैभन्दा लास्ट सम्म माया
भतिज र भतिजको साथीले गर्यो...अंकललाई त्यो भन्दा बढी खुसी के कुरामा लाग्यो होला
र”, भन्दै अंकलकी श्रीमती फेरी रुन्छिन्।
कसैले बलाएपछि
बा-आमा र अंकलकी श्रीमती अन्तै जान्छन्, जानु अघि सबैले फेरी एकपल्ट ओन्तालाई
गालामा सुमसुमाउँछन् र रुललाई धन्यवाद भन्छन्।
रुल र ओन्ता चितामा
हेर्दै, टोलाउँदै केई नबोली उभिरन्छन्; केही बेर पछि रुल भन्छ, “ अंकल is
an IRON MAN”
ओन्ता भन्छ, “WAS“। फेरी केही समयको मौनता पश्चात ओन्ता भन्छ,
“मेरो अंकल मजाको मान्छे हुनुन्थ्यो”, रुल टाउको हल्लाँउदै भन्छ, “मजाको
मान्छे..... लेजेण्ड”
No comments:
Post a Comment