Wednesday, February 17, 2016

ति बुढा


आफु भन्दा उमेरले सानाले पनि आफुलाई 'तँ' भन्दा, हेपेर जथाभावी भन्दा कस्तो महसुस हुन्छ होला? भित्रबाट त था' हुँदैन तर कति विरलै देख्न पाईन्छ सानाले बाईरबाट कसैलाई 'तँ' भनेको, हेपेको। तर त्यस्तै मान्छे थिए एउटा परेखा भन्ने गाउँमा। घुम्दै वरपरका जिल्ला सबै हर्ने मेरो प्रकृया दौरान सो गाउँ पर्ने जिल्लाको सदरमुकाम पुग्या बेला मैले उनलाई देख्या थेँ। म एउटा पसलको बाईर उभ्भेर चुरोट तान्दै थेँ; वरपरका मान्छेहरुलाई हेर्दै, उनीहरुका नजरमा आफुलाई कुनै विशेष कामले त्याँ आईपुगेको मान्छे हो भनी भ्रम फिँजाउन खोज्दै...दिउँसोको बाह्र जति बजेको हुँदो हो, केई हदसम्म सुनसानै थ्यो जब एउटा सत्तरी वर्ष जतिका बुढा विस्तारै हिँड्दै पसल सम्म आईपुगे र केई मागे,
" बाबु....ल मलाई ब्याट्री दिउँ त...रेडियोमा लाग्ने.."
बुढा ठिकै थिए; यानि राम्रै लुगा ला'का थे; सेतो-सफा दाउरा-सुरुवाल, दाह्री काट्या थे, जुत्ता पनि च्यात्या थेन, कालो टोपी पनि सुकिलै थ्यो...त्यै पनि पसलेले बुढासँग अचम्म तरिकाले बोल्यो,
" ओहो...मदने...हिँड्दै आईस ह्याँ सम्म....गाउँ देखि? जेठको बाह्र बजेको घाममा?"
म सकेसम्म अरुबिच हुने कुराहरुको मतलव राख्न खोज्दिन तर नेपाली न परेँ...नेपाली प्रवृत्तिले पछाडी फर्काई छाड्यो। पसलको वरपर कोई पनि थिएनन्, केवल बुढा, म र पसले। बुढाले विस्तारै आफ्नो कोटको खल्तीबाट पैसा निकाले। पसलेले फेरी रुखो बोलीमा सोध्यो,
"कस्तो ब्याट्री दिउँ ए तँलाई? कति जाने?"
"आ...दिउँ न बाबु...अलि टिक्ने.."
"त्यो त तँ हरिलठ्ठकले कतिको रेडियो घन्काउँछस, त्यस्मा पो भर पर्छ नि मोरा...मैले टिक्ने भनेर दे'र हुन्छ र मूर्ख!"
"ल...दिउँ न त तीस जाने"
"कति ओटा दिउँ?"
"आ...दुईटा दिउँ न"
"तेत्रो बाटो यो उमेरमा हिँड्नु साटो...टन्नै किनेर लैजानु नि मोरा..के घरी-घरी आईरन्छस..."
पैसा दिएर ब्याट्री लिँदै बुढाले "हैन...ठिकै छ...", भने र विस्तारै हिँड्दै देव्रे तर्फ लागे। बुढाको अनुहारमा मैले केई नौलो भाव देखिन न उनको हिँडाईमा कुनै किसिमको विचित्र-पना थ्यो..मानसिक रोगी जस्तो पनि कतै-बाट लाग्दैन थे, परु उल्टै एउटा शान्त र विवेकशील व्यक्ति जस्तो देखिन्थे। उनीहरुबिचको केई सम्बन्ध होला..तेसैले पसलले त्यसरी बोल्यो भनेर वास्ता नगर्न मात्र के सक्न ला'थेँ...अलि पर पुगिसकेका ति बुढालाई टाउकोमा पछाडीबाट कुद्'दै आएर एउटा बीस वर्ष जतिको केटाले मजाले हान्यो जसले उनले लाईरहेको टोपी भुँईमा खस्यो। त्यो केटाले बुढालाई केई भन्दै थ्यो; गिजाई रहेको भान हुन्थ्यो...मैले परबाट ठ्याक्क कुरा चैँ सुन्न सकिन। बुढाले केइ प्रतिकृया दिएनन्...आफ्नो टोपी भुँईबाट टिपी, धुलो टक्टकाउँदै केई नबोली अगाडी बढे। मलाई उनीमाथी चासो लाग्न थाल्यो...तेस्ता मजाका बुढा मान्छेलाई किन हेपिरा'छन् मान्छेले जस्तो लागेको हुनाले मैले बुढाको पिछा गर्ने निधो गरेँ।
उनी विस्तारै हिँडिरहे, मैले करिब १० मिटर जतिको दुरी कायम गरेँ; बाटोमा हिँड्ने प्राय सबैले उनलाई चिन्थे र चिनेका जति सबैले , "मदने....कता?", कि त "ओई मदने...भात घिचिस्?" भनेर सोध्थे। बुढा भने केई नबोली,केई प्रतिकृया नदि'ई चुपो लागेर हिँडिरन्थे। हिँड्ने जति लगभग सबैले बुढाको खिसी गर्थे...उनकै अगाडी पनि, पछाडी पनि।
त करिब आधा घण्टाको सुस्त हिँडाई पछि मलाई खपी नसक्नु भो..हामी परेखा नाम गरेको गाउँमा आईपुग्या थ्यौँ...त्यस्पछि मैले फटाफट बुढालाई ओभर्टेक गरेर त्याँ भ'को एउटा किराना पसल जसको बाईर क्यारम बोर्ड खेल्दै मान्छेहरु बसिरा'थे....मा गएर चुरोट किनेँ र सल्काएँ। बाईर मान्छेहरु टन्न थे..ति मध्य एउटा तीस वर्ष जतिको मान्छेले अरु दुई-तीन जनालाई गफ दिदैँ थ्यो,
"त्यै हो अब....जागिर राम्रै छ....बा-आमालाई खर्च दे'कै छु....स्वास्नी पनि खुसी नै छे, छोरा-छोरीलाई राम्रै ठाउँमा पढाको छु...त्यै हो अब चुनावमा जे भए पनि..हा..."
परबाट बुढालाई आईरहेको देखेपछि त्यो मान्छेले आफ्नो कुरा यतिमै रोक्यो र बुढा तर्फ औँला देखाउँदै भन्यो,
"ओई...केटा हो अब....मदने बुढा 'आएछ ऊ....हा...हा.."
सबैजना गलल्ल हाँसे..केई बेर पछि बुढा पसल नजिक आईपुगेपछि त्यै गफ दिने मान्छले भन्यो,
"ओई मदने...तैले गु खा'कै हो त?"
फेरी सबैजना गलल्ल हाँसे...बुढाले केई प्रतिकृया दिएनन्...चुपो लागेर हिँडिरहे...चुरोट सिद्'देपछि मैले फेरी उनको पिछा गर्ने कार्य जारी राखेँ।
फेरी करिब आधा घण्टाको सुस्त हिँडाईपछि एउटा पिपलको बोट आईपुग्यो। म बुढा भन्दा तेत्ति पर थिईन..बुढा पिपलबोटको मुनी गई बसे..मैले पनि त्यै गरे। अचानक दाहिने तर्फबाट एउटा सानो बच्चाको आवाज सुनाई दियो,
"ओई मदने...के छ तेरो हालखबर?"
दाहिने फर्केर हेरेँ.... एउटा आठ वर्ष जतिको फुष्चे दौडिदै/खेलिरा'थ्यो। तेत्रा पाका बुढालाई अरु मुर्खहरुले जथाभावी भन्दा सम्म त ठिकै थ्यो...तेत्रो सानो बच्चाले पनि त्यसो भनेको सुन्दा त अति नै अचम्म लाग्यो। बुढाले भने केई प्रतिकृया दिएनन्। एक्लै खेल्दै दौडिरहेको त्यो फुच्चेलाई छेउँमै बसिरहेकी एक बुढीले हप्काउँदै काखमा बसाई।
" हे..त्यस्तो भन्नु हुन्छ?...आफु भन्दा ठूलो मान्छेलाई!"
फुच्चे केई बोलेन..बुढाको अनुहारमा केई भाव झल्किएन...सामान्य; अति नै सामान्य। दुई मिनेट जति बसेपछि बुढा उठेर आफ्नो बाटो लागे। मैले गएर ति आईमाईलाई बुढाको बारेमा र उनलाई सबैले गर्ने व्यवहारको बारेमा सोधेँ। एउटै गाउँका भ'का हुनाले बुढीलाई बुढाको बारेमा था' रै'छ। उनले बताए अनुसारः
करिब दुई वर्ष पैले आफुलाई सब्भन्दा माया गर्ने र माया लाग्ने नाती निमोनीयाले मरेपछि बुढालाई निकै नै गाह्रो भएछ...निकै नै कमजोर भएछन्....छिनछिनमा रुँदा रै'छन्....कसैसँग राम्रोसित कुरा पनि गर्न सक्न छाडेछन्। अरुले सानो केई भनी हाल्यो भने पनि उनको आखाँ भरी आँसु आउँदो रै'छ र निन्याउरो र कमजोर हुँदा रै'छन्। उनको कमजोरी र भावुकतालाई सारा गाउँलेले उडाउन थालेछन्(ठेट नेपाली बानी; कमजोरलाई पेल्ने, शक्तिशालीको थुक चाट्ने)....उनीमाथी व्यङ्ग्य गर्न थालेछन्...जथाभावी भन्न थालेछन्......जस कारणले बुढा झनै भावुक र कमजोर हुँदै गएछन्। ऐलेको समय भन्दा ६ महिना जति पैले, गाउँमा निशुल्क स्वास्थ्य शिविर गर्न आएका एकजना विदेशी डक्टरले बुढालाई जाँचेछन् र रोग पत्ता लगाई नियमीत खानु पर्ने औषधी दिएछन्। डक्टरले भने झैँ औषधी खान थालेपछि विस्तारै बुढाको कमजोरी र भावुकता बिलाँउदै जान थालेछ...हुँदा-हुँदा केई महिना पछि त बुढालाई केई पनि कुराले पनि असरै पो पार्न छाडेछ....चट्टान जस्तो भएछन्....भाव विहिन। त्यसपछि त गाउँलेहरुले झनै बुढालाई हेला गर्न , खिसी गर्न र जथाभावी भन्न थालेँछन्.."केई असर पर्दैन क्यारे यसलाई...जे भने नि भो....", भन्दै।

No comments:

Post a Comment