Sunday, December 10, 2017

नेपाल , ओली , प्रचण्ड , बाबुराम , देउवा : हामी नेपालीका कमजोरी


     प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा आइसकेको छ र यो नतिजालाई अन्य कुराहरु(पार्टीगत जीत-हार) बाट मूल्यांकन गर्नु भन्दा पनि जरुरी रहेको छ यसलाई नेपाली राजनीतिका 'भेट्रान खेलाडी' हरुले ल्याएका नतिजाबाट मूल्यांकन गर्नु । सिधै भाषामा भन्नु पर्दा , यदि यो पटकको निर्वाचनमा खसेका मत साँचैकै जनताकै विवेकबाट खसेका हुन् भने , यसमा यि पाँच 'भेट्रान' खेलाडीहरु : नेपाल , ओली , प्रचण्ड , बाबुराम , देउवा (यिनीहरुका पछिल्ला कृयाकलाप एवं कार्यसम्पादनलाई मध्यनजरमा राखेर र हामी नेपालीका चेत भएको चेतनालाई स्विकारेर) नराम्रोसँग पछारिनुपर्ने थियो । तर त्यसो भएन । यसको फल: अब हामी फेरि कम्तिमा पाँच वर्ष यिनीहरुकै सत्ता खोसाखोसमा दर्शक भएर बस्नुपर्नेछ । 
      
       यि पाँच नेताले जित्नु भनेको नेपाली जनताको चेतनाले हार्नु हो । किनकी अहिलेको नतिजाले हामी आम नेपालीको जनचेतनास्तर प्रस्ट पारिदिएको छ । अब यिनीहरुले जित्नु पछाडिको रहस्य या त आम जनताद्वारा अझै यिनको लोभलालचमा फसेर भोट खसालिएको भएकोेले होस् या व्यक्तिगत अवसरलाई ध्यानमा राखेर भोट खसालिएको भएको हुनाले होस् या त निर्वाचनको मतगणना नै झेलझालबाट भएको हुनाले होस् ; जुनसुकै खण्डमा यो हामी नेपालीको हार हो । अब फेरि , यिनीहरुले जित्नुको कारण यिनीहरुसँग एकसेएक नेपालीगुण्डा भएका भएर होला , एकसेएक बहिर्मुखी घागडान कार्यकर्ता भएकाले होला , विदेशीबाट चलखेल , समर्थन  भएकोले होला ,  जुन सुकै कारण भएपनि यिनीहरुले फरि पनि जित्नु भनेको हाम्रो कमजोरी देखिनु हो , हाम्रो हार हो , लोकतान्त्रिक चेतनाको हार हो , हाम्रो बुद्धिविवेक र साहसको हार हो ।
      
      यि पाँच कुन श्रेणी या गुणका नेता हुन् भनेर बुझ्नलाई धेरै कष्ट गर्नु पर्दैन , केवल एक सोच-परीक्षण गर्दा हुन्छ : के कुनै पनि विकसित या विकासोन्मुख मुलुक : अमेरिका , या जापान या नर्वे या भारतैमा पनि त्यहाँका जनताले यस्ता नेतालाई कुर्सीमा बस्ने मौका दिन्थे होला ? उत्तर कसैलाई दिइराख्नु पर्दैन , आफैँसँग इमान्दार भएर सोध्दा हुन्छ । मेरो चैँ उत्तर के छ भन्दा : त्यस्ता मुलुकमा यिनले कुर्सीमा बस्नु त के कुर्सी सुँघ्नपनि पाउँदैनथे !    
      
     विश्वका अन्य मुलुकका नागरिक अग्ला भवन , पूल , रेल , प्लेन , एयरपोर्टका कुरामा रमाउँदा हुन् र गर्व गर्दा हुन् । हामी भने त्यै एउटै सगरमाथामानै सिमित रहनुपर्ने जस्तो देखिन्छ अब । किनकी न यि मध्य कुनै एउटासँग आफैँ केहि गर्ने हुत्ती छ , न त यिनले एक-अर्कालाई या अरुलाई केहि गर्न दिने वाला छन् !

      अन्य मुलुकका नागरिक भव्य कुरा गरुन् , हामी नेपाली भने नेपालको बोली , ओलीको ज्वाईँ , प्रचण्डको छोरा , बाबुरामको बुद्धि (?) , देउवाकी श्रीमतीमै अड्किरहौँ ! हाम्रो पुर्पुरोमा सायद यति मात्र लेखिएको रहेछ ।। 

No comments:

Post a Comment