अंतरबोध
मेरो चुरोट तान्ने बानीले
मलाई कैले कता पुर्याउँथ्यो, कैले कता! आफ्नो कामबाट
फर्किसकेपछि, साँझतिर म सँधै दुई घण्टा जति हिँड्थे, लगभग हरेक पल्ट नयाँ ठाँउमा। त्यस दौरान, कैले चार ओटा चुरोट सिद्दिन्थे त कैले पाँच-छ
वटा। हिंडिरहन्थेँ, कुनै ठाँउमा बस्थेँ त चुरोट तान्दै जीन्दगीको
बारेमा अनेक वाह्यात ‘गम्भीर’ विशलेशणहरु गर्दै बस्थेँ।
त्यही दौरान, एक साँझ म मेरो कोठाबाट लगभग आधा घण्टा पर रहेको
भिमेश्वर महादेवको मन्दिर भएको ठाँउ सम्म पुगेँ। मन्दिरमा त मलाई खासै चाख थिएन, मन्दिरबाट
अलि माथी एउटा सानो ढिस्को जस्तोमा पसल थियो। मसँग चुरोट थिएन, एकैछिन तेतै बसेर चुरोट तान्न मनलाग्यो र पसल
भित्र पसेँ। त्यहाँ, एउटा आईमाई थिईन, म चुरोट लिएर बाहिर राखिएको मेचमा आएर बसेँ।
एकैछिन पछिको कुरा हो, म दुईटा चुरोट सिद्द्याएर, उठेर हिँड्न के लागेको थिँए, मेरो दाइने पट्टीबाट करिब बीस बर्ष जतिकि एउटी
केटी आई। हाम्रो आँखा एकैछिन जुद्यो, मन सिरिङ्ग गर्यो। राम्री लाग्यो। उ ‘ममी’ भन्दै पसल भित्र पसी। अब मलाई त्यहाँबाट निस्किन
मन लागेन, मैले भित्रबाट चिया मगाँए, थप चुरोट लिएँ र बाहिरै बसिरहेँ; बेलाबेलामा
आँखा पसल भित्र लग्दै।
समय मज्जाले बितिसकेछ, तीनटा चुरोट र चिया सकाईएछ। तर तेतिन्जेल, मैले ऊस्लाई फेरी देख्दै देखिन। भित्र कुरा
गरेको त सुनिरहेको थिएँ, तर ऊ बाहिर आईन, म भित्र गईन। पैसा तिर्न गा’को बेला एक चोटी उस्लाई हेरिहालेँ, ऊ मोबाईल चलाउँदै थिई, मलाई त्यस्तो लागेको मात्र त हैन होला तर ऊस्ले
पनि मलाई हेर्दै थिई। मैले ऊबाट आँखा हटाएँ र पैसा तिरेर कोठा तर्फ फर्केँ।
त्यो दिन कोठा नपुहुन्जेल
सम्म, बाटोभरि म त्यही केटीलाई सम्झिँ रहेँ। कोठा
पुगेर, खाना बनाउन्जेल एकैछिन अन्मलिएँ तर राति सुत्ने
बेलातिर फेरी त्यै केटिको सोच आउन थालिहाल्यो, मैले आफुले आफुलाई रोकिन र अनेक कल्पना गर्दै बस्न थालेँ।मैले ऊसँग गएर बोलेको, ऊ मसित मस्केको, हात समाएको, गफ गरेको, इत्यादी इत्यादी। बस कल्पनामै डुब्दा डुब्दै तब म निदाँए।
भोलिपल्ट पनि दिनभर, बेलाबेलामा म त्यही केटीको कल्पनामा हराईरहेँ, म मा कोही मान्छेले त्यस्तो गाढा असर जीन्दगीमा
पहिलो पल्ट पारेको थियो। मैले आँफैलाई उस्को सोच र तर्क गर्नबाट रोकिन। साँझ
कामबाट कोठामा फर्केपछि, दुविधा गर्दै नगरी म सिधै
हिँडिहाले, त्यही पसल तर्फ। त्यहाँ फेरी अघिल्लो दिनको
घटनाक्रम दोहोरियो, एकैछिन पछि ऊ आई। म नढाँटी भन्छु, त्यो दिन त्यहाँ गएर बाहिर मेचमा बसेर चुरोट
तानुन्जेल मलाई अर्कै किसिमको निराशा जस्तो भईरहेको थियो। ऊ आउँदा मलाई लाग्यो, ऊ पनि अलिकति गम्भिर छे। तर हाम्रो आँखा जुद्यो, एकैछिन जीउ सिरिङ्ग गर्यो, अन्तमा आनन्द आयो।
त्यसैगरी म दैनिक त्यहाँ
गएर एक- दुई घण्टा कम्तिमा बिताउन थाँले। मेरो बाँकी समय पनि उसैको बारेमा सोच्दै
मै बित्न थाल्यो। ऊस्लाई सम्झिने बढ्दै गईरहेको थियो। गएर बोल्न भने खासै मन
लागिरहेको थिएन। तर चौथो दिनमा होला सायद, शनिवार थियो, पसलमा ऊ मात्रै बसिरा’को थिई। गएर चुरोट मागे। मलाई ऊ अलिकति मस्केकी
जस्तो लाग्यो, तर अरु केही बोलिएन। ऊस्ले अरु केही बोल्ने त कुरै
भएन। ऊ सँधैझैँ मोबाईलमै केई चलाउँदै बसिरा’को थिई। चुरोट
माग्नलाई बोल्दा एकैछिन झसंग जस्तो भएको थियो। म बाहिरको त्यही मेचमा चुरोट तानेर
बस्दै थिएँ, अलि-धेरै ऊस्लाई नै सम्झिदै थिएँ कि ऊ भित्रबाट
एउटा मुडा बोकेर बाहिरै आई, किताब बोकेर। मभित्र
अकस्मात अनेक खालका, अनेक श्रेणीका तर्क र भावहरुको उत्पत्ती भयो, एकदम नयाँ खालेको, तर केही बोलिन।
चुरोट चाईरहेको थियो, तर ऊ सँग माँगे भने फेरी भित्र गएर बाहिर न’आउनी हो कि भन्ने डरले मागिन। मोबाईलमा केही
हेरे जस्तो गर्दै, त्यहाँ उस्को उपस्थितिमा नै प्रसन्न हुँदै, आनन्द मानि बसि रहेँ। मलाई किन हो उस्ले पनि मैले
गरे जस्तै अनुभुती गरिरा’की छे जस्तो लाग्यो। नभए, बाहिर आएर किन बस्नु? ऊ पढ्नु भन्दा पनि धेरै टोलाएरै बसिरा’को थिई, म जस्तै। सायद मेरो बारेमा सोचेर! एक किसिमको अदृश्य डोरी जस्तै केई चिजको
आभाष हुन थाल्यो। मैले उस्लाई हेर्दा ऊ मतिर हेर्दिन थिई, तर मैले अन्तै हेर्दा भने, मलाई ऊस्ले मतिर हेरिरहेको जस्तो लाग्थ्यो।
त्यसरी नै झण्डै एक घण्टा बितिसकेछ। पछि आमा चैँ आईन, ऊ पनि भित्र गई, मैले आमाचैँलाई पैसा दिएँ, अर्को एउटा चुरोट लिएर
कोठातिर फर्केँ।
अब त्यो दिन पछि, मलाई झनै असह्य हुन थाल्यो। मेरो कलपनाले
सीमाहरु नाग्न थाले। अनेक किसिमका कथा, तर्क, भावना म भित्र जन्मिन थाले। बिहे गरेको, छोरा-छोरी भा’को सम्म पनि गईयो, मैले तर केईलाई पनि रोकिन, बस आईरहन दिएँ। प्रेम त मलाई पहिले पनि न भा’को त थेन, तर त्यस्तो गाडा भाव, त्यस्तो कनेक्सन भने
कोही मान्छे सँग या कुनै जनावर या वस्तु सँग पहिलो चोटी भएको थियो। म मेरो
कल्पनालाई, साँचो प्रेमको नाम दिदै बसिरहेँ, तर अचम्म, यथार्थ बनाउन, गएर बोलन चाहीँ पिटिक्कै मन लागेन।
त्यो दिनको भोली पल्ट, ठुलै पानी पर्ला जस्तो भएको थियो। चाँडै हिँडिहाँले
भने, पानी परुन्जेल, उतै बस्न पाईन्छ भनेर म फटाफट कोठाबाट निस्कीहालेँ। पसलमा ऊ र आमा रहेछन्। ऊ
मोबाईल चलाएर बसिरा’की थिई। उसैसँग चुरोट मागेँ, उस्को आँखा र अनुहारमा एक किसिमको तृष्णा फेला
पारेँ। “आऊ न मसँग बोल, तिम्रो कल्पनालाई यथार्थ पारौँ” भन्ने खालको।
म बाहिर थिएँ, चिया मगाएँ र नभन्दै ठुलो पानी पर्न थालिहाल्यो।
म एकदमै भावुक महशुश गर्दै थिएँ। उस्को केहीबेर अघिको त्यो हेराईले गर्दा मलाई उसँग
अंगालो मारेर, पानी परुन्जेल सुत्नु मनलागिरहेको थियो र उस्को
अघिन को हेराईको विश्लेशण गर्दा, मलाई पक्का विश्वाश थियो कि, ऊ पनि त्यस्तै केई खोज्दै थिई। बस् मर्यादा र
नियमले मात्र रोकेको थियो। उस्ले पनि मैले झैँ हाम्रो बारेमा कल्पना गर्दी हो भनेर
म सोच्दै बसिरहेँ। निकै नै आनन्द आईरहेको थियो, त्यो भन्दा शक्तिशाली एवं रोमान्चक
भाव सायदै अरु केही हुन सक्थ्यो। कुनै किसिमको जादु भन्दा पनि सुन्दर।
पानी पर्दै थियो, ओत लाग्ने मान्छेहरुको भीँड पनि बढ्दै गयो, एकैछिनमा पानी निकैनै ठुलो पर्यो। ऊ र उस्की आमा
पनि बाहिर आए पानीको चर्तिकला हेर्न। अचम्मसँग ऊ ठ्याक्कै मसँगै आएर मेरो देव्रे
पट्टी उभिई। आफ्नो हात पानी तर्फ लैजादै, उ देव्रे तर्फ फर्किँदै कसैसँग बेलाबेलामा
हाँस्दै गफ गरिरहेकी थिई। म उस्लाई नै हेर्दै
बसिरहेँ। ऊ जब चुपचाप हुन्थी, तब उस्ले पनि मैले महसुस
गरेको जस्तै गरिरहेकी छे जस्तो लागथ्यो। उस्को अनुहार पनि त्यस्तै हुन्थ्यो। म
त्यसरी नै खेल्दै बसिरहेको थेँ। मेरो कल्पनाको डोरी तन्किँदै थियो, घरीघरी सेक्सुअल कुरा सोच्दा, उस्को अनुहारमा लाज देख्थेँ।
त्यहाँ भएका सबै मान्छे, पानी परेको कुरालाई लिएर गनगन गर्दै थिए। कोई, कतै जान नपाएको ले पानीलाई सराप्दै थिए, कोई हिलो भ’को ले, कोई भिजेको ले, कोई के, कोई के, सब आ-आफ्नै कारणले सराप्दै थिए। म त्यसरी नै अरुको गनगन सुन्दै थिएँ, ऊ पनि केई नबोली सुनेरै बसिरहेकी थिई। मलाई
एक्कासी उसँग केई बोल्न मन लाग्यो, संकोचै नमानी ऊससँग भनिहालेँ, “ यो पानी रोक्न त सक्ने हैन
नि कसैले, यो भएन, त्यो भएन भनेर गनगन घर्नुको सट्टा परु यस्तो राम्रो माहोल बनेको हुन्छ, चुप लागेर आफ्नो नजिकको, मन लागेको मान्छेसँग गफ गरेर, नभए अर्को एक कप चियो खाएर बसे भईगो’ नि”। मतिर हेरि र
मुसुक्क हाँसेर भनी,
“ हाहा।।म पनि त्यई सोच्दै
थेँ, मलाई पनि रमाईलो लाग्छ पानी परेको”। त्यस पछि मैले अरु केई पनि बोलिन, उस्ले पनि केई बोलिन, एक मिनेट जति त्यहीँ उभ्भी, पानी सँग एकैछिन खेली र केही पनि नबोली भित्र गई, पानी रोकिएपछि म पनि फर्केँ, पछि केही पनि बोलिएन।
त्यो दिन ऊसँग त्यति कुरा
गरेपछि मलाई, दुई-चार दिन त्यता तिर जानै मन लागेन, तर उस्को कल्पना गर्न छाँडिन। कल्पनाको
प्रक्रिया भने अलि- कम भा’को थियो। तर पनि उस्लाई
सम्झिंदा जीउ अझै सिरिंग गर्थ्यो र त्यति मै रोकिदैन थियो। पछि काम को लागी मलाई
कतै बाहिर जान पर्ने भयो, म तेतै तिर लागेँ, उता जाँदै गईन।
एतातिर फर्किन एक दिन बाँकी
थियो, एक महिना बितिसकेको थियो कि एक्कासी म उसैको
बारेमा फेरी पहिले जस्तै अत्याधिक कल्पना गर्न थालेँ। अन्तिम दिनको एक दिन पुर्व म
दिनभरी उसैको बारेमा सोच्दै बसिरहेँ। कतै घुम्न गा’को, किस गरेको, संभोग गरेको, गफ गरेको , त्यस्तै कुराको कल्पना गर्दै मेरो दिन बित्यो, त्यो दिनको मेरो काम सबै लथालिङ्ग भयो। राति सुत्ने बेलामा पनि त्यस्तै भयो, तर त्यो बेला मेरो कल्पनाले बेग्लै मोड लियो।
पानी परेको बेला राति, उसैको पसलबाट अलि माथी, एकान्त ठाँउमा हामी बस्दै गरेको, गफ गर्दै गरेको कल्पना गर्न थालेँ। हामी एकैछिन
सँगै भिजेको र एक अर्कालाई अँगाल्दै मजा लिएको सोच्दै गएँ। तर एकैछिन पछि, मैले किन हो, एउटा चक्कु निकालेर, उस्लाई सबैभन्दा पहिले
पेटमा घोपेको, पछि छातिमा अनि टाउकोमा घोपेको कल्पना गरेँ।
मैले कल्पनामै पछि ऊसको दुईटै आँखा निकालीदिन्छु र खान थाल्छु। उस्को शरीरलाई
छातीबाट चिरेर उस्को भित्री अङ्गहरु छताछुल्ल पारेर बाहिर जमीनमा फ्याकिदिन्छु। म
पुरै रगतले लत्पतेको हुन्छु, जमीन पूरै रगतले भरिएको छ, रगत पानी सँगै बगिरहेको छ। यो दृश्यले, कल्पनाले मलाई निकै नै आनन्द गरायो, मैले यो कल्पना प्रक्रियालाऐ रोकिन। त्यही दृशय
कल्पिदाँ, कल्पिदै त्यो रात म निदाएँ, भोली पल्ट फर्किनु पर्ने थियो, पछि केही पनि सोच आएनन् उस्को बारेमा।
फर्किसकेपछि दुई-तीन दिन
सम्म मेरो केही पनि काम थिएन। एतिकै बसुन्जेल पनि तर एक पटक पनि उस्को बारेमा केही
सोचहरु आएनन्। चौथो दिन को दिन अलि-अलि सम्झिन थालेँ र दिउँसै उस्को पसल भा’को ठाउँ तर्फ ऊस्लाई भेट्ने उद्देश्यले हिडेँ।
एकैछिन फुरुङ्ग हुदैँ, मैले छिटो-छिटो ढिस्को चढेँ, तर पसल बन्द गरिएको रहेछ, बिदाको दिन भएर होला भन्ने अन्दाज लगाएँ। सिधै
कोठातिर फर्कैँ, साँझमा फेरी त्यतै गएँ, पसल बन्द नै रहेछ। भोली पल्ट, पर्सी पल्ट लगातार गएँ तर हरेक पल्ट पसल बन्द नै
थियो। चौथो दिन फेरी त्यहाँ जाँदा अझै पसल बन्दनै थियो। मलाई निकैनै अप्ठ्यारो
महशुश हुन थाल्यो। अघिल्लो रातको त्यो सोचले उस्को माया लागेको जस्तो भईरहेको
थियो। मन्दिर तर्फ ओर्लें, त्यहाँ एउटा सँधै बस्ने
पुजारी कसैसँग कुरा गरेर बसिरहेका रै’छन, गएर सोधेँ, “ बाबा, यो माथिको पसल किन बन्दको बन्दै छ त?”, पुजारी एकैछिन अक्मकिएको जस्तो भए। अर्को मान्छे
बोल्यो, “ पत्रीका, न्युज हेर्नु हुन्न कि के हो भाईले?” मेरो जीउमा चिसो पस्यो। ऊ पुजारीसँग भन्दै गयो, “ त्यस्तरी रेटेर मार्नु त...धत्!!”। मेरो शरीर भित्रका रगतहरु एकाएक तुफान गतिमा
कुद्न थाले, रिंगटा लाग्न थाल्यो, उनीहरु केही बोलिरहेका थिए, केही बेरसम्म केही बुझिन, केही सुनिन। पुजारी भन्दै थिए, “ अझै झसंग हुन्छ, मुटु, कलेजो, आन्द्रा, सबै छताछुल्म बिचरी को”। अर्को मान्छेले भन्यो, “ मेरो त दिमागमै त्यही दृशय घुमिरा’को हुन्छ सँधै, कुन चाहीं जनावर पापीको काम हुन सक्छ त्यस्तो, थुक्क!”। म आफुलाई समालि, कुरा केही बुझ्न खोज्दै थिएँ कि, पुजारीको त्यस पछिको जवाफले मलाई खाली बनाईदियो, “ भेटिएछ नि त केटो, दुई वर्ष देखिको चक्कर रै’छ दुईविचको, बानेशवरको केटो रै’छ, पुलिसले हिरासतमा ले’ को छ रे, बाहिर हल्ला चाहीँ गरेका छैनन्”।
No comments:
Post a Comment