Saturday, October 3, 2015

कतिन्जेल खेल्लिरहने?



कतिन्जेल खेल्लिरहने?                                                            

सबैभन्दा मुल्यवान कुरा के? राष्ट्रको क्रिकेट टीम? राष्ट्र त्यहाँ सम्म जायज छ जहाँ सम्म हामी एक-अर्कालाई भन्न सक्छौः ‘लौ त! हामी सँगै बसेका छौँ, एउटै भाषा बोल्छौँ, के गर्ने अब! केही कुराहरु छन् जुनले तिमी र मेरो गरी खाने प्रकृयामा एउटै असर गर्छन्।‘ त्यो भन्दा माथि राष्ट्रियता यदि पुग्छ भने, त्यो देखावटीपना मात्रै हो। आखिर जमिनको हिसाबले झगडा बाहेक के न निम्त्याँछ र? राष्ट्र भन्दा उपर त धर्म छ, जस्ले समान नैतिकता, विश्वासको भावना बोकेको हुन्छ। परिवार छ, जस्ले रगतको नाता र भावना बोकेको हुन्छ। व्यक्ति छ,जस्ले निरन्तर आफ्नो अस्तित्व बचाउको लागि लडिरहेको हुन्छ। हामीले जातिय संकृति/परम्परा थुप्रै देखेका छौँ, धार्मिक संस्कृति/परम्परा पनि थुप्रै देखेका छौँ, तर राष्ट्रिय परम्परा या संस्कृति भन्ने कहाँ देखेका छौँ? आर्मीको परेड मा? या फुटबल खेलमा?
बोलिने भाषा बाँड्छौँ लगभग ३ करोडसँग तर संगित, प्रेम, सद्भावको भाषा त हामी संसारको जुन सुकै कुनामा भएको मान्छेसँग पनि बाँड्छौँ, तै पनि किन यसरी बाउन्ड्री हालेर बस्छौँ? 
खास भन्ने हो भने, सबैभन्दा जरुरी कुरा एउटा व्यक्तिको स्वतन्त्रता हुनु पर्ने हो। कुनै पनि संघ, मुलुकले उस्लाई आफ्नो स्वार्थको निम्ती प्रयोग गर्न नपाउनु पर्ने हो। उस्को परिवार, जात, धर्म उस्को लागि महत्वपुर्ण हुनु पर्ने हो तर आज संघहरुको, कपटी मुलुकहरुको स्वार्थको लागि मान्छेको पहिचान अर्थहीन बनाईँदैछ, आर्थिक विकासको  नाम मा मान्छेको गुण/सार/धर्म नष्ट गरिँदै छ। नयाँ नैतिकता पैदा गरिदैँछ, मान्छेलाई पालतु बनाईदै छ।
के को लागि चैँ राष्ट्रियताले एक अर्कालाई एकजुट पार्छ? ‘यो मेरो ठाउँ हो, यहाँ तँ आउन पाउँदैनस्’, भन्ने सोचले? त्यति जरुरी छ र यो सोच? कति हाँस उठ्दो छ! धर्मले कमसेकम ‘तैँले मेरो विश्वास परिवर्तन गर्न पाउँदैनस्’ भन्न त दिन्छ! कानुन भनिन्छ, संविधान भनिन्छ, मान्छेको त्यति नै चिन्ता लाग्छ भने, तिमरु महापुरुषहरु मिलेर संसारका सबै पर्खाल भत्काईद्याओ न! नेपाल भन्ने छेत्रमा बस्ने मान्छेलाई सोमालिया ईलाकामा बज्ने सुन्दर संगीत सुन्न द्याओ न! किन मान्छेलाई संकुचित पारेर घेरेर राखिदिरहेका छौ? समुन्द्र भएको ठाउँमा पुग्न पायो भने, जुम्लाको मान्छेले पनि केही गर्ला कि? तर यस्ता कुरा तिम्रा नैतिक दृष्टान्तका सामु हाँसो उठ्दो छन्, बेकार छन्। तिमरु नभईदिएको भए, मान्छेले उहिले मिलेर बस्न सिकिसक्ने थिए।
तिमी नाकावन्दी हुन दिन्छौँ, अनि भन्छौ, “ हामी झुक्दैनौँ, देशको सार्वभौमता बचाउँछौँ, देशको ईज्जत बचाउँछौँ, देश झुक्दैन ईत्यादी, ईत्यादी”। तर त्यसो भन्नाले तिमीले मेरो गरिखाने अधिकारमा बाधा पुर्याईरहेका छौ, के को लागि? के हुन्छ देशको ईज्जत बचेर? त्यै पनि कोसँग लडिरहेका छौँ हामी? पक्कै पनि सिमाना पारीको माझी या किसानले त हामीलाई दुःख दिएको हैन होला! उता जाँदा तराम्रै सँग हाँसेर बोल्छ! मेरो ईज्जतकै चिन्ता छ भने मेरो काम गर्ने प्रकृयामा बाधा नपुर्याईदेउ न, अनि कमाई हाल्छु नि म मेरो ईजजत! ‘कस्तो स्वार्थी कुरा गरिरहेको छस् तँ थुक्क’ भन्लौ तिमि, तर म स्वार्थि भए जस्तो त लाग्दैन। छ अर्बविच बाँडफाँड गराई झिना मसिना २-३ करोडलाई एक अर्काबिच लडाउने तिमरु! अनि म स्वार्थि भई रा’को छु?
तिमी के फाईदा उठाउँदै छौ मबाट भनेर म पहिले धेरै सोच्थेँ, आज थाहा पाएको छु। तिमी भोगी हौः शक्ति र सम्मानको भोगी।  तिम्रो जस्तै सोच भएका हरेक मुलुक भनौदोमा बस्छन्, तिमरु प्रतिस्पर्र्धा गर्छौ,एक-अर्काकोसँग खेल खेल्छौ र म बल बनिरहन्छु।  तिमरुको तृष्णा एउटा सौखिन राजाले मृग मारे भन्दा फरक केही छैन। तिम्रो लागि हामी सबै पिउसो हौँ। तिम्रो सोखका हामी गोटी बस्। तिमरु नयाँ शासक वर्ग हौ, झनै खतरनाक, जस्ले मान्छे मान्छेको सौदा गरेर आफ्नो तृष्णा पुरा गर्छन्। तर म तिमीहरुको खेलमा फस्ने छैन। मलाई गरीखान देउ, नत्र देशको झण्डा जलाई तिम्रो दरबारमा फ्याँक्न मलाई ग्लानी हुने छैन!

No comments:

Post a Comment