Thursday, February 18, 2016

नुवान हात्ती


'नुवान' हात्तीलाई पर्शुराम काजी एक्लैले पालेका थे। नुवान पर्शुराम काजिकै घर पछाडी बनाईएको चौर जस्तोमा एक्लै बस्थ्यो। उस्लाई ऊ छावा छँदा नै पर्शुराम काजीले भारतबाट ल्याएका थे। नुवानको दिनचर्या सँधै एउटै हुन्थ्यो...बिहान उठ्ने बित्तिकै चार घण्टा सम्म मान्छेहरुलाई ढाडमा राखेर जंगल, खोला घुमाउनु पर्थ्यो जसपछि बल्ल उसले खान पाउँथ्यो। उस्को आहार पनि अचम्मको थ्यो, पर्शुराम काजीले उस्लाई केवल एउटै प्रकारको बोटका पातहरु मात्र खान सक्ने बनाएका थे जुन बोट थाईल्याण्डबाट महगाँईएको थ्यो र नेपाली जंगलमा पाईदैन थ्यो। ति बोटहरु पर्शुराम काजीको घर पछाडी रोपिएका थे। नुवानले ति बोटका पातहरु बाहेक केई पनि खादैँन थ्यो। उस्लाई अरु पनि केई खान मिल्ला भन्ने कुराको त पत्तै थेन। त बिहान देखि चार घण्टा भोकै जंगल वरपर मान्छेलाई ढाडमा राखेर घुमाईसकेपछि बल्ल नुवानले आधा घण्टा खाने समय पाउँथ्यो जसपछि फेरी दिनभर मान्छेहरुलाई ढाडमा राखेर घुमाउन लैजानुपर्थ्यो। त्यसपछि सिधै राती उस्ले फेरी खान पाउँथ्यो। ऊ सँधै निकै नै थकित र गलेको हुन्थ्यो, अरु हात्तीको तुलनामा ऊ निकै नै दुब्लो थ्यो। खाना खाएर राती सुत्ने बेला छुम्रे नाम गरेको उस्को सानो मुसा साथीसँग भन्थ्यो, "बाँच्न कति गाह्रो छ हगि छुम्रे?"
छुम्रे मुसाले उस्लाई पर्शुराम काजीसँग अलि धेरै खानेकुरा माग न भनेर सिकाउँथ्यो तर ऊ भने त्यसो गर्न डराउँथ्यो। उस्ले खान सक्ने एक मात्र खानेकुरा पर्शुराम काजीसँग मात्र भएको हुनाले उस्लाई लाग्थ्यो पर्शुराम काजीलाई चिढाए भने उस्ले त्यो पनि खान न-पाउन सक्छ।
एकदिन सँधै झैँ मान्छेहरुलाई ढाडमा राखेर जंगल घुमाउन जाँदाको कुरा होः
मान्छेहरु फोटो खिच्न भनेर खोला छेउँ ओर्ले छन्। उस्को माउते रामहरिलाई दिसा आएकोले उस्लाई पानी पिउन छोडी रामहरि अलि परको झ्याङमा गएछ। मान्छेहरुले फोटो खिच्न र रामहरिलाई दिसा गर्न निकै समय लागेपछि नुवानलाई अल्छी लाग्न थालेछ। वरपर के रै'छ त हेरौँ न त भन्दै ऊ विस्तारै डुल्न हिँडेछ। पूर्व पट्टी एउटा घना जंगल थ्यो जता ऊ पैले कैले पनि गएकै थेन। 'नयाँ ठाउँ गई हेरौँ न त', भनी ऊ त्यो जंगल भित्र पसेछ। करिब दश मिनेट जति जंगल भित्र सरासर हिँडेपछि उस्लाई फर्किनु मन लागेछ...आएको बाटो था' छँदै छ नि भनेर ढुक्क भएको नुवानले त फर्किने बाटो पत्ता लाउनै सकेनछ। एता गर्दो रै'छ, उता गर्दो रै'छ तर उस्ले बाईर निस्कने बाटो पत्ता लाउनै सकेनछ। बाटो पत्ता नलाएपछि रामहरिले भेट्टाउला भनेर ठुलो स्वरले कराउन थालेछ...तर उस्लाई लिन कोई पनि आएनछन्। जंगलका बाघ, सर्पहरुको बारेमा उस्लाई राम्रोसँग था' भ'को हुनाले उस्लाई रामहरि र उस्ले ढाडमा बोकेर ल्याएका मान्छेहरुको पनि माया लाग्न थालेछ। जे पर्ला-पर्ला भनेर उस्ले एउटै दिशामा मात्र अगाडी हिँडिर'ने निधो गरेछ।
रात पर्दा सम्म पनि बाईर निस्कने बाटो भेटिने केई छाँटकाँट नदेखेपछि नुवानलाई डर लाग्न थालेछ। जीवनमा पैलो पटक राती घर बाईर जो थ्यो। डर सँग-सँगै उस्लाई भोक पनि लाग्न थालेछ। आफुले खान मिल्ने एक मात्र खानेकुरा नपाएपछि मरिन्छ भन्ने लागेपछि, घर सम्झि ऊ एउटा रुखमा अँडेस लाई घ्वाँ-घ्वाँ रुन थालेछ। उस्को ठूलो रुवाईको आवाजले नजिकैको दुलोमा सुतिरहेको रंगे नाम गरेको अजिंगरलाई ब्युँझाईदिएछ। 'को रै'छ राती राती रुने?', भन्ने प्रश्नको उत्तर खोज्न दुलोबाट बाईर निस्केर च्याउँदा एउटा ठूलो हात्तीलाई रोईरहेको देखेर रंगेलाई अचम्म लागेछ।
" ए हात्ती दाई...तँपाई किन रो'को? हात्ती भएर नि रुने हो कैँ!", रंगेले नुवानलाई भनेछ।
"हैन भाई...म जंगलमा हराएँ...घरको बाटो था'छैन..पैलो पटक एता आ'को...भोक अत्ति नै लागिसक्यो...म त मर्छु होला...कति गाह्रो छ बाँच्न ", भनेर नुवान फेरी रुन थालेछ।
नुवानसँग उचाई मिलाउन रंगे नजिकैको रुखमा चढेछ र भनेछ,
" एतिका धेरै रुखहरु, बिरुवाहरु छन् त....किन नखाईबसेको ? काँ गाह्रो छ र हात्तीलाई बाँच्न......"
रंगेको कुराको नुवानले जवाफ दे'छ, " मैले काँ एस्तो जे-पाईतेई खान सक्छु र...."
नुवानको कुरा सुनेपछि अचम्म मान्दै रंगेले भनेछ,
" लौ....अरु हात्तीले त खान्छन् त यो सबै कति मजाले....मैले आफ्नै आखाँले देख्या छु...."
"हैन होला...मैले त्यो लामो पात बाहेक केई पनि खान सक्दिन रे..भन्नुहुन्छ पर्शुराम काजी अंकलले...", नुवानले भनेछ।
"खाई हेरे भै'गो नि एकपल्ट", रंगेले आवहान गर्न थालेछ।
" ह्या...मलाई सानै देखि पाल्ने मान्छेले भनेको कुरा ठिक त होला नि....", नुवानले जिद्दी गर्न थालेछ।
तर रंगेले पनि नुवानलाई अझै धेरै बेर सम्म अरु कुरा खाई हेर्न जिद्दी गरेपछि छेउँऐको एउटा रुखबाट हाँगा भाची नुवानले खाएछ...चपाउँदै जाँदा उस्लाई मिठो लाग्न थालेछ र विस्तारै उस्को पेट पनि भरिन थालेछ।
"ओहो....रंगे भाई...एस्ले त पेट भरिन थाल्यो त मेरो...क्या मिठो पनि रै'छ...त्यो लामो पात भन्दा....तर केई नराम्रो गर्ने हो कि?", अर्को एउटा पात चपाउँदै नुवानले रंगेसँग भनेछ।
नुवानको त्यो कुराको रंगेले जवाफ दे'छ,
" तैट...केई हुँदैन...हाम्लाई प्रकृतिले नै खानेकुराको वन्दोवस्त गरिदिएको हुन्छ...त्यो त तँपाईलाई आफ्नो काम गराउनको लागि झुठो बोलेर पो त्यो मान्छेले त्यसो बनाएको हो त.....सबै जनावरसँग त्यस्तै गर्छन् त्यो मान्छेहरुले...सानो मै लगेर पाल्छन् अनि आफुले चाहेको जस्तो बनाउछन्....आफु बलियो हुन लाई...."
रंगेको कुरा सुनेर नुवानलाई अचम्म लागेछ। उस्ले फेरी एउटा हाँगा भाँची पात चपाउँदै, हाँस्दै भनेछ,
" आहा! ह्याँ त सबैकुरा सजिलै पाईँदो रै'छ हगि...मिठो पनि....खानको लाई मान्छेको चाकडी पनि गर्न नपर्ने, उस्को काम पनि गर्न पर्ने...त्यो मान्छेले कति धेरै काम गराई, कति थोरै खान दिन्थ्यो....पिटी, पिटी....बाँच्न त गाह्रो छैन रै' छ है रंगे भाई?" नुवानको प्रश्नको रंगेले उत्तर दे'छ,
"छैन...बस् मान्छेको कुरा सुन्नु भएन...बाँच्न सजिलो पनि छ रमाईलो पनि छ....आफ्नो फाईदाको लाई हामीलाई गाह्रो बनाईदिन्छन् ति मुर्ख जातीले.....उनीहरुले बताएका र बनाईदे'का उपाय लागु गर्न बाहेक त हामीसँग अरु कै पनि विकल्प छैन, जस्तो महसुस गराईदिन्छन्...जस पछि हामी कमजोर हुन्छौँ र उनीहरुका खेलौना हुन्छौँ..."
रंगेले एति भनिसकेपछि दुवैजना मजाले गलल्ल हाँसेछन्। केई बेर गफ गर्दै बसेपछि ढिला भो भनि रंगे आफ्नो दुलोमा फर्केछ। नुवानले मान्छेहरु माझ फिर्ता न-जाने निर्णय गरेछ र आफ्नो नयाँ घर र साथीहरु खोज्न घना जंगल भित्रै कतै पसेछ।
धेरै पछि पर्शुराम काजी र रामहरिले एकदिन उस्लाई साथीहरुसँग पानीमा नुहाँउदै गर्दा फेले पारेछन् र समात्न खोजेछन् तर नुवानले उल्टै उनीहरुमाथी हमला गरी पर्शुराम काजीको सबै करङ भाँचिदिएछ र रामहरिलाई त सुँडमा बोकी ५० मिटर जति पर हुर्याईदिएछ। त्यसपछि जो मान्छेलाई देखे पनि उस्ले सिधै हमला गर्न थालेछ र मान्छेहरु उसँग निकै नै त्रसित हुन थालेछन्। नुवान जंगलमै बसी, छोरा-छोरी जन्माई/हुर्क्याई....४० वर्ष पछि खुसी हुँदै जंगलमै मरेछ।

No comments:

Post a Comment