Tuesday, December 8, 2015

के मात्र को चिन्ता?


परेवा माथीतर्फ हेरिरहे’छ,
माथी ठ्याक्कै के हेरिरहेछ त?
मुन्टो दाहिने तर्फ बारम्बार फर्काईरहे’छ,
किन त्यस्तो गरिरहेछ त?
संसार मेरो ईलेक्ट्रोन र डिग्री!
मन उदास भई बसेको छ,
दिमाग छटपटाईरहेछ,
परेवा अझै माथी र दायाँ गरिरहे’छ,
अमेरिकी रसायन मेरो आत्मा भित्र पसिसकेको छ।
यसु, मोहम्मद मलाई ढुकिरहेका छन्,
अत्ताल्लिसक्यो झनै यो मन।
शंकाले डसेको छ, चिन्ताले कसेको छ,
अनिश्चयताले हेलो बनाईसकेको छ,
अर्थहीनताले जर्मनी, फ्रान्सको भाषा बोलाईसकेको छ।
आगो निभ्दै छ, यात्रा छोट्टिदै छ,
परेवा दाहिने तर्फ उडिसकेको छ; या देखिन!
मन भने त्यस्तै छ, दशैँ माहोल बन्दै छ,
परम्पराले नजिक ल्याउँदै छ,
फेरी आई.एस दुई घर उता नै न छ,
आफुलाई फेरी आफ्नै भविष्यको चिन्ता गर्नु छ।
हाँस्नको मागि छयालिस ईन्चे चार्ली सिन भित्र्याउनु छ,
अमेरिकी हाँसो सेन्स राख्नु छ,
नभए डराउनु छ, फेरी गल्नु छ।
१८ दिन बाँकी, सपनाको भूमी टेक्न जाने मौकाको लागि;
‘आओ ए आओ, तिमरुको भाग्यको कुरो, सढेर बस्लौ’,
तर परेवा फेरी आउँदो छ,
केही साथ बटुलेर, अघिकै हो कि बेग्लै?
अमेरिका स्वर्ग हो भने त परेवा पनि त्यहीँ उड्नु पर्ने!
कि परेवा पनि म जस्तै नालायक?
त्यसो भए त यहाँ झुल्किने घाम-तारा पनि नालायक!
‘आउनुहोस! २०० रुपैँया मात्रै, हरियो कार्ड, हरियो नोट!’
रोक्ने कोही छैन, सबैलाई आफ्नो उदासी जो हटाउनु छ।
जिम्मेवारी लिने एक अर्कासँग पन्जा लडाईदिए,
हिँड्नको लागि हात चाहिनी हामी अपाङ्गले गर्ने के?
रोएर बस्नु त भएन,
आफैँ केही गर्न कहिले सिक्दै सिकिएन,
लठ्ठी, कञ्चटी, फलाम, ग्लानी, डरले पर्सेन्ट ल्याईदिहाल्यो,
आफैँले के गर्ने त सोच्नै भ्याईएन, सकिएन।
मगमग मःम बास्ना आउने ठाउँबाट,
अब मट्टीतेल बास्आउँदो छ,
यो मुर्ख भने कापी भराउँदो छ।
‘के हुन्छ गु जम्मा पारेर? धान जम्मा पार्या भे पेट त भर्तिस!’
उतर केही छैन,
अझै परेवा त्यहीँ छ,
त्यही हो कि हैन थाहा छैन; किन? थाहा छैन!
मन हलुका हुँदै छ, धेरै बेर भईरहने छैन; थाहा छ।
दिमाग शान्त छ,
शान्ति धेरै बेर जुर्ने छैन, पतो छ।
रंगीन चस्मा फुकाले के देखिन्छ?
झुठो विश्वासको फोहोराले छाती नफुलाए,
अरुको बोली, दृष्टी, कानेखुसी र हाँसोले तड्पाउँछ।
चस्मा बिना के देखिन्छ?
परेवा? या हरेककै आँखामा रंगीन चस्मा?
केही नबुझ्दो छ,
रमझम छ, हल्लाखल्ला छ।
खुसी छ, हाँसो सुनिदैँन!
कुर्नु छ! देवताहरुको युद्धमा फेरी मर्नु छ,
त्यै पनि आफ्नो भविष्यको चिन्ता लिनै छ।  


No comments:

Post a Comment