Friday, August 26, 2016

दरबार हत्याकाण्ड

आफ्नो रथ लगाम त समाइकन आफैँले
गुडाईयो त्यो पथमा जहाँ गुड्नु नै थियो।
समाल्हि आँधीबाट, जोगाई भूकम्पबाट
गुडाईयो त्यो पथमा जुन मार्ग मेरो लाग्थ्यो।
बीचमा रोकि दियो कोही धनीले,
“ए बेकुफ! यो कता भौतारिँदै छस्, सुसेल्दै, वरपर नहेर्दै?
यो पथ तेरो हैन मेरो राजाको हो।
तिरेको छस् के कर राजपथमा चलाएवापत् थोत्रो रथ यो?
छैनस् भने छिटो दे, गर त्यो जे गर्नको निम्ती जन्म लिएको होस् यो!
छिटो गर...
यो पथ तेरो सम्पत्ति हैन, मेरो सम्राटको हो
निकाल कर...छिटो गर”

थिएन केही वटुवामा,
समय सबै लगाम समाउनमै खर्च गरियो जो यसैमा।
बोलिन केही, बस् देखाएँ हालत
थुक्यो किन हो भुईँमा र सुमसुमायो त्यो रथ।
“कहाँ बाट पाइस् यो?”, भनी प्रश्न गर्यो।
“पुर्खाको अमानत हो”, मुखबाट फ्याट्ट झर्यो।
थुक्यो फेरी भुईँमा, रथ सुमसुमायो
जुंगा चलाउँदै अनि भन्न थाल्यो,
“चाहिएछ राजकुमारीलाई एउटा सवारी
चेलीवेटी सबै वनभोज जाने छ तयारी।
सबले लगाउने छन्, महँगा/नाजुक सारी/जवारी
पुर्याईदे तिनलाई त्यहाँ एक छिटा धुलो नपारी।
धर्म हुने छ तेरो ठूलो मान सम्मान पाउनेछस्
करको सट्टा त्यहि गर, असल नागरिक कहलाउने छस्।
यो भन्दा बढी के खोज्नु तैँले
राजखान्दानको वरपर पुग्न नै र्याल चुहाँउछन् सबैले।
तैले मौका पा’को छस् राजकुमारी सहेलीलाई घुमाउने
फोकटको सास फेर्न छाडी मुलुकको निम्ती केही गरी मर्ने।”

अचम्म लाग्यो उसका ती कुरा सुनी,
“दाई...यसबाट मुलुकलाई कसरी फाइदा भयो कुन्नी!”

फेरि भुईँमा थुक्यो पांग्रामा लात्तिले हिर्कायो,
आखाँ तर्यो, मुस्कुरायो र सत्य उसले बुझायो,
“ हेर बाबु मूर्ख...अति पटमूर्ख
जो सत्ता समाँउछ उही देवता हुन्छ।
जुन फुर्ति साथ आज तँ यहाँ गुडिरा’थिस्
राजाकै कृपा हो नत्र उही सिद्दीसक्थिस।
आउँथे अनेकौँ डाँकु लुटेरा, बन्दुक अस्त्र बोकी
एक पलमै तेरो सास प्रकृयालाई रोकी
लैजान्थे यो रथ, कुन्नी के-के-के-के गर्थे
तेरो लासमा भने गिद्द चरिबस्थे।
जुन सान साथ तँ यहाँ उभ्भिरा ‘छस्
राजाकै कृपाहो नत्र कहाँबाट यो साहस?
सीमा पारीका सँगबाट सँधै डराउँथिस्
काँपेर नै आफ्नो जीवन बिताउँथिस्।
तेरो प्राण, सास आश सबै राजाको कारणले
यो रथ गुड्छ तेरो जुन पथमा, उनैको महानताले।
देवता हुन् उनी तेरो, तँ होस् उनको दास
देवपुत्रीको सेवा भन्दा अधिक केको राख्नु आश?
गरे सेवा तैलेँ राजा महिमको,
खुसी भई गर्ने छन् हेरचाह मुलुकमा सबैको”

अचम्म लाग्यो पूनः उसका ती कुरा सुनेर
बोले मैले केही तब केही भन्नै पर्छ भनेर,
“माफ गर्नु दाई...यो सेवा म गर्न सक्दिन
बरु राजपथमा एक पाइला टेक्दिन।
कोही जन्म लिदैछ, भन्ने वाणी सुनी
उसलाई रथ सिकाउनु छ, यसैलाई कर्तव्य मानी।
सानो बारीमा मेरो उब्जनी छ
त्यसैमा सन्तुष्ट छु, मलाई के-को डर र?
आए कैयौँ वैरी एक्लै लडियो
कहिले लडियो तर धेरैलाई पछार्यो।
यो रथलाई सम्हाल्ने कर्तव्य छ जुन् मेरो
तेसैलाई आधार बनाई हरेक पाइला चलाईयो।
तै पनि मुलुकको सेवा गर्न लायकको म छैन,
‘कर्तव्य गर आफ्नो जे हो’, त्यो नै सबथोक भन्छन् र हैन?”

मैले यति भनी उसको अनुहारमा हेरेँ
भुईँमा थुकेपछि उबाट यी कुरा निस्किए,
“हेर बाबु मूर्ख...अति पटमूर्ख
जो सत्ता समाँउछ उही देवता हुन्छ।
कहाँ बाट सिक्यौ यी गलत कहानी?
यो हो छोटो बाटो दुःख-कष्ट अँगाल्ने।
जुन बारीको भरमा तिमी पेट पाल्दै छौ
राजाले चाहेमा एक पलमा त्यहाँ तबेला पाउने छौ।
मुलुक भन्दा ठूलो अरु केही छैन
यसको समृद्धिमा कर्म बाहेक धर्म अरु कुनै हुँदैन।
जथाभावी जिद्दी तिमी गर्न छाड,
जे धर्म हो त्यसैलाई अंगाल।
राजसन्तानको सेवा, यो मात्र त भन्या हो नि
त्यसपश्चात आफ्नो र सबको निम्ती भविष्य बनाउनी।
बिजुली, पानी, बत्ती, रेल-मोटर र कार
गर योगदान यी सबलाई पार्न साकार।
यही नै हो सबथोक, यही नै हो धर्म
राजसेवा रुपी कर, यही नै श्रष्ठ कर्म।
लागि पर आजैबाट समृद्ध मुलुक बनाउन
धर्म फैलाई सबलाई सामर्थ बनाउन सघाउन।

अचम्म लाग्यो फेरि उसका ती कुरा सुनेर
फेरी केही भनेँ, पर्छ जस्तो लागेर,
“लौ त...गर्थेँ होला म तँपाईले भने जस्तो
के मन थ्यो र मलाई बन्न जिद्दी बच्चा जस्तो।
तर म बाँधिएकोछु मेरै कर्तव्यमा
वाणी छ एउटा, रथको तयारीमा।
गर्नु छ अझै अभ्यास अनेकौँ
जान दिनु मलाई अब म चैँ हिडौँ।”

रोक्यो प्रांग्रालाई उसले अघि बढ्नै दिएन
अझै भन्नु बाहेक मसँग विकल्पै रहेन,
“मुलुकको सेवालाई म धर्म ठान्दिन
मोटर कार ईत्यादिलाई समृद्धि मान्दिन।
हस्तक्षेप गरिन भने कसैको जीवनमा, त्यै नै धर्म हुन्छ।
सब आफैँबाट खुसी रहन सके, त्यै समृद्धि कहलिन्छ।
झिलमिल सडक, घर डाँडामा प्रविधि अनेकौँ
भन्दा भित्री खुसी हुन्छ धेरै नै उज्यालो।
आफ्नो राम्रो हुने लोभले गरिने
अरुको सेवाको ठेक्का मैले ले’को छैन।
कर्तव्य मेरो एउटै छ गर्न
त्यो बाहेक अरु केही जानेको नै छैन।”

मैले यति भनेर लगाम समाएँ
आकाशतर्फ हेर्दै थुके पछि उबाट यी क्रोध वाक्य निस्किए,
“लाज लाग्दैन तँलाई! अरुले के भन्छन्?
धिकार्दै छस् त्यसलाई, जसलाई सब महान् जन पनि सही मान्छन्।”

थिएन फुर्सद, अभ्यासमा जानु थ्यो
मैले पनि भन्दिहालेँ उसलाई जे भन्नु थ्यो,
“जुन कुरामा लाज मान्नु पर्थ्यो, त्यसमा त मानेकै छु
तिमीहरुका विद्वान/जनका गल्तीमा म फस्दिन मात्र न भनेको हुँ!
गर्नु परे केही अरुको निम्ती, एक प्रयास गरुँला
हस्तक्षेप नगरी उसको जीवनमा सके एक मुस्कान छर्दिउँला।
पाउँछु खुसी भन्ने ठान्दछन् जो विजुली खम्बा, मोटर-कार गुडे पछि
त्यो भन्दा ठूलो अंधकार कुनै छैन, न यो पृथ्वीमा न यो ब्रह्माण्ड भरि नि!
जान देउ मलाई अब...फुर्सद नै छैन
तिमीसँग बहस जित्न जन्म लिएको हैन”

मैले यति भनेर रथलाई अगाडी बढाएँ
जान दिई मलाई उसले यो भजन सुनाए,
“हेरौँला कसरी खुसी हुन्छस्, राजकर्म ठुक्राएर
गाँस हाल्छु मुखमा तेरो शिर झुकाएर।
सम्राटलाई टिकाइराख्न समृद्धि भित्र्याउनु छ
तँ जस्ता ब्वाँसोलाई पालतु कुकुर बनाउनु छ”

अभ्यास पछि घर फर्कि हेर्दा
थिएन छाप्रो, बारीमा परालको थुप्रो।
प्रश्न गरी आफ्नो जवाफ खोज्दा
लडायो पहलमानले, यो अब राज्यको टुक्रो।

आफ्नै रथ टल्काई बसिरहँदा आफैँले
पर्खदैँ छु तिनलाई जसलाई टिकाउनु नै थियो।
समृद्ध पार्ने एउटा जाबो सानो जमीनको टुक्रालाई भनी
भाग लिईरहँदा, एक दरबार हत्याकाण्डको योजना बनाउँदै छु।

Saturday, August 20, 2016

महासागर

मधुरो बत्ती
झपक्क सजिएको कोठा
लठ्ठ पार्दो बास्ना,
माछा थोरै जातका तर
सयौँ रुपमा।
चरा, वृक जे भन्यो त्यै
तारेको, भुटेको, झानेको, छानेको, सेकेको, साँदेको, तातेको, काँचो, जे भन्यो त्यै!
तात्तातो, चिस्चिसो
मधुरो प्रकाश, लठ्ठ पार्दो।
सँगै,
कालो कपाल
मगमग बास्ना आउँदो
गोरा हात, गाजलु आँखा
बजारी अत्तर
तर कता-कता प्राकृतिक छिटा
हेर्दै खाउँ-खाउँ पार्दो।
लुकाउने तर खोज्न बाध्य बनाउने पहिरन
जीवन भरको संगमको गनथन
तर त्यै क्षणको रमरम।
सयौँ परिकार, मधुरो प्रकाश
सबै चाहनाका नदी मिस्सिने सागररुपी त्यो अस्तित्वको साथ!
के चाहियो अरु?

साथ जोगाइराख्न
अझै साथ लम्बाइराख्न
नकुनै रोकटोक...
दिनरातको इलम बगलीमा सुरक्षित
यसैको निम्ती त सारा जीवन आरक्षित!
सागर...महासागर...
तृप्तता...यै नै सबथोक
मिष्ठान्न भोजन
छुन, सुँघ्न पाउनुको लाइसन्ष।
हात समाई बाहिर
आरामदायी चारपांग्रे तैनाथ
न आवाज,न कठिनाई अहसास
मगमग बास्ना आउँउो आन्तरिक
हात समाई भित्र बसाईदिदाँको पारिश्रमिक!
वाह!
सागर...महासागर

मग्न जिब्रो, सागररुपी साथी
आरामदायी बहानमाथी
रातको झिलमिल
महासागर...
महासागर...

को पटमूर्खलाई चाहिएछ,
अनन्त आकाश, सेवा धर्म ईश्वर?

Monday, August 1, 2016

नयाँ गन्तव्य


चल्नेछन् आँधीबेरी अवश्य
उडाइ लैजाने छन् तिम्रा सारा सपनाका महलहरुलाई।
हल्लिनेछ जमीन अवश्य, कसको नियन्त्रण र!
टुक्रा-टुक्रा पारिदिनेछ तिम्ले साँची राखेका ईँटाका थुप्रा लाई।
आउने छ बाढी, बगाउने छ तिम्रो आधारलाई
पहिरो गई थिच्चिनेछौ,
पाउने छौ आफ्नै माथी आफूले बनाएको छाहारीलाई।

तिम्रो नियन्त्रणमाः
सह!
आफूलाई उडाउन नदेउ, हल्लाउन नदेउ, बग्न नदेउ, थिच्चिन नदेउ
तिमी आफ्नो खुट्टामा उभ्भिरह
बरु टोलाएर सबै नियालीरह
हतार गरेर कसैलाई देवता नमानीहाल
संयम राख
आफूलाई शान्त पारि अडाईरह।
त्यस्ता जाबा महल फेरि बनाउने छौ
त्यस्ता ईँटा फेरि थुपार्ने छौ
त्यस्ता सपना अनेकौं देख्ने छौ।
सायद ति भन्दा उपरका कुरा देख्नेछौ।।

बस्, नआत्ति,
सहि रह...
आफूलाई जोगाईरह
आफूलाई उडाउन नदेउ, हल्लाउन नदेउ, बग्न नदेउ, थिच्चिन नदेउ
तिम्ले नयाँ गन्तव्य पाउने छौ...