Sunday, May 29, 2016

आज सबभन्दा उचित दिन


आज;
कविता लेख्न सबभन्दा उचित दिन
उता आकाशबाट वर्षाको लहर,
यता कतै गहिराईमा अनौठो भिज्ने रहर।
उता ब्रह्माण्डमा रहेका रहस्य जतिका दर्दनाख कल्पना,
यता शरीरमै खुम्चिएका चाहना वेदना।
देवता र दानवबीचको आन्तरिक रण,
एउटा महाकाव्यको विषय।
कुन सत्यः देवता कि दानव?
कुनै न कुनै; रचनाकार मानव।
देवता, वर्षा, चाहना, दानव,
आज कविता लेख्न सबभन्दा उचित दिन।

आउन सक्लान तिनी तिनका शुत्र घोकेर,
तर यस्तो दिनको के अर्थ छेक बोकेर!
यो कविता लेख्ने उचित दिन,
आज बुझ्ने, स्विकार्ने, अस्त्र तिखार्ने छिन।
बुझाइको लागि समर्पित आज यो क्षण,
कहाँ? था’ भएपछि जान मात्रको न बेर!
आज यस्तै उपाय रचना गर्ने दिन,
फित्ता बाँधी सडकमा उत्रिने दिन।
मानव हुँ भनी स्विकार्ने दिन,
दानवलाई देवता, अनि देवतालाई मानव बनाउने दिन,
गुफामा मन्दिर र मन्दिरमा नाचघर बनाउने दिन,
आफैँलाई स्विकार्ने दिन... मानव हुँ भनी स्विकार्ने उचित दिन।

No comments:

Post a Comment