Tuesday, December 29, 2015

पाँच साथी सारेगमप




काठमाडौंको कुनै गल्लीको छिंडींमा,
दश वर्ष पहिले
पाँच साथी दैनिक,
दैनिक आठ-दश घण्टा सरगम रियाज गर्थे रे।
सँगै बसि, श्रुती-बक्स घन्काई,
सँधै रियाज गरि बस्थे रे।

पछि पहिलो साथीः
कुनै आफ्नो मान्छेको सम्पर्कले गर्दा बलिवुड पुगेछ,
५-६ वर्ष फिल्ममा संगीत भर्ने काम गरेछ,
पछि नयाँ ट्यालेन्ट आएपछि घोक्राईएछ।
आज दश वर्ष पछिः
संगीत देखिन् दिक्क भई
संगीतबाट सबैभन्दा परको कर्म,
राजनिती गर्छ रे!

दोस्रो साथीः
केही महिना पछि संगीतबाट केही हुनेछैन भनी बुझी,
ईन्जिनियर बन्न गएछ,
आज दश वर्ष पछिः
ऊ करोडपति भई,
२-४ वटा घर ठडाई बसेको छ’रे!
तर उसको कुनै पनि घरमा संगीत बज्दैन रे!

तेस्रो साथीः
आवाज राम्रो भएकोले र अलि उच्छृङ्गल भएको ले,
पप-रक ब्यान्डमा गाउन थालेछ,
देश-विदेश घुमेछ,
मोजमस्ती गर्न थालेछ।
पछि ३-४ वर्ष मै ब्यान्ड टुटे छ;
त्यो सँगै ऊ भित्रको सङ्गीत प्रेम सबै फुटेछ।
आज दश वर्ष पछिः
कुनै धुन सुन्यो भने पनि कान थुन्छ रे!

चौथो साथीः
बोधो सरगम मात्र सिकेर के बस्नु भनी,
आधुनीक/लोक/दोहोरी गाउन तिर लागेछ।
एउटा भन्दा गीत हिट नभएपछि,
दिक्क मानेर,
‘नेपालमा संगीतकारको केही मूल्य छैन’ भन्दै,
अमेरिका तिर उढेछ।
पैसा कमाएछ।
आज दश वर्ष पछिः
सङ्गीत सुन्नी/गाउनी केही गर्न भ्याउँदैन रे!

पाँचौ साथीः
केही पनि भएनछ।
आज दश वर्ष पछि पनिः
त्यही कोठामा एक्लै बसेर,
अझै सरगम रियाज गरिरहन्छ रे!



No comments:

Post a Comment