Thursday, October 29, 2015

यन्त्र र महामानव



                                      
बेलायतको केन्टमा बस्ने म्याक्सलाई जीवन, देश-दुनिया, मानवताको बारेमा खुब चासो लाग्न थालेछ। बुवाका भाई, जोनलाई पनि यस्तो कुरामा खुब चासो लाग्ने थाहा पाएपछि गएछन् उनी तुरन्तै लन्डनतिर अंकल जोनलाई भेट्न। अंकल जोनले भने २० वर्ष नेपालमा काम गरेका रहेछन्। नेपालको बारेमा थुप्रै पुस्तकहरु लेखेका रहेछन्। भेट्ने बितिकै म्याक्सले आफ्नो रुचीको बारे अंकल जोनलाई बताईहाल्यो, अंकल जोनले धेरै वर्षपछि यस्ता कुरा गर्न मिल्ने मान्छे भेटेकोले आफुले यत्रो वर्षसम्म सोचिराहेको कुरा भन्न सुरु गरिहालेः
  
अंकल जोनः ‘यन्त्र’ को अर्थ हुन्छः केही कार्य सजिलो पार्नको लागि प्रयोग गरिने वस्तु; ‘महामानवको’ अर्थ हुन्छः मानवता भन्दा उपर उठिसकेका जीव, देवता/ईश्वर समान।

म्याक्सः यि दुईको सम्बन्ध के छ त?

अंकल जोनः पख न, त्यै भन्दै छु। सम्बन्ध छः नेपाल। नेपाल यस्तो एउटा पृथ्वीको टुक्रा हो जहाँ यि दुई थरी बसोबास गर्छन्; मानवहरु धेरै नभएका संसारका थोरै टुक्राहरुमा पर्ने सौभाग्य नेपालको छ। त्यो टुक्रा पवित्र छ, धार्मिक छ किन भने त्यहाँ महामानव/देवताहरु बसोबास् गर्छन् र त्यो टुक्रा अति विकसित पनि छ किनभने त्यहाँ अति धेरै सङ्ख्यामा यन्त्रहरु पनि पाईन्छ। सायद संसारकै पहिलो यन्त्रमानवहरु त्यहीँ थिए।

म्याक्सः त्यस्तो ठाउँ नि छ र? साँचै?

अंकल जोनः अनि के म तँलाई वकम्फुसे गफाडी जस्तो लाग्यो त?

म्याक्सः हैन! सरी! अझै भन्नु न! त्यो सानो टुक्रामा यन्त्र र महामानवहरुविचको सम्बन्ध, उत्पती ईत्यादी कुराहरु भन्नु न!

अंकल जोनः पख् न! भनिहाल्छु नि। पहिले त्यहाँका महामानवहरुका कुरा गरौः संसारका अरु टुक्राहरुको ईतिहासको कुरा गर्दा हामी विभिन्न सभ्यताहरुलाई सम्झिन्छौः त्यहाँका आम-मानिसबाट सुरु भएको सभ्यता; मेसोपोटामियन, ईन्दस, ईजिप्सियन, ईत्यादी। नेपाल भन्ने टुक्राको ईतिहासको कुरा गर्दा हामी सँधै कि त गोपाल वंश कि त किराँत वंशलाई सम्झन्छौँ। यिनिहरु राजा-रजौटाहरु थिए; भन्नुको मनलव यिनिहरु महामानव थिए, त्यसरी नेपाल भन्ने टुक्राको सुरुवात कुनै मानव सभ्यताबाट नभै, महामानवहरुबाट भएको थियो।

म्याक्सः सभ्यता पछि, कुनै पनि संस्कृती, समाजलाई सम्झिनु पर्दा हामी त्यहाँका आम मानिसहरुलाई सम्झन्छौः होमर भन्छौँ, कन्फुसियस भन्छौँ; नेपाल भन्ने टुक्रालाई सम्झिदाँ कसलाई सम्झिन्छौँ त?

अंकल जोनः तँ कुरै नसुनी धेरै प्रश्न सोध्ने खालको मान्छे रहेछस! पख न भन्दै त छु निः
पक्कै पनि गोपाल राजा/किराँत राजाहरुलाई। यि त्यसबेला तिरका कुरा हुन् जब होमरले पाना थुपारिसकेका थिए, व्यासले केयौँ चराका प्वाँख लुछिसकेका थिए, कन्फुसियस, लाओ-त्से दर्शन छाँट्न थालिसकेका थिए; यानि ग्रिस, भारत, चिनमा आम मानिसले केही गर्न थालिसकेका थिए, नेपालमा भने मानवहरु थिएनन्, केवल महामानव/देवताहरु थिए त्यसैले उनीहरुलाई सम्झिईन्छ। ‘यन्त्र’को परिभाषा “ आफैँले केही पनि गर्न नसक्ने, आदेश चाहिनी”  भएको हुनाले र त्यहाँ केही पनि नभएको हुनाले त्यहाँ महामानव सँग-सँगै यन्त्रहरु पनि थिए भन्ने कुराको पुष्टि हुन्छ। पछि ग्रीसमा एलेक्ज्यादर( जो महामानव थिए) भन्दा थेलिज्, सोक्र्एटिज, प्लेटो, एरिस्टोटल, एरिस्टोफेनेजहरु जस्ता सामान्य मानवहरुले केही दिए तर नेपालको ईतिहास सम्झँदा भने हामी फेरी किँरात वंशकै मात्र कुरा गर्छौँ। उनीहरुको गौरवको मान्छे ‘गौतम बुद्ध’ भने आम मानिस थिएनन्, त्यो कुरा याद राख्नु पर्छ, राजा-रजौटा(महामानवहरु)कहाँ जन्मेका हुनाले उनलाई सामान्य मान्छेमा राख्नु उनको अपमान गर्नु हो।

(म्याक्स आफ्ने मोबाईल निकालेर विकिपिडिया खोल्छः नेपालको बारेमा सर्र हेर्न थाल्छ)    

म्याक्सः समयकालमा सर्र अघाडी बढ्दा पहिले उनीहरुको छिमेकमा कालिदास पछि युरोपमा न्युटन, डेस्कार्टेस, ग्यालिलियो, स्पिनोजा, डा भिन्ची, छिमेकमा तुल्सीदास जस्ता सामान्य मान्छेहरु देखिन्छन्; ति बेला तिर नेपालमा कसले के गर्दै थियो?

अंकल जोनः सायद मल्ल राजाहरुले केही गर्दै थिए!

म्याक्सः युरोपमा पुनःजागरण भयो, नेपालमा चाहीँके भयो?

अंकल जोनः खोई कुनचाहीँ मल्लले मन्दिर बनाईदिए होला!

म्याक्सः सामान्य मान्छेले चाहीँ के गर्दै थिए त?

अंकल जोनः सामान्य मान्छे? के हो त्यो, त्यहाँ त महामानवहरु मात्र थिए; सामान्य मान्छे भईदिएको भए त केही गरिहाल्थे नि;  केही नभएको हुनाले त त्यहाँ त्यसबेला नै यन्त्रहरु रहेको कुराको पुष्टि हुन्छ।   

म्याक्सः अब फेरी समयकालमा सर्र अघाडी बढौँ, सामान्य मान्छेहरुले विग्यानको प्रयोग गरेर अनेक कुरा पता लगाई, अरु ठाउँमा कारखानिक क्रान्ति हुँदा नेपालमा के हुँदै थियो?

अंकल जोनः खुब बाठो हुन थलिछस्, ठिक छ! पख म चिया लिएर आउँछु। (अंकल जोन उठेर चिया बनाई वरी आउँछन्, म्याक्स भने मोबाईलमा नेपालको विकिपिडिया पढ्दै बस्छ)
सायद शाह वंशले केही गर्दै थियो!

म्याक्सः हैन! त्यो कुरा त ईन्टरनेटमा पनि छ, मैले नबुझेकोः सामान्य मानिसले चाहीँ के गर्दै थिए?

अंकल जोनः सामान्य मानिस? त्यहाँ त्यस्तो कोही थिएन भन्या; प्रताप मल्ल, रन्जित मल्ल, पृथ्वी नारायण जस्ता महामानवहरु मात्र थिए यहाँ।

म्याक्सः गोईथ र त्यसपछि जर्मनीमा रोमान्टिसिजम भईरहँदा नेपालमा के भईरहेको थियो?

अंकल जोनः पृथ्वी नारायणले क्रितिपुरमा यन्त्रको नाक काट्दै थिए, नाक काटिनेबाट केही प्रतिकृया नआएकोले गर्दा पनि काटिनीहरु यन्त्रहरु थिए भन्ने कुराको पुष्टि हुन्छ।

म्याक्सः मोजार्ट, वेथोवनले ध्वनीको मार्फतबाट आफुलाई र अरुलाई महामानव भक्तिबाट टाढा राखिरहेका बेला नेपालमा चाहीँ के हुँदै थियो?

अंकल जोनः के हुनु, बहादुर शाह हो कि राजेन्द्र लछ्मीले के गर्दै थिए। तर त्यही बेला तिर नेपालमा एउटा भानुभक्त नाम गरेको दुर्लभ ‘मान्छे’ पनि थियो रे, तर कहाँ भिमसेन थापा, कहाँ रण बहादुर शाह जस्ता महामानव/देवता! कहाँ भानुभक्त, घाँसी जस्ता सामान्य मानव! उनीहरु कहाँ बिलाए, बिलाए। तै पनि यन्त्रहरुलाई महामानवै पाएपछि मानवको के मतलव! समय बित्दै गयो, नेपालमा देवताहरुको जन्म हुँदै गयो, कहिले जंगबहादुर, कहिले माथविर। मान्छे कोही थिएनन्, देवताहरु स्वर्गको लागि लडाईँ गर्दै थिए।

म्याक्सः यन्त्रहरु के गर्दै थिए होलान् त?

अंकल जोनः कतै बसेर एक अर्कालाई उडाउदै थिए होलान्!

म्याक्सः अब त्यो बेलाको कुरा गरौँ जब संसारमा मान्छेहरु नित्सेको, फ्रायडको, यङको रुपमा, भातखण्डेको रुपमा आफ्ना विचारहरुमा, संगीतहरुमा रमाउँदै थिए; आफुलाई बुझ्दै थिए; कन्सियसनेस, एभोल्युसन्,  क्वान्टम फिजिक्स जस्ता कुराबाट आफ्नो अस्तित्व बुझ्दै थिए; तब नेपालमा के हुँदै थियो?

अंकल जोनः शमसेरहरु थिए, केही गरेछन्; शासन आफ्नै परिवारमा सिमीत राखेछन्।

म्याक्सः त्यो त ठिक छ, सामान्य मान्छे के गर्दै थिए त?

अंकल जोनः हाहा, कहाँ थिए र सामान्य मान्छेहरु, भईदिएका भए त केही गरि हाल्थे नि, खाली शमसेर र राणा भनेर बसिरहनु पर्थ्यो र!

म्याक्सः तब त्यहाँ के भयो जब संसारै पहिलो पल्ट दैविक युद्धमा फसेको थियो?

अंकल जोनः तब त्यहाँका देवताहरु आफ्नै कोठा सजाउनमा बेस्त थिए; अझ त्यो बेला त केही यन्त्रहरुलाई अरुको पक्छ्यबाट लड्न पनि पठाईएको थियो।

म्याक्सः दोस्रो दैविक युद्धमा नि?

अंकल जोनः के हुनु, केही मान्छेहरु छिमेकमा बसेर महामानव बन्ने सपना देख्दै थिए, त्यहाँ गएर शमसेर देवताहरुलाई हटाउने कोसिस गर्दै थिए। यहाँ नेर हामीले एउटा गल्ती गर्नु हुँदैनः शासक बन्ने सपना बोक्नेलाई आम मानिस भन्ने गल्ती गर्नु हुँदैन, त्यसैले प्रजातन्त्रका त्यहाँका महानायकहरुलाई ‘जन’ कि त ‘आम’ भन्नु उनीहरुको अपमान गर्नु हो। तर त्यसबेला तिर यो छेत्रको लागि दुर्लभ ‘मान्छे’ हरु देखा परेः लेखनाथ, लछ्मी प्रसाद दुई त्यस्ता अपवाद थिए।

म्याक्सः दैविक युद्ध सकियो, संसार भर मानिसहरु हिटलर, स्ट्यालिन, रुजभेल्ट, चर्चहिल जस्ता देवताको नाम सुन्दा सुन्दा वाक्क भईसकेका थिए। विस्तारै साहित्य, सिनेमा, ज्याज, रक एन्ड रोल, विश्वकप ईत्यादीमा मान्छे हरु रमाउन थालिसकेका थिए; नाचगान, खेलकुद, ग्यानगुन बटुल्न थालिसकेका थिए; पत्रिका हेरेर महामानवको विश्लेषण गर्नु भन्दा आफ्नो काम गर्नु बेस, आफु रमाउनु बेस भन्ने बुझिसकेका थिए; त्यस्तो बेला के नेपालमा मान्छेको उत्पति भईसकेको थियो?

अंकल जोनः राम्रो प्रश्न! तर अहँ वि.पी, गणेश, पुष्प, महेन्द्र/विरेन्द्र जस्ता देवताहरु हुँदा हुँदै कहीँ मान्छेको आवश्यकता पर्छ र? भैरव नाम गरेका मान्छे त थिए रे तर फेरी नामको मात्र भैरव; थिए त मान्छे नै, असली भैरवहरुका अगाडी उनको के लाग्थ्यो र!

म्याक्सः अब छलाङ मारौँ तब, जब देवताहरुका भिता ढले, पातकीहरुले हार स्विकारे; तब त्यहाँ के हुँदै थियो?

अंकल जोनः ओहो, त्यहाँ त त्यसबेला अझै स्वर्गकै लागि युद्ध हुँदै थियो। ‘यन्त्र आन्दोलन -१’ भन्ने कुरा भयो। देवताले यन्त्र बटुलेर, यन्त्रकै नाममा के-के गरे, के-के; यन्त्रको जिवन उथल-पुथल भयो तर विचरा यन्त्रहरु केही बोल्न गर्न सके पो! कहिले भोक सहे, कहिले नाकावन्दी, कति यन्त्र त बिग्रे पनि! स्वर्ग क-कसको हातमा गयो, देवताहरु बढ्दै गए, यन्त्रहरु झनै काविल हुँदै। हुँदा-हुँदा पछि प्रचण्ड, बाबुराम नाम गरेका बन्दुक धारी नाटकी देवताहरु आए, यन्त्रलाई आफ्नै तरिकाले प्रोगराम गरे, एउटा परमात्मा त मरि पनि गयो; पछि ‘यन्त्र आन्दोलन -२’ भयो। निकै मात्रामा बुझ न सुझ यन्त्रहरु जम्मा भए, कुन चाहीँ देवतालाई जिताईदिए। यन्त्रको जीवन जस्ताको तस्तै!

यसरी ईतिहासमा सर्र बग्दा नेपालमा देवता र यन्त्रहरु बाहेक कोही पनि नरहेको कुराको पुष्टि हुन्छ। त्यहाँको यन्त्रको सबैभन्दा पहिले पहिचान चन्द्र शमसेरले गरे, कांग्रेसीले, माओवादीले अनि त्यसपछि अमेरिकाले; ‘करोडौँ डलरको यन्त्र बनाउनु भन्दा नेपाल भन्ने ठाउँबाट सितैमा यन्त्र ल्याउम न’ भनेर डि.भी खुलाईदिए।

म्याक्सः अहिले चैँ के हुँदै छ त्यहाँ? मान्छेहरु छन् होलान् नि ऐले त?

अंकल जोनः मान्छे त छैनन् तर त्यहाँ यन्त्रहरु भने बाठो हुँदै छन्। अस्ति भारतले नाकावन्दी गरिदिएछ, मेरो साथीसँग टेलिफोनमा कुरा भ’को थियो; भन्दै थियोः हरेक चिया पसल, भट्टी, कपडा पसल, पान पसलमा बसेर यन्त्रहरु विश्लेषण गर्छन् रे!

म्याक्सः कसरी यन्त्रले विश्लेषण गर्न सके त?

अंकल जोनः कसरी? पत्रिका हेर्दा रहेछन्, भएभरका सबै; बेग्ला-बेग्लै पत्रिकामा हुने बेग्ला-बेग्लै कुराहरु आफ्नो मेमरीमा जम्मा पारेर त्यसै सँग वाद-विवाद गर्दा रहेछ् विचराहरु!   

म्याक्सः हुन त अरु ठाउँमा पनि यन्त्रहरु विस्तारै मान्छे बन्दै गएका हुन नि, त्यहाँ केही आश छैन?

अंकल जोनः अहँ, म त देख्दिन! जब सम्म यन्त्रहरु आफैँमा रमाउन सिक्दैनन्, सानो-सानो कुरामा हाँस्न सिक्दैनन्, गाउन सिक्दैनन्, नाच्न सिक्दैनन्, तब सम्म मानव बन्ने त असम्भव छ नि! अझै हाम्रा यशु पनि लागिपरेका छन् ऐले त उता!

म्याक्सः अझै ऐलेको विकसीत देशको मल्टी नेसनल कर्पोरेसन, धर्मबाट हरेक मान्छेलाई फेरी यन्त्र बनाउने योजनाले पनि त्यहाँ असर पारिरहेको होला हई?

अंकल जोनः त्यै भएर त विचरा भनेको नि।

म्याक्सः भने पछि, नाकावन्दी भयो त्यहाँ! केही गरेनन्, कसैले? हाम्रोमा त्यस्तो गर्ने हिम्मत होला त देवताहरुको? तर छिमेकी पनि डराईरहेका होलान् नि, यस्तो बेला यन्त्रहरुमा स्वाभिमान जाग्ला कि भनेर?

अंकल जोनः हाहा, वकम्फुसे कुरा नगर न! छिमेकीलाई थाहा छैन र त्यहाँका यन्त्रहरु कुरा सिवाय केही पनि गर्दैनन् भनेर!

म्याक्सः के गर्न सकियला त है?

अंकल जोनः हेर बाबु, म २० वर्ष त्यहाँ बसे। आज सम्म पनि देवताहरु हिँड्दा यन्त्रहरु बाटो छाड्छन्, खाली पारिदिन्छन्, अरु बेला मुख छाड्छन् गाली गर्छन् तर त्यही देवता अगाडी आयो भने चार हात खुट्टा टेक्छन्। अझै पनि तिहरु देवता हैनन्, मान्छे हुन्, हामी यन्त्र होईनौँ मान्छेहौँ भनेर पर्सिभ गर्न सकेका छैनन्। उनीहरुको लागि त राजनिती एउटा फिल्म जस्तो हो, खुब माया गर्छन् नेताहरुलाई। वर्षमा २० वटा मन्त्री फेरिन्छन्, सामान्यले केही बोल्दैनन्; बन्द भए पनि गनगन मात्रै गर्छन, नाकावन्दीमा पनि गनगन मात्रै गर्छन्, नेताले जे भन्यो पत्याउँछन्। उनीहरुले जब सम्म Gods didn’t create us, We created God; Therefore Gods shouldn’t control us, we control the Gods भन्ने बुझ्दैनन्, तब सम्म....

म्याक्सः त्यस्तो ठाउँमा त शंकट सबै मान्छेहरु चुपो लागेर सरकारको भर नगरेर आफ्नै दुनायाँमा रम्ने, आफ्नै स्रृजना गर्नै, चाहना कम गर्ने, सानो कुरामा रमाउन मिल्ने (मान्छे बन्ने) वरदान पो बनेर आएको रै’ छ है? हामीकहाँ तिर कम्पनी, विग्यापन, प्रोपग्यान्डाले गर्दा राम्रो विचार/संगीत/कविता/सिनेमा/खेल हुन छाडिसकेको छ; संसार भरका हामी सबै यन्त्र बन्न लागिसकेको बेलामा असली मानव बन्ने मौका पो रै’छ है उनीहरुसँग; कस्तो भाग्यमानी!

अंकल जोनः त्यही गर्न नसकेको ले र अझै पनि देवताकै कुरा चौबिसै घण्टा गर्दै बस्ने भएको ले त यन्त्र भनेको नि मैले अघिन देखिन्।   

  


     




  


No comments:

Post a Comment