Saturday, November 14, 2015

सडकछाप संगीतकार



शहरको बसाईमा हामीले कति धेरै ‘सडकछाप’ संगीतकारहरु देखेका हुन्छौँ। कतिप्रति एक नजर पनि नहेरी वास्तै नगरी हिँड्दिन्छौँ। कतिलाई मात्र हेरी-दिई ‘विचरा’ भनेर आफ्नै बाटो हिँड्छौँ। कति त्यस्ता दुखी देखिने संगीतकारहरु ५ या १० रुपैँया दिएर आफुले सुकर्म गर्यौँ भन्दै मख्ख पर्दै, आफुलाई भगवान ठान्दै, सबैभन्दा राम्रो काम गरियो भन्दै हिँड्छौँ। त्यसरी नै काठमाडौँको एउटा मुख्य बाटो हिँड्दै गर्दा एउटा त्यस्तै बाँसुरी बोकेका संगीतकार माथी मेरो नजर झ्वाट्ट गयो; अरुबेला झैँ, ‘विचरा को जीन्दगी’, ‘म त भाग्यमानी’ भन्ने खालका सोच मेरो दिमागमा आए र अघितिर हिँडिरहेँ। ४-५ पाईला अगाडी पुगेपछि कुनी के भयो, मलाई त्यो सडकछाप संगीतकारलाई हेरेर बस्न मनलाग्यो; त्यसलाई राम्रोसँग बुझ्ने मनलाग्यो। यस्ता सडकछाप संगीतकारका खास कथा चाहीँ के रहेछ भन्ने बुझ्न मनलाग्यो र म फिर्ता त्यसकै अगाडी गएर उभ्भेँ। निकै नै दुब्लो ४० किलो मुस्किलले...दार्ही लामो थियो, मैलो-फाटेको लुगा लगाएको थियो; कालो-कालो थियो; तल तिर हेर्दै, गम्भीर मुद्रामा मस्तले बाँसुरी बजाईरहेको थियो। एकैछिन उसको धुन तिर ध्यान दिएँ, कहिले नसुनेको खालको धुन थियो। पाँच-सात मिनेट जति त्यसरी नै उसको अगाडी टोलाएर त्यो नौलो धुन सुन्दै बसिरहेँ; मजा लागिरहेको थियो। त्यसपछि मलाई त्यस संगीतकारको हकिकत बुझ्न मनलाग्यो। अगाडी थचक्क बसेर पहिला गोजीमा भएको एउटा मात्र सानो नोटः १० रुपैयाँको उसको अगाडीको कचौरामा हालिदिएँ। उसले त्यो पैसा हेर्दे, बाँसुरी बजाउँदै, आफ्नो दाहिने हात उठाएर मलाई धन्यवाद भने झैँ गर्यो; म त्यहाँबाट उठिन।
बोलिहेर्नु मन लाग्यो। तर त्यस्ता ठुस्से सडकछापले के म जस्तो डिग्री-धारी, देश-विदेश चारी, सुवास-युक्त, हँसमुग्ध, संसार बुझेको-बुद्धिमानीको कुरा बुझ्ला जस्तो लाग्यो। म कहाँ मंगल, चन्द्र सम्मको फोटो देखिसकेको मान्छे, त्यो कहाँ खानकै निम्ती संघर्ष गर्नु परेको भाषा नबुझ्ने ग्वाङ्रे दरिद्र/गरीब विचरा! यस्ता सोचले म अलमलिरहेको थिएँ; ऊ अझै चुपो लागेर बाँसुरी बजाईरहेको थियो। त्यै पनि जे पर्ला-‍पर्ला भनेर उसलाई धपधपाउँदै ‘दाई’ भनेँ। मेरो कल्पनाको पुरै विपरीत उसले बजाउन छाडी मेरो मुखतिर हेर्यो र मुसुक्क हाँस्यो। आधा मिनेट जति म अक्मक्केँ, ऊ फेरी बजाउन थाल्यो। मैले फेरी सोधेः ‘तँपाईको नाम के दाई?’। उसले फेरी बाँसुरी बजाउन बन्द गरी दाहिने हातमा बाँसुरी राखि म तिर हेरेर हाँस्दै स्पष्ट भाषामा भन्यो ‘ मेरो नाम?...तुक नाथ’’। मलाई अचम्म लाग्यो, उसले मँसग वार्ता गर्न खोजेको जस्तो लाग्यो। मैले फेरी सोधेँ, ‘अनि तँपाईको घर कहाँ? तँपाई कसरी बजाउन थाल्नु भयो?’। फेरी हँसिलो मुख लाएर, बाँसुरी आफ्नो छेउँ भुईँमा राखेर घाँटी सफा गर्दै भन्यो, ‘हाहा...म जस्तो भिकारीको बारेमा बुझ्न किन चासो लागेर आयो नि तँपाई, हुनेखाने महापुरुषलाई?’। उसको उतर सुन्दा र उसको बोली सुन्दा मलाई कुनै दरिद्र-खाते सँग कुरा गरिरहेको नभएर कुनै विद्धानसँग कुरा गरे झैँ लाग्यो। म केही बोलिन; उसले उल्टै भन्न थाल्यो, ‘मेरो बारेमा के भन्नु अब तँपाईलाई, के मतलव होला र तँपाईलाई खै!’ मैले यतिकै ‘भन्नु न सबैकुरा, जीन्दगीको बारेमा...’ भनिदिएँ। ‘फुर्सद छ?’ भनेर उसले मलाई सोध्यो। मैले टाउको हल्लाएँ। ‘मेरो कुरा सुन्नु के रमाईलो होला र तँपाईलाई, तँपाईको आफ्नै जीन्दगी छ, आफ्नै रमाईलो गर्ने साधनहरु छन्, आफ्नै गन्तव्य छ...’। मैले केही बोलिन। मेरो त्यहीँ बसेर उसको कुरा सुनिरहने ईरादा व्यक्त गरेँ। ऊ भन्न थाल्योः
हेर्नु बाबु....मेरो नाम तुकनाथ रिमाल। घर चन्द्रगढ, तर घर-सरको के मतलव! ३०-३५ वर्ष पहलेको कुरा हो, म सायद त्यतिबेला भर्खर २० वर्ष टेकेको थिएँ। बा’को सानो खेत थियो। त्यसबाट हुने उब्जनीले घरकै मान्छेहरुलाई मात्र पुग्थ्यो; म घाँडो भईरहेको थिएँ; घरबाट निस्केँ। पेट पाल्न के गर्ने, भनेर सोच्दै/खोज्दै हिँडिरहेको बेला, गाउँबाट अर्को गाउँ जाने जंगलको बाटोको ठिक अगाडी एउटा बाँसुरी भेटेँ। ‘यो त्यही बाँसुरी हो? भनेर मैले किन हो प्वाच्च सोधेँ’। ‘सुन्नु न...’ भन्दै भनिरह्योः
बाँसुरी भेटे पछि, एकैछिन फ्वाँ-फ्वाँ पारेँ, मजा आयो; मलाई त्यो बाँसुरी सिक्न मनलाग्यो, बजाईरहन मन लाग्यो। त्यो पुरा गर्न मलाई एउटा शान्त, फलफुल युक्त रुख चाहिएको थियो जसको मुनी बसेर म मस्तले जीन्दगी भर बाँसुरी बजाउन पाउँथे। मलाई अरु कुराको मतलव लागेन र हिँडिरहे रुख खोज्दै; निकै पर सम्म पुगेँ तर आफुले खोजेको जस्तो रुख कहीँ फेला पारिन। कुनै धेरै अनकन्टार ठाउँमा थियो त कुनै धेरै वस्ती माझ। त्यै पनि भोको पेट हिँडिरहेँ, दुई तीन दिन त्यसरी संघर्ष गरे पछि, भाग्यवस मैले त्यस्तो रुख एउटा भेटेँ। आफ्नो घर भन्दा निकै-निकै पर। आहा! कति राम्रो रुख थियो त्यो। मैले कहिले कतै नदेखेको फलफुल त्यहाँ थियो; लटरम्म फलेको। ठुल-ठुला हाँगा, हरिया पात, लम्पसार परेर सुत्दै बाँसुरी बजाउन मिल्ने एउटा सम्म ढुङ्गा; मेरो सपना सबै पुरा भयो। म अब जीन्दगी बाँसुरी बजाउँदै मस्तले बिताउन पाउँछु अरुको चाहनाको खेलमा सरिक नभईकन भन्ने तर्कले आनन्दको ज्वाला विस्फोटन गराईदियो म भित्र। रुखको वरपर सानो जंगल थियो, नजिकैबाट खोलाको आवाज आउँथ्यो,  रुखबाट छितिजमा मात्रै गाउँ देखिन्थे। पेट भरी फलफुल खाई, बाँसुरी छातीमा राखि खोलाको आवाज सुन्दै, ढुङ्गामा लम्पसार परेर एकैछिन निदाउने विचार गरेँ र आखाँ बन्द गरेँ; यस्तै भावसँगै जीवन बितोस् भन्ने कल्पना गर्दै। अरु कसैमा भर पर्नु परेको छैन, कसैको खेलमा भाग लिनु परेको छैन; आहा म एक्लै! भन्दै म डुबिरहेको थिएँ।
सपना निकै नै रोमाञ्चक मोडमा पुगिरहेकै बेला एक्कासी मलाई ब्युँझाईयो। टीका-टोपी लगाएका, जुङ्गा पालेका चार जना घुस्तिघ्रेहरुले मलाई हल्लाएर उठाईदिए; म झस्केर जुरुक्का उठेँ। ‘के हो भाई, किन यहाँ यसरी बसिरहेको, यहाँ यसरी सुत्न पाईँदैन उठ!’, भन्यो एउटाले। म जुरुक्क उठेँ, केही भन्न सकिनँ। ‘के हो? कहाँ बाट आएको, जऊ ह्याँ नबस’, भनेर अर्कोले मलाई आदेश दियो। मैले केही जवाफ दिन सकिन, केही सोच्नै सकिन, त्यै पनि किन भनेर प्रश्न गरेँ। मेरो प्रश्न सकिन नपाउँदै अर्को घुस्तिघ्रेले मलाई हप्कायो, ‘लौ! किन नि...यो भगवानको ठाउँ हो, यहाँ बस्न पाईदैन, यहाँ महादेव बस्नु हुन्छ’। म अकमक्क परेँ; मैले भगवान भन्ने कुरा कहिले सुनेकै थिईन; कहिले पनि बुझेकै थिईन। मैले भगवान भनेको कुनै मान्छे भन्ठानेँ। ‘खोई त भगवान?’ भनेर सोधेँ। सबै गललल्ल हाँसे, केही भनेनन्, एउटाले मेरो पाखुरा समाएर तल उतारिदियो र टाउको हल्लाएर मलाई जान संकेत दियो। मैले त्यो ठाँउ छाड्न पर्छ भनेर बुझिसकेको थिएँ; तर त्यस्तो आनन्दको रुख, फल, खोलाको आवाज, जंगल छाडेर मलाई अन्त कतै जानै मनलागेन। त्यै भएर मैले तिनीहरुलाई प्रश्न सोधेँ, ‘ हैन दाई! मलाई यहीँ बस्नु मन छ, यही फल खानु मन छ....के गरेँ भने चाहीँ म ह्याँ बस्न पाउँछु, यो फलहरु खान सक्छु?’। तिनीहरु एकअर्कासँग गफ गर्दै थिए, मेरो कुरा सुनेर सुरुमा हाँसे तर एकैछिनमा गम्भीर हुँदै एउटाले भन्यो, ‘फल खानु मन छ? यहाँ बस्नु मन छ? के वेद जानेको छस्?’। वेद भन्ने कुरा कहिले सुनेकै थिईन, छैन भनिदिएँ। ‘त्यसो भए, पण्डित्याईँ गर्न आउँछ?’ भनेर अर्कोले सोध्यो, मैले आउँदैन भनिदिएँ। ‘गीता/महाभारत/रामायण जानेको छस्’, भनेर अर्कोले सोध्यो, त्यो पनि छैन भनिदिएँ। तिनीहरु फेरी हासेँ र मलाई धकेले, मेरो टोपी फालिदिए। म चुपो लागेर भावुक हुँदै बसिरहेँ। एकैछिन मा अर्कोले भन्यो, ‘तैँले भगवान पनि बुझेको छैनस्, वेद/गीता/महाभारत/रामायण/पुराण केही पनि जानेको छैनस्, पण्डित्याँई, जोतिषशास्त्र पनि जानेको छैनस्, तँ यहाँ बस्न मिल्दैन, यहाँ बस्नको लागि भगवानको सेवा गर्नु पर्छ, भगवानको वाणीलाई फैलाउनु पर्छ, जा तँ बस्न पाउँदैनस्’। म निकै नै निराश भएँ, मलाई केही पनि आउँदैन थियो; त्यहाँ बस्न पाईदैन भन्ने मैले बुझेँ र जाने विचार गर्दै भुईँबाट मेरो बाँसुरी टिपेँ। बाँसुरी टिप्ना साथ एउटाले फेरी सोध्यो, ‘ओहो! बाँसुरी बजाउँदो रहेछस् त, भजन केके बजाउन आउँछ, भजन बजाईस् भने बस्न पाईस’। मलाई भजन भनेको मात्र थाहा थियो, भर्खरै बाँसुरी भेटेकोलाई कहाँबाट आओस् बजाउन, मैले मलाई आउँदैन भनिदिएँ। तिनीहरु फेरी हाँसे र मलाई तेता नदेखिनु, भजन/भक्ति/प्रवचन जाने पछि मात्र फर्किनु भनि धम्काए र गए।
तिनीहरु गईसकेपछि मलाई निकै नै बोर लाग्यो, भगवानको चाकडी, भक्ति नगरी त यहाँ केई पनि पाईदैन रहेछ भनेर बुँझे; तर मलाई त्यही ठाउँमै बस्नु थियो; मैले भगवान जान्ने निर्णय तत्कला गरेँ। केही फल लुकाएर टिपेर लुगा भित्र राखेँ र भगवान बुझेर, भजन सिकेर यहीँ भर्किन्छु भनेर त्यहाँबाट हिँडे।
मेरो फोन बज्यो, मैले उठाईन ;अफ गरिदिएँ, संगीतकारको कुरा मलाई खुब रमाईलो लागिरेको थियो। ‘हिँड्नु म चिया खाउँछु, खाँदै तँपाईको कुरा सुनौँला’, भनेर निकै बेर सम्म आग्रह गरेपछि अन्तमा उसले मान्यो, बाँसुरी टिप्यो र ऊ र म हिँड्यौँ र एउटा शान्त चिया पसल भित्र छिर्यौँ। मैले चिया मगाएँ, उसले चुरोट माग्न भन्यो, मगाएँ। ऊ चुरोट तान्दै भन्दै गयोः
अँ...अब भगवान बुझ्ने, चाकडी गर्ने र भक्ति भजन सिकी यही रुखमा फर्किने निधो गरि म त्यहाँबाट निस्केँ। मलाई जसरी भए पनि भगवान बुझ्नु थियो। गाउँ फर्कि धेरैसँग सर-सल्लाह लिएँ। कति बुजुर्गहरुले मलाई शास्त्र सिकाईदिन्छु भने, कसैले मलाई पण्डित्याँई सिकाईदिन्छु भने, ‘भगवान त बुझिदैँन, तर पण्डित्याँई गर्यो भने बुझेको धाक अरुलाई लगाउन पाईन्छ, अरुले मान्छन्, पैसा चडाउँछन्’, भनेर एउटा बुढाले भनिदियो। मलाई त भगवान नबुझिनी कुरा जान्नु थिएन, केवल भागवानै बुझ्नु पर्ने थियो! सो कुरा एउटा अर्को भीममान बुढालाई भनिसकेपछि उसले सल्लाह दियो, ‘लौ त! त्यसो भए बनारस जाउ, त्यहाँ भगवान बुझिन्छ’। बनारस कहाँ छ, के हो मलाई थाहा थिएन; त्यै पनि जाने निर्णय गरेँ; चाहना राखेँ। चाहना राखे पछि दिमागले जसरी भएपनि उपाय देखाईदिन्छ भनेको हो नै रै’छ; बनारस पुगेर आएका थुप्रै मान्छेहरु भेट्न थालेँ। कति ले जा भने, कति ले नजा। मैले केवल “जा” भन्नेहरुको मात्र कुरामा ध्यान दिएँ। सबैले भनेबमोजीम, म एकबिहानै गाउँबाट बनारसको लागि रवाना भएँ।
यतिका कुरा जानेका बिद्धान पो रहेछन् त संगीतकार भन्ने कुरा मैले बुँझे। उनलाई हेर्ने दृष्टिकोण मेरो पुरै बद्लियो। थप चिया र चुरोट मगाएँ, उनी भन्दै गएः
बाँसुरी एउटा र केही मागिएको पैसा बोकी लड्दै/बड्दै पन्ध्रौँ दिनमा म पुगेँ बनारस। कुन चाहीँले सिधै गंगा किनार जानु भनेको थियो, त्यस्तै गरेँ। त्यती भीँड-भाँड मैले कैले देखेकै थिईन; एकैछिन कहाली लाग्यो। के गर्ने त अब? भनी गंगा किनारमा ओहर-दोहर गरेँ भोको पेट एक-दुई दिन। न कसैको भाषा बुझ्ने, न कसैले मेरो बुझ्ने! थुप्रै नेपालीहरु हुन्छन् भनिदिएको थियो एउटाले, कोही पनि छुट्टाउनै सकिन।
किनारमा त्यसै एक साँझ झोक्राएर नदीमा हाम फाल्नु पर्ला भनेर सोचिरहेकै बेलामा मेरो भाषा बोलेको सुनेँ कतैबाट; त्यो आवाज खोजेँ, मेरो पछाडीतिर कतै दुईटा मान्छेहरु कुरा गर्दै रहेछन्। एक शासमा म तिनीहरुको अगाडी उभ्भेर मेरो सबैकुरा बताईदिएँ। मेरो चाहनाबाट दङ्ग परेछन् कि के हो, मलाई मदत गर्ने अठोट गरे; खान दिए, पानी दिए। विश्वविध्यालयमा पढिरहेका नेपाली युवाहरु रहेछन्, मेरो ग्यानको भोकले तिनीहरुलाई प्रभावित पारेछ। ‘तिमी जस्तो सच्चा मनले भगवान खोज्ने मान्छे बिरलै भेटिन्छ’ भनेर मलाई कुनै रघु स्वामीको चरणमा पठाईदिने निर्णय गरे। म पनि खुसी भएँ। ‘तिमीले पहिले हिन्दी सिक्नु पर्छ, अनि संस्कृत सिक्नु पर्छ, त्यसपछि वेदहरुको ग्यान राख्नु पर्छ’, तिमीलाई यो सबैकुराहरु रघु स्वामीले सिकाईदिनु हुन्छ’।
अँधेरो चिसो गल्ली भित्रको घरको एउटा सानो कोठामा बसेका रहेछन्, रघु स्वामी एक्लै। दार्ही पालेका, साधारण लुगा लाएका बिद्धान रहेछन्। मेरो परिचय स्वामीसँग गराई, मलाई स्वामीसँगै त्यहीँ बस्नु भनी उनीहरु गए। स्वामी र मेरो भाषा मिल्दैन थियो। स्वामीले एउटा दुवै भाषा जान्ने नेपाली केटा झिकाए र मेरो भगवान खोज/भक्ति सुरु भयो।
६ महिना लगाई अछेर राम्रोसँग चिन्न सक्ने भएँ; त्यसपछिको २ महिनामा हिन्दी पुरै सिकेँ, सबै बुझ्न, पढ्न, लेख्न सक्नेको भएँ। ४ महिनामा संस्कृतमा पनि त्यस्तै भएँ, ३ महिना जति फेरी गणित सिकेँ, अंग्रेजी सिकेँ, विग्यान कसरी काम गर्छ बुझेँ। म त्यहीँ स्वामीसँग बस्थेँ, उनले खाना ख्वाउँथे र दिन भर अध्ययन गर्थेँ। त्यत्रो अध्ययन गर्दा पनि मेरो भगवान बुझाई यात्रा सुरु भएको थिएन। तर पछि मलाई भिछ्या माग्न पठाउन थालियो। म भिछ्या लिएर आउँथे, स्वामीको कोठामा पकाईन्थ्यो र दिनभर महाभारत, पुराणहरु, रामायण, उपनिसध, गीताहरु पढ्थेँ। तीन-चार महिना त्यसरी नै बित्यो; मेरो सारा समय त्यसैमा बित्दै गयो। म सबैकुरा बुझ्दै थिएँ। ढोङ्गी र असलमा छुट्टाउन सक्नेको भएँ। म पश्चिमी दर्शनहरु पनि पढ्न थालिसकेको थिएः नित्शे, स्पिनोजा, डेस्कार्टेजहरु पनि अध्ययन गर्दै थिएँ।
त्यतिकैमा स्वामीजीको एउटा प्रस्ताव र त्यसको नतिजाले मलाई दोधारमा पारिदियो। नजिकैको कुनै विद्दालयमा उनले मेरो लागि काम खोजिदिएका रहेछन् पढाउने। मैले दिनको २ घण्टा वेद सिकाउनु पर्ने थियो, त्यसको वापत मैले मासिक २००० भा.रु पाउने थिएँ। मलाई सो विचार त्यति राम्रो लागेको थिएन तर स्वामीजीको कुरा काट्न सकिन। ‘जाओ, यि जो कुछ ग्यान हासिल करे हो...उससे अपना जीवन सुधारलो...घर बसालो..’।
त्यहाँ पढाउन गएको एक-दुई दिन पछि नै म कायल भएँ। मलाई त केवल मेरो गाउँ नजिकको ठाउँको भगवान बुझ्नु थियो ताकि म त्यहीँ गएर मजाले बजाउन सकुँ। मलाई यो जागिर, पैसाको उपाय मन परेन र दुई दिन पछि नै मैले स्वामीजीको कोठा र विद्दालय छाडेर हिँडे।
त्यसपछि फेरी लड्दै/मदत माग्दै म कलकता पुगेँ संगीत सिक्नको लागि भनेर। त्यहाँ कुनै पण्डित मदन लालसँग ३ महिना थाट-रागको अध्ययन गरेँ। कृष्णले बाँसुरी बजाएकाले र कृष्णलाई सबैभन्दा महत्वपुर्ण भगवान भनिने भएकोले मलाई बाँसुरीबाटै मैले भगवान बुझ्छु जस्तो लागेको थियो। केही रागहरु सिकेँ; ठिकै मजा आउँदै थियो त फेरी कतै केही ‘रोकडा’को लागि बजाउनको लागि पण्डितजीले मलाई सल्लाह दिनु भयो। पण्डितजीले त्यसो भन्नु भा’कै दिन मैले बुझेः म यहाँ बसेर भगवान देख्न सक्दिन! मेरो गाउँ नेरको त्यस रुखका बिद्धानहरुले भनेका खालको भगवान त मैले अझै देखेकै छैन!
तब सम्म मेरो गाउँ नेरको त्यहाँको स्वर्गमा गएर पुराण, वेद भट्ट्याउन सक्ने, केही भजन सुनाउन सक्नेको भएको थिएँ तर मलाई त्यतिकै जानै मन लागेन। म मा असली सत्य पता लगाई, असली धुन सुनाउने चाहना बढेर आयो। किताबी ग्यान फितलो/कमजोर छ, असली भगवान बुझ्न र बुझाउन आफैँले खोजी गर्नु पर्छ जस्तो लाग्यो। ‘त्यस रुख नेर गई, म सबैलाई ग्यान दिन्छु; सत्य सिकाउँछु, असली संगीत सुनाउँछु’ भन्ने तर्क आयो र म कलकता जस्ता शहरको बसाई छोडेर लम्केँ हिमालय तर्फ। मेरो चाहना जसरी भएपनि सत्य पता लगाई, सबैलाई साँचो भगवान बताई त्यस रुखमानै गएर नै बस्ने थियो।
अब बाँकिका कुरा विस्तृतमा भन्न थाले वर्षौँ लाग्छ। पुर्वी हिमालय देखि..नेपाल हुँदै तिब्बत, पश्चिममा भारत, चीन, पाकिस्तान सम्म पुगेँ। सुरु-सुरुमा भिछ्या माग्थेँ, पछि माग्न छाडेँ। हरेक धार्मिक स्थलमा ६ महिना कठोर तपस्या गरेर बस्थेँ। भोक प्यास शहन सक्ने भएँ; ध्यान गर्थेँ, बाँसुरी बजाउँथे। कति ठाउँमा मेरो लागि भनेर आश्रम निर्माण गरिदिए मान्छेहरुले। तिब्बती बुद्ध धर्म मान्नेहरुसँग पनि भगवान, संसारका विषयमा कुरा हुन्थ्यो। ४ वर्षको कठोर तपस्या पछि पनि मेरो असली भगवान बुझाई पुरा भएको थिएन।
त्यसैले मनसरोवर गई, ३० वर्ष जति दैनिक ध्यान/तपस्या गरी त्यहीँ बसेँ। त्यहाँ मेरो लागि भनेर आश्रम बनाईदिएका थिए।
मेरा निकै धेरै भक्तहरु बनिसकेका थिए। बाहिर-बाहिरबाट मान्छेहरु मेरो दर्शन लिन आउँथे। मेरो बारे बुझ्न पत्र-पत्रिका वालाहरु आउँथे। मलाई लाखौँ भेटी चडाउँथे। मैले कसैसँग पनि कहिले पनि मेरो अतित र भित्री चाहनाको बारेमा भनिन। सबैले मैले भगवान देखिसकेको कुरा बताउँथे तर मलाई भित्री मनमा थाहा थियोः मैले भगवान अझै बुझेको छैन। तब सम्म पनि मेरो एउटै चाहना त्यहीँ रुखमा फर्किने थियो।
भगवान बुझिदैन रहेछ..अब त्यो रुखमा कहिले बस्न पाईँदैन...भनेर निराश भईबसेको एक बिहान...के भन्ने अब..बाबुलाई...मैले भगवान देखेँ।
मैले लगालग पाँच वटा चुरोट र चार कप चिया सकाईसकेछु। उनले त्यसो भन्दा मेरो हात काँपिरहेको थियो। एउटा जादुयी किरण मेरो शरीर भित्र भएको महसुस गरिरहेको थिएँ। उनी त्यति भनेर चुप-चाप बसे र हिँड्ने ईसारा गरे। के रै’छ त भगवान भनेर मैले धेरै बेर सोँधे पछि उनले ठुलो स्वरले हाँस्दै भनेः
मान्छेले आफुले गर्न नसक्ने र बुझ्न नसक्ने कुराको कर्ता!
मलाई केही नौलो लागेन...उनी भन्दै गएः
त्यसपछि मलाई लाग्यो म तयार भएँ। म अब मेरो त्यो पुरानो रुखमा गई मस्तले सुतेर, ग्यान सिकाएर, बाँसुरी बजाउन पाउने छु। कसैलाई केही पनि नभनिकन म चुपचाप त्यहाँबाट हिँडे। केही पैसा बोकेँ; सामान्य सर्ट-प्यान्ट किनेँ, टोपी किनेँ। कैयौँ दिनको यात्रा पश्चात ३० वर्षिय संघर्ष पछि म त्यस रुख भइको ठाउँमा पुँगे।
त्यो रुख, त्यही वातावरणमा त्यही फलहरु साथ जस्ता-को तस्तै त्यहीँ उभ्भिरहेको थियो। यसपालि म त्यो रुखमा बस्न पाउने थिएँ किनभने मैले भगवान, भगवान भक्ति/भजन, दर्शन, वेद, उपनिसद, गीता, पुराण, बाईबल, कोरान, त्रिप्तिका, राग, थाट, ताल सब पढेको मात्र हैन बुझिसकेको थिएँ। म त्यहीँ रुखमा बस्ने थिएँ र कसैले पनि मलाई रोक्न सक्ने थिएन। अझ मेरो नाम यति चलिसकेको थियो कि ती पहिलेका पण्डितहरुले त सायद त्यस रुखकै पेरिफेरी मा मेरो निम्ती आश्रमनै बनाईदिन्थे।
कुनै बच्चा झैँ खुसी हुँदै म त्यस रुखको समिप गएँ र ठिक ३० वर्ष पछि मेरो पुरानै आनन्द साथ एक्लै संगीत बजाउँदै बस्ने चाहना साथ ठिक त्यसै गरी त्यहाँ मुनीको सो ढुङ्गामा लम्पसार परेर सुतेँ। फेरी सपनाको दुनियाँमा गएँ मेरा धुनहरु साथ......म निदाएँ ठिक ३० वर्ष पहिले झैँ।

सपना निकै नै रोमाञ्चक मोडमा पुगिरहेकै बेला एक्कासी मलाई ब्युँझाईयो। क्पाप लगाएका, जुङ्गा दार्ही काटेका, मिठो पर्फ्युम लगाएका तीन जना घुस्तिघ्रेहरु र भित्री वस्त्र सबै देखिने छोटो स्कर्ट लगाईकी केटी ले मलाई हल्लाएर उठाईदिए; म झस्केर जुरुक्का उठेँ। उनीहरुले हातमा के-के हो बोकेका थिए। ‘के हो बाजे, किन यहाँ यसरी बसिरहेको? यहाँ यसरी सुत्न पाईँदैन उठ!’, भन्यो एउटाले। म जुरुक्क उठेँ, केही भन्न सकिनँ। ‘के हो? कहाँ बाट आएको? जऊ ह्याँ नबस’, भनेर अर्कोले मलाई आदेश दियो। मैले केही जवाफ दिन सकिन, केही सोच्नै सकिन, त्यै पनि किन भनेर प्रश्न गरेँ। मेरो प्रश्न सकिन नपाउँदै ति नेपाली तिघ्रीले मलाई हप्काई, ‘लौ! किन नि...यो रिसर्च गर्ने ठाउँ हो बाजे, यहाँ बस्न पाईदैन, यहाँ यो फ्रुट को बारेमा रिसर्च भईरहेको छ..यसबाट निकै नै राम्रो पर्फ्युम/साबुन स्याम्पु... अझ वाईनहरु बनाउन सकिन्छ, यो हाम्रो कम्पनीले किनीसकेको छ.....मिलियन रुपिजको ठाउँ हो यो’। म अकमक्क परेँ; मैले मिलियन, भन्ने कुरा कहिले सुनेकै थिईन; कहिले पनि बुझेकै थिईन। ‘खोई त मिलियन रुपिज?’ भनेर सोधेँ। सबै गललल्ल हाँसे, केही भनेनन्, एउटाले मेरो पाखुरा समाएर तल उतारिदियो र टाउको हल्लाएर मलाई जान संकेत दियो।
मैले त्यो ठाँउ छाड्न पर्छ भनेर बुझिसकेको थिएँ; तर त्यस्तो आनन्दको रुख, फल, खोलाको आवाज, जंगल छाडेर मलाई अन्त कतै जानै मनलागेन। त्यै भएर मैले तिनीहरुलाई प्रश्न सोधेँ, ‘ हैन भाई-बहिनी हो! मलाई यहीँ बस्नु मन छ, यही फल खानु मन छ....के गरेँ भने चाहीँ म ह्याँ बस्न पाउँछु, यो फलहरु खान सक्छु?’। तिनीहरु एकअर्कासँग गफ गर्दै थिए, मेरो कुरा सुनेर सुरुमा हाँसे तर एकैछिनमा गम्भीर हुँदै एउटाले भन्यो, ‘फल खानु मन छ? यहाँ बस्नु मन छ? के कम्प्युटर चलाउन जान्नु भएको छ?’। कम्प्युटर अनि अरु के-के हो के-केको बारेमा सोधे मलाई केहीको बारेमा थाहा थिएन...थाहा छैन भनिदिएँ। पहिले झैँ म निकै नै निराश भएँ, मलाई केही पनि आउँदैन थियो; त्यहाँ बस्न पाईदैन भन्ने मैले बुझेँ र जाने विचार गर्दै खल्तीबाट मेरो बाँसुरी खस्यो। बाँसुरी खस्न साथ एउटाले सोध्यो, ‘ओहो! बाँसुरी बजाउँदो रहनु हुँदो रहेछ त, पप म्युजिक बजाउन आउँछ?’ अर्कोले सोध्यो ‘केके बजाउन आउँछ? अलि कन्फिडेन्स बढाउने..हंगर बढाउने सारी नाईट बेसर्मीकी हाईट.....स्नुप डग, फिफ्टी सेन्ट, रिहाना, स्लिपनट बजाउनु भयो भने बस्न पाउनु हुन्छ’।
संगीतकार/स्वामीजी त्यति भनेर मलाई शिर झुकाई धन्यवाद भनी त्यो चिया पसलबाट उठेर लगालग हिँडे। मैले उनलाई रोक्ने कोसिस गरिनँ, के गर्नु रोकेर? उनी आफ्नै बाटो लागे, म आफ्नै घर तर्फ फर्केँ। घर गई एकैछिन सोफामा पल्टि उनको अनुहार सम्झिरहेः कतै न कतै त देखेको थिएँ मैले त्यो अनुहार!
      
    
   
     
            
      
      

No comments:

Post a Comment