Friday, August 17, 2018

त्रास महिमा

सुस्तरी आउँछ छ्याप्प छोपिदिन्छ
सोच थियो तर सब्‌थोक बनिदिन्छ
कपाउछ, गलाउछ आशलाई मारिदिन्छ
वदनभर एक किसिमको ताप छरिदिन्छ

वसन्तमै हिँउदझैँ हिँउपनि झर्छ
तरू ढल्दछन् मरू भविष्य हुन्छ
धकेल्छ, डुबाउछ सासलाई बढाइदिन्छ
छातीभर एक किसिमको राप बालिदिन्छ


एक प्रश्न छ

बाटोमा गुड्दा खेरी हिजो आज
किन हुन्छ कुन्नी एउटा अहसास
मान्छे देख्दामा म थाल्छु टोलाउन
तिनका अनुहार, शरीर चालढाल, 
सबै नियाल्छु सबैमा म टोलाउँछु
त्यैँ नै अनजान प्रश्नमा म समाउछु
प्रश्नलाई शब्दमा लिइआउन खोज्छु
निक्लिदैन म मात्र डुबिनैरहन्छु ।

बाटोमा गुड्दा गुड्दै हिजो आज
जुन गुञ्जिन्छ त्यो सक्दिन ओकल्न
किन छ हिन ? त घिन छ किन ?
विचित्र ती भित्र म पस्नै सकिन !

बाटोमा गुड्दा खेरी हिजो आज
प्रश्न आउँछ एक देखि तिनको चित्र
के हो त्यो प्रश्न, उद्देश्य के पो छ
थाऽ छैन मलाई, तर आईनै रहन्छ । ।