Sunday, August 13, 2017

नेपाल राष्ट्रमा के गर्ने?


       राष्ट्र, भन्ने अवधारणा त्यति अत्यावश्यक अवधारणा होइन। राष्ट्र या राष्ट्रहरु भएनन् भने पृथ्वीमा हामी मानिसहरु बाच्नै सक्दैनौँ भन्ने पनि होइन, अन्य थुप्रै विकल्पहरु छन्, हुन सक्लान्। राष्ट्रवादी हुनै पर्छ भन्ने पनि होइन, झण्डालाई छातीमा नराखि निदाउनेहरुले पनि उच्च भन्दा उच्च सपना देखेका र सपनालाई विपनामा परिवर्तन गर्ने उपाय कल्पेका उदाहरणहरु थुप्रै छन्। तर, घुँडा नटेक्ने, हात नजोड्ने, न-निहुरिने, लचकदार नबन्ने र भाग्यको हातमा आफ्नो जीवनलाई नछाड्ने हो भने, हामी आफूलाई यस्तै एउटा राष्ट्रको अवधारणाको नतिजा – नेपाल – मा थन्किएको, सढेको पाउँछौँ र जतिसुकै राष्ट्रको अवधारणालाई अनावश्यक, बेकूफी, वाहियात भने पनि यहि अवधारणाको प्रतिफल भोगिरहेको पाउँछौँ।

     नित्य बिहानै अँधेरो सकिने बित्तिकै या साँझदेखि पूरै अँधेरो नभएसम्म समुद्रको छाल हेरि टोलाएर बस्छु, यो कुरा नेपालमा बसेर भन्न पाइदैन...भन्न पाइएला तर गर्न पाइदैन। अन्त गएर त्यसो गर्न पाइएला तर त्यसको लागि कि त माथी उल्लेखित हात जोड्ने, ईत्यादि प्रकृयाहरु गर्नु पर्यो कि त अति नै प्रतिभा या प्रभावशाली व्यक्ति हुनु पर्यो। अब जाबो समुद्र हेरेर टोलाउनको लागि पनि अत्यन्त प्रतिभाशाली या प्रभावशाली व्याक्ति हुनु पर्ने कस्तो जीवन हाम्रो! यो दुई गुण भइदिएका भए समुद्र हेरेर टोलाइ बस्नै पर्दैन थियो होला। मजा दिने कुरा अरु नै हुन्थे। तर अनन्त पानी र उदाउदो या अस्ताउँदो सूर्य आफ्नै घरमा ढुक्कसँग बसि हेर्न पाएका भए कति नेपाली प्रेरित हुन्थे होलाः धेरै माझी हुनुको साथसाथै कति कवि निस्किन्थे होला, कति दार्शनिक, कति कलाकार, कति बैज्ञानिक, कति सद्गुण भएका, साहसी आत्मबलिदान दिनेहरु। त्यस्को मतलव सबै समुद्र हुने ठाउँका मान्छे कवि, दार्शनिक, कलाकार,वैज्ञानिक, ईत्यादि हुन्छन् भन्ने होइन, तर यो राष्ट्र भन्ने अवधारणाको प्रतिफल – नेपाल - मा भएका मान्छेहरुको मनको भित्र एउटा जादुयी केहि छ...जुन शब्दमा बयान गर्न नसकिएला तर जुन सायद पहिलानै समुद्र भइदिएको भए उसैले निकालिदिन्थ्यो। तर समुद्र नभएकै कारणले पनि त्यो जादुयी केहि भएको होला...भन्न सकिदैन! तर अहिले त्यो जादुयी केहि लाई बौद्धिकताको हिसाबले तल्लो भन्दा तल्लो प्राणीलाई पनि शिर झुकाउन बाध्य बनाउने तुच्छ चाहना, फूर्ति, देखावटीपना, अर्थहिन प्रतिस्पर्धा र भैरव अर्यालले भने झैँ – अत्याधिक मपाईले ढाकेको छ – जसलाई अब पखाल्न सायद समुद्रकै पानी थोरै पर्छ।

      यो भयो समुद्रको कुरा, यो त्यति जरुरी न होला। यसको सट्टामा हामीले हिमाल, नदी, पहाड, ताल जस्ता कुरा पनि त पायौँ तर भित्र मनबाट भन्ने हो भने, हिमाल हेरि के बस्नु! नदी जाबो हेरि के टोलाउनु! पहाड जाबो पथ्थरबाट के फाइदा! ताल – बेताल। यस्ता कुराबाट, न कोस्ट, न इम्पोर्ट-एक्सपोर्ट, न सर्फ – न बीच। यस्ता अर्थहिन कुरा प्रति केवल खैरेलाई मजा लाग्छ – बेकूफ खैरे!

       यो भन्दा बाहेक यहि राष्ट्रको अवधारणाको प्रतिफल – नेपाल – मा भएकाले हामीले अन्य धेरै कुरा गुमायौँ, थुप्रै कुरा भन्न पाएनौँ। जस्तो – यो हामीले अहिले चलाइरहेको कुरा म या मेरै दाजुभाईले बनाएको हो – कहिले भन्न पाएनौँ। संसारलाई यो विचार मेरै हजुरबा को हजुरबा को हजुरबा... ले दिएको हो पनि कहिले भन्न पाएनौँ। संसारको यो कुराको जन्म मेरो ठाउँबाट भएको हो, भन्न पाएनौँ। अँ फलानो सालको फलानो वर्ल्ड च्याम्पयिन म जस्तै एउटा मान्छे भा ‘ को थियो – यो पनि भन्न पाएनौँ। त्यो कलाकार छ नि, हो त्यो यहि गाउँमा जन्मेको हो – यो पनि भन्न पाएनौँ। फैलिदै मेरो देश त अस्ट्रेलिया सम्म झण्डै पुगेको थियो – पनि भन्न पाएनौँ। त्यो बेलायतको वैज्ञानिक थ्यो नि निउटन...हो हो...त्यसले गुनगुनाउने गाना मैरै ठाउँको मान्छेले लेखेको हो – यो पनि भन्न पाएनौँ। यो अहिलेको अणु र अन्तरिक्षको सिद्दान्त छ नि, त्यो धेरै पहिले यो मेरै दे... – यो भन्न पाउने त परे जाओस्! समुद्रबाट त पाइएन-पाइएन मान्छेबाट पनि हामी प्रेरित हुन पाएनौँ।

तर यि सब भए साना-तिना कुरा। अन्तरिक्षकै कुरा गरिरहँदा, यसै सम्बन्धी एउटा ठूलो कुरा पनि हामीले गुमाउँदै छौँ...र सायद कहिले नपाउलाउँ। त्यो कुरा के भन्दा – चौधौँ पन्ध्रौँ सताब्दीमा युरोपमा परिवर्तन र ज्ञानको महत्व देखि रनसाँ को बाहार चलेको थियो, जसको नतिजा स्वरुप मान्छेहरु युरोपलाई सानो ठानेर संसारलाई राम्रोसँग बुझ्न, खोज्न, खान हिँडेका थिए। त्यस्तै केहि आज पनि हुँदै छ...हुन जे सुकै कारणको लागि होस् तर – पृथ्वीलाई सानो ठानि मानिस अन्तरिक्षमा डुल्न हिँड्दै छन्। सबै गइरहेका छन्। यस्तोमा राष्ट्रको अवधारणाको नतिजा – नेपाल – मा भएकाले गर्दा हामीले यो सौभाग्य पनि गुमाउने छौँ जस्तो लागि रहेको छ। पृथ्वीले हाम्रै लागि भनेर तयार पारिदिएको रस त राम्रो सँग चाखेनौ-चाखेनौ/ चाख्न सकेनौँ-सकेनौँ...अब ताराहरुले तयार पारिदिएका रस पनि छुट्ला जस्तो छ। यस्तो मा के गर्ने हो?

     ‘प्रतिफल भोगियो, अभागीको कर्म...तर गौतम बुद्ध र सगरमाथा, भृकुटी र सीता, अरनिको र वीर गोरखाली’ भनेर घरी चित्त बुझाउँदै घरी गनगन गर्दै जीवन सिद्दाउने कि?

‘राष्ट्रको अवधारणा नै गलत छ’ , भन्दै बसिरहने कि?

‘यि तुच्छ होइनन्...सबथोक - आनन्द - दिने चाहनाहरु, यि छिमेक – साथीभाई - ईष्टमित्र माझ लगाइने फूर्ति, यो रमण महर्षिले पनि स्विकारेका – ‘म’ नै सबथोक हुन्...यि भन्दा बढी चाहिया छैन...आ.....’, भन्दै बस्ने कि?

‘हैन! समुद्र, विश्चयुद्ध मा त छुटेँ...अन्तरिक्षमा त म छुट्दिन’, भनेर ब्याग बोकि हात जोडि, घुँडा टेकि, चिठ्ठा हालि, रिझाई/फकाई/निहुरी/लच्कि जे गरेर हुन्छ गरेर...अन्त भाग्ने कि?

‘अवधारणाको कारणले, अरु र अरुको कारणले धेरै कुरा छुटेछन्, ठिक छ...तर अब म यहि अवधारणालाई अप्रत्यक्ष कृपादान सम्झिन्छु...जे छ त्यसैको फाइदा उठाई’, भन्दै आफ्नो बाहुला सारी, ‘तर अंधकारमा हैन..असली ज्ञान हासिल गर्न तर्फ लागि परी, साहसले छाती भर्न तर्फ ध्यान दिई, सही कुरा रचना गरी, सही लक्ष्यराखी त्यसैको लागि अब मेरो जीवन समर्पित गर्छु...लिब्यामा बनेको पागलको नदी झैँ यहाँ जे छ त्यसैबाट पागलको सागर र पागलको अन्तरिक्ष यान बनाउँछु’, भनेर केहि गर्ने कि?

के गर्ने हो? 

No comments:

Post a Comment