Sunday, October 4, 2015

निरोगी राख्ने रोग




                                     निरोगी राख्ने रोग
हिजो-आज एउटा विचित्रको रोगले मलाई सताईरहेको छ। एउटा सामजिक प्राणी भएपछि सायद लाग्न सक्ने सबैभन्दा भयानक रोग। यस्तो रोग जस्ले मेरो मानवताको मुल शारलाई नै घरापमा परिदिएको छ। यो रोग मलाई लाग्नु भनेको कुनै चरालाई उढ्नसँग घिन लागेको झैँ हो। कसरी हटाउँ म यो रोग आफुबाट? कसरी फेरी हाँस्ने आयाम तयार पारौँ आफ्नो लागि? कसरी फेरी भावनामा बग्न सकौँ? कसरी फेरी हेराईको आनन्द बोध गर्न सक्ने हौँ? कि रमाउँ म यै रोगसँग?  
म बाहिरी दुनियाँका तत्वहरुबाट दिनहुँ टाढिदैँ गईरहेको छु। पहिलेका दिनहरुमा वनजंगलको एकान्तमा बस्दा आफु भित्रको एक्लोपना पनि खुसी साथ बाहिर निस्कन्थ्यो। त्यही एक्लोपना, जसले सभ्यता माझ बस्दा म मा छटपटी, डर पैदा गरिदिन्थ्यो, रुखहरुविच बस्दा एक्लोपना नै साथी भेटेको भान पाउँथ्यो सायद, मलाई दुःख दिन छाड्थ्यो। आज त्यही रुखहरु पनि निकै अलग लाग्न थालेका छन्। त्यही वनले पनि म मा केही उत्पन्न गर्न सकिरहेको छैन। मानव बस्ती विनाका अटल पहाडहरु हेर्दै बस्दा पहिले आफु भित्रको अटलताको ऐना हेरेको भान हुन्थ्यो। आखिर बलियो भएर पनि अरुको मनमा सुन्दर उत्साह पैदा गरिन सकिने रहेछ भन्ने तथ्यले केही भनौँ जस्तो पारिदिन्थ्यो। मानवताको मलिनतामा दिक्क मानेर बगिरहेको मलाई कहिलेकाहीँ रातोरानी फुलको सुवासले तृप्त बनाईदिन्थ्यो;  आखिर प्रकृतिमा मलिनता मात्रै कहाँ छ र! तर हिजो-आज यि सबै कुरा अर्थहिन छन्, भावनाको कुनै पनि ट्रिगर दबाउन यिनिहरु असक्छेम भएका छन्। कस्तो घिन लाग्दो रोग!
जसको हात समाएर, जसको काँधमा बसेर जिन्दगीका प्रारम्भिक दृश्यहरु देखियो, उसैको हात हेर्न जान पनि मन लागिरहेको छैन। जो-जो सँग केही लिनको लागि तिन घण्टा रोईन्थ्यो, आज उनीहरुकै साथ लिन जानु त परै जाओस्, ऊनीहरुबाट आफुलाई धकेल्दै आज यति पर सम्म ल्याएको छु। चाहना त उब्जिन्थे कहिले काहीँ जब आखाँ जुध्थेः विशेषगरी ऊ सँग। हरेक आखाँ जुदाईले नयाँ साथको आश लिएर आउँथ्यो र त्यो आश सर्वशक्तिमान हुन्थ्यो, फेरी त्यसरी नै आखाँ जुदोस् भनेर केही ठट्टा गर्नु मनलाग्थ्यो, आफ्नो पाईलाहरु अघि सार्न मन लाग्थ्यो। आज त्यही आखाँ जुध्लाकि भनेर आफुलाई अलग्याउन मन लाग्छ, आफुलाई आफैँ भित्रको डोरीमा अल्झाईराख्न मन लाग्छ। जिन्दगीको कति घिन लाग्दो खेल यो!
के भयो त? कहाँ नेर सबैथोक बिग्र्यो? केही वर्ष अघि सम्म जरुरतले अरुसँगको आत्मियताबाट आफुलाई टाढा राखिदियो। जब जरुरतको जरुरत म आफैँ पुरा गर्न सक्छु भन्ने विश्वास जन्मियो, तब त्यो जरुरत जरुरत रहेन। नयाँ जरुरतले आफ्नो डेरा जमाउँन थाल्योः अरुको हेराईको जरुरत। जिवनी, माला, तक्मा, मुर्ती जस्ता कुराले मन लोभ्याउन थाल्यो। यदि ति चाहनाको बाटोमा आफ्नो पाईला अघि सारेको भए आज खुसी साथ अन्मलिरहन्थेँ त होला! त्यही बेलातिर शिर ठाडो गरेर हिँड्नु नै जिन्दगीको अर्थ बनेको थियो। अरुको राम्रो नजरको कति भोको भईसकिएको थियो! तर आज ति सबै मेरो रोगको तापबाट खरानी भईसकेका छन्। यो खरानीको म अब के गरौँ?
यसो घोत्लिएर मेरा यि सबैकुराहरु सोच्दा मलाई आफ्नो रोग पता लाग्योः म कसैबाट केही पनि लिन चाहिरहेको छुईन। चाहना नउम्रिने हैनन्, उम्रिन्छन्। तर जब ति चाहना पुरा गर्न मैले गर्नु पर्ने कर्ममा अरुसँग केही माग्नु, लिनु पर्ने हुन्छ, तब मात्र म मा यस्ता भावनाका बिजारोपण हुन थाल्छन्। न कसैसँग साथ माग्नु मन लाग्छ( उसँग माग्ने चाहना त छ, तर फेरी ति भावना फर्किन्छन्।), न कसैसँग उस्को सहमती, न कसैसँग उस्को सम्मान माग्न मन लाग्छ, न कसैसँग एक नजर! कसैसामु गईयो भने, उसँग एउटा सम्बन्ध (लेनदेनको) स्थापना गर्नु पर्छ भनेर नै आफ्नो पाईला पछाडी सार्नु मन लाग्छ!
 यदि मेरो रोगलाई मेरो कमजोर पक्छबाट हेर्ने हो भने माथि का गनगन सुनिन्छन् तर यदि यो रोगको  सकारात्मक पक्छे हेर्रियो भनेः मन त लाग्छ म यि मौसमका प्रकृयाबाट पनि आफुलाई टाढा राखौँ। किन भर पर्ने मौसम माथि? मलाई किन आफु भित्र उमङ्ग पैदा गर्न कुनै हिमश्रृङ्खला हेर्नु परेको छ र? किन त्यो शुन्यता भित्र्याउन वन जँगलको जरुरत परेको छ र? किन आफ्नो अनन्तता महसुस गर्न सागर किनारमा जानु परेको छ र? किन अनिश्चयता बाँड्न आकाशतिर टोलाउनु परेको छ र? किन जिन्दगीलाई अर्थपुर्ण बनाउन उस्को शास सुँघ्नु परेको छ र? किन मेरो लाश कसले बोक्ने भन्ने चिन्ताले गर्दा साथी बनाउनु परेको छ र? किन हाँस्दै अन्मलिँदै हिँड्न पाईयोस भन्नको लागि सँगै हिँड्ने सहयात्री बनाउनु परेको छ र? किन आफ्नो पेट भर्नको निम्ती अरुको पसिना कुरेर बस्नु परेको छ र? त्यही पसिनाको मुल्य लिन आउँदा के उस्ले पहिले मलाई अमानविय व्यवहार गरेको छैन र? किन आफ्नो सुरछ्याको निम्ती राष्ट्रको झण्डा च्यापेर हिँड्नु परेको छ र? किन आत्म सन्तुष्टि होस् भनेर अरुको भलो गर्दै हिँड्नु परेको छ र? किन नाक फुल्याउन अरुको बिद्धान प्रकृयामा सामेल हुनु परेको छ र? किन संसार हेर्नको लागि बाँच्नु परेको छ? किन? यि जे-जे माथि म आज भर परिरहेको छु, यदि भोलि तिनिहरु मसँग भईदिएनन् भने?            

No comments:

Post a Comment